Fri. Apr 26th, 2024

राजन कुईकेल ।

शुक्रवार बिहान ६ बजेको इमेज एफएम ९७.९ को समाचारको शीर्ष खबरमा एकाएक सुनें, आलोक नेम्वाङको आफ्नै एपार्टमेन्टमा झुन्डिएर मृत्यु भयो । खबर सुन्ने बित्तिकै मन एक तमासको भयो । हुन त घटना कात्तिक २० गते विहीबार राति ८ बजेकै रहेछ । तर, त्यो दिन राति मैले न त रेडियो सुनें, न त टिभी नै हेरें ।

शुक्रबार विहानै एफएमहरु ‘ट्युन’ गरेपछि भने एउटा समाचारकर्मीका नाताले समाचार नपछ्याउँदाको खल्लो मनमा भइ नै रह्यो । हुन त आलोकलाई म व्यक्तिगत रुपमा आजपनि नजिकबाट चिन्दिनँ । एकपटक इमेज च्यानलमै आएका बेला सामान्य ‘हाइहेलो’ भएकोभन्दा । तर, उनलाई म एउटा दर्शकका रुपमा भने निकै नै चिन्थे । र, उनले नेपाली गीत–संगीतको क्षेत्रमा दिएको योगदानका दृष्टिले भने मलाई उनी बडा मनपर्ने निर्देशकमा पर्दथे । जतिबेला नेपाली टेलिभिजनमा आधुनिक र पप गीतहरु के हुन् भन्ने थाहा थिएन । त्यसबेला आलोकले इमेज च्यानलको नेपाल टेलिभिजनबाट प्रशारण हुने बिहानको समयमा यसलाई परिचित गराएका थिए ।

त्यतिबेला नेपाल टेलिभिजनको पर्दामा इमेज च्यानलको लोगोमा बिहान ७ः३० देखि ९ बजेसम्म गीत–संगीतका कार्यक्रमहरु प्रशारण हुने गर्दथ्यो । म भने त्यतिबेला सिराहामा काम गर्दथे । सेभ दि चिल्डे«न यूएसको विकासे कर्मचारीका रुपमा त्यतिबेला म सिराहाको गोलबजारमा कार्यरत थिए । बिहानको डेढ घन्टा इमेज च्यानलमा आउने यिनै कार्यक्रमहरु हेर्दै समय काट्दथे । त्यतिबेलै हो, मैले आलोकसहितको इमेज च्यानलको बिहानी सत्रका कार्यक्रम प्रशारण गर्ने ‘भिजे’हरुलाई पर्दाको माध्यमबाट चिनेको ।

aalokतर, आलोकले सञ्चालन गर्ने कार्यक्रहरु अरु भिजेकोभन्दा नितान्त मौलिक र फरक हुन्थे । सिर्जनशीलता प्रयोग गरेर उनले कार्यक्रमका भागहरुलाई निकै रोचक बनाउँदथे । उनले चलाउने ‘इमेज पप’, ‘हिन्दी गीतको काउन्ट डाउन टप टेन’ ‘सुलोक शो’ जस्ता कार्यक्रम निकै चर्चित र दर्शकमाझमा लोकप्रिय थिए ।

त्यसअलवा उनले निर्देशन गरेका थुप्रैं म्युजिक भिडियोहरु पनि निकै सिर्जनशील र राम्रा हुन्थे । अझ कार्यक्रम चलाउने सिलसिलामा उनले प्रयोग गर्ने भावभंगी र पोशाकहरुको चर्चा त्यतिबेलै खुब हुन्थ्यो । आज जे कारणले आलोकको मृत्युको खबर सुन्दैछु, त्यति धेरै पत्यार लाग्दैन । तर, वास्तविकता उनको मृत्यु भैसकेको छ । मैले सिराहामा तीन वर्षसम्म बस्दा इमेजको बिहानी प्रशारणलाई कहिल्यै छुटाइनँ । आलोकलगायतको कार्यक्रमहरु त्यसै कारण पनि मन पर्न थाले ।

मलाई पत्रकारिता र टेलिभिजनको पर्दासम्म तान्ने श्रेय पनि इमेज च्यानलको त्यही बिहान प्रशारण हुने डेढ घन्टाको कार्यक्रमलाई कतै न कतै जान्छ । किनकी मेरो मनमा टेलिभिजनको पर्दामा देखिने चाह जागेको त्यही बेलादेखि थियो । समयक्रममा पत्रकारिताको पढाई हुँदै इमेज च्यानल नै मेरो कर्म घर बन्यो ।

२०५९ सालमा म इमेज आउँदा आलोकलगायतका टीमहरु आफ्नै काममा लागिसकेका थिए । आफैं काँचको पर्दामा देखिँदा पनि आलोकसँग नजिकै बसेर काम गर्ने अवसर मिलेन । हुन त उनको र मेरो कामको क्षेत्र पनि अलग्गै रह्यो । उनी गीत–संगीतमा रमे । म समाचारमा । तर, यतिबेला सम्झनाको तरेलीमा भने उनी नाचिरहेका छन् । सम्झनामा रहिरहनेछन् । एक उत्कृष्ट भिडियो निर्देशक र भिजेका रुपमा ।

अलबिदा आलोक !

%d bloggers like this: