Fri. Apr 19th, 2024

नव गायक विजय बिमुनको नशा चढ्यो मायाको गीतिसंग्रह बिमोचन गरिएको छ । बरिष्ठ गीतकार डा.भोला रिजाल , डा.कृष्ण हरि बराल , गायन क्षेत्रका युगल जोडी शिला बहादुर मोक्तान र कुन्ती मोक्तानसंगै गायक बिमुनले एल्बमको बिमोचन संयुक्त रुपमा बिमोचन गर्नु भयो । कार्यक्रममा एल्बम बिमोचनसंगै गायक विजयले दिलशोभा श्रेष्ठले संचालन गरिरहेको आमाघर लाई नगद रु १ लाख ११ हजार १ सय ११ रुपया हस्तान्तरण गरे । गायक विजयले दिएको नगद सहयोग लिदै दिलशोभाले आफ्नो लागि यो सहयोग निकै ठुलो रहेको बताए । ‘यो सोच्दै न सोचेको सहयोग हामीले पायौ , यो हाम्रो लागि निकै ठुलो सहयोग हो’ दिलशोभाले हर्षित हुदै भनिन । बृद्ध वृद्धालाई आसय दिईरहेकी दिलशोभाले बुवा आमाको मरेपछि श्राद्ध गर्नुको सट्टा बाचुन्जेल श्रद्धा गर्न आग्रह गरिन । साथै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका डा. रिजालले गायक विजय बिमुनको सांगीतिक जीवनको उज्वल भबिष्यको कामना गरे । ‘आज मलाई जुन रकम हस्तान्तरण गर्ने अवसर दिनु यसका लागि म आफुलाई भाग्यमानी महसुस गर्दछु र आगामी दिनमा पनि यसै गरि सांगीतिक जीवनसंगै समाज सेवामा पनि क्रियाशीलता रहिरहोस भन्ने शुभकामना दिन चाहन्छु’ डा.रिजालले नव गायकलाई यी शब्द खर्चिए ।
bijay bimun new singerयता कार्यक्रमका अर्का अतिथि डा.बरालले पनि गीतको म्युजिक भिडियो हेरे पश्चात विजयको सांगीतिक यात्रा सफल हुने संकेत देखेको बताए । ‘यिनी आफै शब्द लेख्छन , संगीतकार पनि हुन् र गायक पनि त्यसकारण पनि उनले आफ्नो गीतलाई न्याय गर्न सक्छन र उनको भविष्य यस क्षेत्रमा राम्रो देखेको छु’ डा.बरालले नव गायकको प्रगतिको कामना गरे । साथै उनले यस क्षेत्रको उत्थान र विकासको लागि विजय जस्ता नयाँ युवालाई प्रोत्साहन गर्नु पर्ने औलाए । यसै गरि कार्यक्रमका अर्का अतिथि शिला बहादुर मोक्तान र कुन्ती मोक्तानले पनि विजयलाई सांगीतिक जीवनको सफलताको शुभकामना दिए । विजयको ‘नशा चढ्यो मायाको’ भित्र ६ वटा गीतबाट समावेश छन् । यसमा ‘नशा चढ्यो मायाको’ , ‘आमा’ , ‘धुलिखेल दाप्चा’ , ‘भन्छ मनले’ , ‘मेरो मायालाई’ , ‘तिमि बाट’ बोलको गीत समावेश छन् । कार्यक्रममा एल्बम भित्र समावेश टाइटल गीत ‘नशा चढ्यो मायाको’ को म्युजिक भिडियो समेत देखाइएको थियो जसमा स्वाम गायक विजय र नम्रता सापकोटा मोडेलको रुपमा समावेश छन् । साथै कार्यक्रमको अन्त्यमा बोल्दै गायक विजयले आफुलाई यहाँ सम्म पुर्याउनमा सहयोग गर्ने सबैलाई आभार व्यक्त गरे । ‘परिस्थितिले मलाइ प्रवासमा पुर्याएता पनि म संगीतबाट टाढा हुन् चाहन्न त्यहि भएर आज एल्बम लिएर तपाईको माझमा छु’ नव गायक विजय बिमुनले बताए ।

%d bloggers like this: