Fri. Apr 19th, 2024

imageआमिर खानलाई पहिले पहिले चकलेटी हिरो भनिन्थ्यो । वर्षमा एउटा फिल्म खेल्न र निर्देशकको काममा हस्तक्षेप हुने गरेर फिल्ममा आफ्नो भूमिकाबारे व्यापक अध्ययन गर्न थाले, उनलाई मिस्टर पर्फेक्सनिस्ट भन्न थालियो । आमिर एक दुई उपाधिबाट सन्तुष्ट हुने मानिस होइनन् । यसैले उनी फिल्म निर्माणमा आए, निर्देशनमै उत्रिए । निर्माता र निर्देशकका रूपमा आफूले छानेका फिल्मले उनलाई थप उपाधि दिलाए ।
 
लगान जस्तो अंग्रेज कालको क्रिकेटको कथाबाट निर्माण थालेका उनले तारे जमिन परजस्तो बच्चाको मनोविज्ञानमा आधारित फिल्म बनाएर दर्शकको मन जिते । यी सबैभन्दा ठूलो उपमा उनले थ्री इडियट्स पछि पाए । त्यो थियो, मार्केटिङ जिनियस । यो फिल्म केही जिनियसको संगम थियो । ती थिए, निर्माता विधु विनोद चोपडा, निर्देशक राजकुमार हिरानी र अभिनेता आमिर खान । भारतको फिल्म अध्ययन संस्था फिल्म एन्ड टेलिभिजन इन्स्टीच्युट अफ इन्डियामा फिल्म निर्देशन पढेका विधु विनोद चोपडा र सम्पादन पढेका हिरानीको भेट चोपडाले निर्माण तथा निर्देशन गरेको फिल्म मिशन कश्मिरमा भएको थियो ।
 
यो फिल्म सम्पादन हिरानीले गरेका थिए । उनीहरूले दोस्रो फिल्मका रूपमा बनाए, मुन्नाभाई एमबीबीएस । यसपछिको कथा प्रायः सबैलाई थाहा छ । संजय दत्तलाई लिएर हिरानीले दुई फिल्म बनाए । हिरानीलाई भारतीय दर्शकको मन सबभन्दा गहिरोसँग छुनसक्ने निर्देशकका रूपमा मानियो । यी दुई मुन्नापछि हिरानीले यो कथा छोडे । त्यसपछिको फिल्म थ्री इडियट्समा संजय दत्त पनि छुटे, अरशद वारसी पनि छुटे ।
 
यसमा प्रवेश भयो, मिस्टर पर्फसनिस्ट आमिर खानको । रणछोड दास श्यामल दास चाचडको चरित्रमा उत्रिएका आमिर फिल्ममा नैतिक शिक्षाका गुरुजस्ता थिए । तर, उनले फिल्मको प्रचारमा जुन शैली अपनाए, यसले बलिउडमा फिल्म प्रोमोशनको पुरै परम्परालाई खलबल्याइदियो । हुन त आमिरले योभन्दा अगाडिको फिल्म गजनीबाटै त्यो काम गरिसकेका थिए । थ्री इडियट्सको कमाईको ३३ प्रतिशत आमिर, ३३ प्रतिशत विधुविनोद र अर्को ३३ प्रतिशत हिरानीले पाउने सहमति थियो ।
 
आमिर, चोपडा र हिरानीको यो त्रिकोणमा पीकेमा चौथो कोणको रूपमा मिसिन आइपुगेका छन्, संजय दत्त । सन् १९९३ मा मुम्बईमा भएको बम विस्फोटमा हतियार लुकाएको आरोपमा दोषी ठहरिएका संजय अहिले जेलमा छन् । तर, यो फिल्मको केही भाग उनले जेल जानुअघि पूरा गरेका थिए । बाकी केही बीचमा पे रोलमा बाहिर निस्किदा सकाए ।
 
पीकेको प्रचारमा आमिरले पोस्टरलाई सबभन्दा बढी प्रयोग गरेका छन् । फिल्मको पहिलो पोस्टरमा उनी आफू निर्वस्त्र देखिए, खाली एउटा रेडियोले आपmनो लाज ढाकेको अवस्थामा । यही एउटा पोस्टरले आमिर र फिल्मलाई चर्चाको केन्द्रमा ल्याइदियो । विवाद जतिसुकै भए पनि यसले फिल्मको प्रचारलाई नै फाइदा पुर्‍यायो । थ्री इडियट्समा आमिर भेष बदलेर हिंडेका थिए । उनले केही महिना भारतका गाउँको गोप्य रूपमा भ्रमण गरे ।
 
फिल्ममा पनि अर्कैको भेषमा पढ्न आएको चरित्रमा थिए । पीकेमा आमिरको चरित्र र यसको कथालाई गोप्य राखिएको छ । फिल्म रिलिज हुन साता दस दिनजति बाकी हुँदासम्म थरिथरिका पोस्टर र केही गीत मात्र सार्वजनिक गरिएको छ । राजस्थानी पोशाकमा आमिर र संजय देखिएका छन् भने अनुस्का शर्मा निकै आधुनिक युवतिको भेषमा छिन् । राजस्थानी परिवेश देखिए पनि आमिर भोजपुरी लवजमा बोलेका छन् । कतिले उनको चरित्रलाई एलियन भएको अनुमान गरेका छन् । कतिले नशामा भएको पात्रको रूपमा ।
 
यस विषयमा धेरै सार्वजनिक नगरिए पनि प्रोमो र गीतबाट आमिरको चरित्र सामान्यजस्ता लाग्ने जटील प्रश्न गर्ने सरल पात्रको रूपमा स्थापित गरिएको छ । फिल्ममा आमिर नौ वटा विभिन्न अवतारमा देखिने टाइम्स अफ इन्डियाले आपmनो रिपोर्टमा लेखेको छ । फिल्ममा भोजपुरी बोल्ने पात्र भएकाले उनले ४ महिना लगाएर यो भाषा सिके । उनले यो चरित्रमा अभिनय गर्दा १ हजार वटा पान पनि खाए ।
 
आमिर अहिले फेरि आफ्नो पकड क्षेत्रमा आएका छन् । परम्परागत भारतीय मूल्य मान्यताका नैतिक कुरालाई पुरानै शैलीमा तर रोचक बनाएर पेश गर्ने खुबी भएका हिरानीसँग आउँदा आमिरको फिल्म घोषणाकै बेला प्रतीक्षित बनिसकेको थियो । बलिउडमा आमिर एक्ला त्यस्ता स्टार हुन्, जसलाई भर गरेर दर्शक फिल्म हेर्न जान्छन् । अन्य स्टारले पैसा कमाए पनि त्यो गुड विल कमाइसकेका छैनन् । यसपाली संजय दत्त, अनुश्का, सुशान्त सिंह राजपुत र वमन इरानी पनि उनीसँग छन् ।
 
– समाचार एजेन्सीबाट

%d bloggers like this: