आर्यनको आग्रहमा ‘पुनर्जन्म’ बन्यो फिचर फिल्म

पहिलो पटक आर्फी अफिसर्सको भूमिकामा देखिन लागेका नायक आर्यन सिग्देल अभिनित चलचित्र ‘पुनर्जन्म’ सत्य घटनामा आधारित भएर निर्माण भएको नायक आर्यन सिग्देलले सुलासा गरेका छन् । ‘सुरुमा निर्देशक सजन र निर्माता मोहनकृष्णजीले पुनर्जन्मलाई सर्ट फिल्म बनाउने भन्दै म भएको ठाँउमा आउनु भयो तर मैले कथावस्तु मन परेकाले फिचर चलचित्र बनाउँ भने अनि चलचित्र पुनर्जन्म फिचर फिल्म बनेको हो’- आर्यनले भने । आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै आर्यनले फिल्मले नयाँ पुस्तालाई नेपालमा भएको द्वन्द्वले सैनिकको परिवारमा पारेको प्रभावलाई प्रस्तुत गर्ने बताए । अबको दश बर्ष पछाडिको पुस्ताले पनि गर्व गर्न लायकको चलचित्र पुनर्जन्म बनेको आर्यनले दाबी गरेका छन् । कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक सजन श्रेष्ठले आर्यनको आग्रहमा नै चलचित्र सर्ट फिल्मबाट फिचर फिल्म बनेको बताए ।

timthumb

चलचित्रको कथावस्तुलाई कलात्मक साथै व्यवसायिक पनि बनाउन सकिने भएकाले फिचरमा ढालिएको निर्देशक श्रेष्ठले जानकारी दिए । दुई सिपाहीको सत्य घटनामा चलचित्र पुनर्जन्म बनेको निर्माता मोहनकृष्ण श्रेष्ठ बताए । त्यस्तै नायक गजित विष्टले सैनिकको जीवनमा द्वन्द्वले पारेको प्रभावसँगै कार्यक्षेत्रमा सैनिकको साथीभाइ प्रतिको भावना र मायाप्रेमलाई सिनेमाले समेटेको बताए भने अभिनेत्री केकी अधिकारीले सैनिक अधिकृतको जीवनमा आउने उतारचढाव र त्यसले उसको वैवाहिक जीवनमा पार्ने प्रभावलाई फिल्मले प्रस्तुत गरेको बताइन् । एमके इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो चलचित्रमा आर्यन सिग्देल, गजित बिष्ट, केकी अधिकारी, सुस्मिता शाही, विजय लामा, मिथिला शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट लगायतका कलाकारको अभिनय छ । यो चलचित्रमा मोहनकृष्ण श्रेष्ठ र भद्र बहादुर शाहीले लगानी गरेका छन् । चलचित्रमा बसन्तसँगै जयन्त शर्माको संगीत, कविराज गहतराजको नृत्य, अष्ट महर्जनको द्वन्द्व, मिलन अमात्य, अन्जु पन्त, जितु श्रेष्ठको स्वर, शिव ढकाल र नवराज कृष्ण थापाको छायांकन छ ।

Back To Top