Fri. Apr 26th, 2024

ऐतिहासिक फिल्म ‘कीर्तिपुर’ द लिजेन्ड अफ कीर्तिलक्ष्मीलाई सेन्सर बोर्डले रोकेको छ । चलचित्र अठारौं शताब्दीमा तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले कीर्तिपुरमाथि गरेको आक्रमणको विषयमा आधारित छ। चलचित्र निर्माण शैली अब्बल भए पनि ऐतिहासिक पक्ष तथा राजपरिवारसम्बन्धी विषय भएकाले तुरुन्तै निर्णय गर्न नसकिएको सेन्सर बोर्डका सदस्य तथा सञ्चार मन्त्रालय उपसचिव कृष्णप्रसाद पोखरेलले जानकारी दिए। उनले फिल्म पास गर्ने या रोक्ने बारे गृह तथा संस्कृति मन्त्रालयसँग समेत छलफल भैरहेको बताएका छन् ।

चलचित्र ऐतिहासिक विषयमा आधारित भएकाले दर्शकलाई दिने सन्देशका बारेमा टुंगो नलगाई अनुमति दिन नमिल्ने उप सचिव पोखरेलको भनाई छ । फोकस पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई प्रदीप खड्गीले निर्देशन गरेका हुन्। चलचित्रमा हिसिला महर्जन, मणि लवट, सुरज गराच, लक्ष्मी गिरी, मदनदास श्रेष्ठ, शूरवीर पण्डित, सुशील राजोपाध्याय, विनोद श्रेष्ठ, उदय श्रेष्ठलगायतले अभिनय गरेका छन्। चलचित्रमा राजा पृथ्वीनारायण शाहको भुमिकामा भने सुरज गराच देखिएका छन् । हरिशरण सायमीको संगीत, उदय श्रेष्ठको द्वन्द्व, मृत मरहठा र दीपसन परियारको शृंगार एवं शंकर महर्जन तथा नवीन जोशीको छायांकन रहेको यस चलचित्रमा वीरेन्द्र ताम्रकार, प्रेम खड्गी र अनन्त श्रेष्ठको लगानी रहेको छ।

%d bloggers like this: