Mon. Apr 29th, 2024

चार महिनासम्म सेन्सर सम्बन्धिको समस्या झेलेको चलचित्र  “कीर्तिपुर” सेन्सर फुकुवा भएको छ । विभिन्न बहानामा सेन्सर गर्न आनाकानी गरेको सञ्चार मन्त्रालय अन्तर्गतको केन्द्रीय चलचित्र जाँच समितिले चलचित्र प्रदर्शनीको लागि युनिभर्सल अनुमती प्रमाण पत्र उपलब्ध गराए पछि कीर्तिपुरको सेन्सर समस्या टरेको चलचित्रका निर्माता विरेन्द्र ताम्रकारले जानकारी दिए । सेन्सर फुकुवा भएपछि हामीसँगको कुराकानीमा निर्माता ताम्रकारले अब चाडैं चलचित्रको प्रदर्शन मितिपनि सार्वजनिक गरिने बताए । उनले अगाडी भने “चलचित्र सेन्सर गराउन सूचना तथा सञ्चार मन्त्री डा.मिनेन्द्र रिजाल समेतको गुहार माग्नुपर्‍यो ।” अझै पनि चलचित्र “कीर्तिपुर” गृह मन्त्रालयका सह–सचिव लक्ष्मी ढकाल, अन्य २ जना उप–सचिव, सञ्चारका सह–सचिव तथा तत्कालिन सेन्सर बोर्डका अध्यक्ष कविराज खनाल,संस्कृति मन्त्रालयका प्रतिनिधि सम्मिलितको टोलीलाई पुनः चलचित्र देखाए पछि सिमित सम्वाद संशोधन पश्चात चलचित्र प्रदर्शन गर्न भनिएको छ ।

देशको पछिल्लो तरल राजनीतिक घटनाक्रम र शाह वंश केन्द्रीत गरेर निर्माण भएको चलचित्र भएर पनि सेन्सर पासमा ढिलाई भएको पनि निर्माता ताम्रकारले बताए । चलचित्र कीर्तिपुरमा हिसिला महर्जन, मणिराज लवट, यशराज गराच, सुशील राजोपाध्याय, लक्ष्मी गिरी, मदनदास श्रेष्ठ, सुरवीर पंडित, अन्जला नकर्र्मी, मञ्जु श्रेष्ठ, विनोद श्रेष्ठ, संजय शर्मा लगायतका कलाकारहरुको मूख्य भूमिका रहेको छ ।

kritipur_banner

स्व.बासुपासाद्वारा रचित “भैरवसिंह” नामक ऐतिहासिक उपन्यासमा आधारित चलचित्र “कीर्तिपुर” द लिजेन्ड अफ कीर्तिलक्ष्मीलाई तथ्यसंगत बनाउन लिखित प्रमाणहरु चलचित्रको शुरु मै प्रस्तुत गरिएको छ । कालखण्डमा प्रकाशन भएका देशी विदेशी लेखकका ऐतिहासिक दस्ताबेजसहितको पुस्तकलाई समेत चलचित्रको आधार बनाइएको छ ।

फोकस पिक्चर्सको व्यानरमा निर्माण गरिएको ९० प्रतिशत एनिमेशन भएको चलचित्रमा भीएफ एक्स, एनिमेशन पक्ष सन्तोष केसीले गरेका छन् । हरिशरण साय्मिको संगीत रहेको चलचित्र “कीर्तिपुर” द लिजेन्ड अफ कीर्तिलक्ष्मीका कार्यकारी निर्माता विरेन्द्र ताम्रकार हुन् भने निर्माता क्रमशः प्रेम खड्गी तथा अनन्त श्रेष्ठ हुन् । चलचित्रमा उदय श्रेष्ठले द्वन्द्व निर्देशन गर्नुभएको छ भने अमृत मरहट्ठा तथा दीपसन परियारले श्रृङ्गार पक्ष हेरेका छन् । चलचित्रमा शंकर महर्जन तथा नवीन जोशीले क्यामरा चलाएका छन् ।  चलचित्रलाई प्रदीप खड्गीले निर्देशन गरेका हुन्।

%d bloggers like this: