Fri. Apr 26th, 2024

काठमाडौं, जेठ १३ / गजल गायनमा स्थापित गायक आनन्द कार्की गाउँले इन्टरटेनमेन्टले सोमबार साँझ राजधानीमा आयोजना गरेको ‘आनन्द कार्की एकल साँझ’मा दर्जन गीत लिएर प्रस्तुत भए ।

जन्मभूमि सोलुखुम्बुमा रहेका असहाय बिरामीलाई राजधानीमा आर्थिक सहयोग जुटाउँदै आएको वाकु नेपाल प्रतिष्ठानको मेडिकल ट्रष्टको सहयोगार्थ आयोजित कार्यक्रममा आफ्ना सदाबहार आधुनिक, गजल तथा फिल्मी गीत गाएर जमलस्थित राष्ट्रिय नाँचघरको सभाहलमा भरिभराउ दर्शकलाई नचाए ।

‘मेचीकाली’ बोलको राष्ट्रिय गीतबाट आफ्नो साँझलाई शुरु गरेका आनन्दले ‘भेटेर तिमीसँग’, ‘लाग्छ मन’, ‘सम्झी सम्झी’,‘जे जे हुन्छ यहाँ पर्दा पछाडि’, ‘गए जाला ज्यान’, ‘फेरि आउँछ आउँदै त्यस्तो रात’ बोलको गीत गाएका थिए । यसबाहेक ‘माया लाउदै जाउ प्यारा’, ‘विहानी पहिलो किरण सरी’, ‘जनम जनम जिउँला सँगै’, ‘म तिमी बिना मरि हाल्छु’, ‘बादल वर्षा बिजुली’, ‘भरे आउँछु सपनीमा’ र ‘बनमा फूल्यो फूल’ गीत गाउँदा हलको माहौल नै फेरियो ।

भारतको लखनउमा संगीत अध्ययन गरेका आनन्दले २०४२ मा ‘जीवनमा धेरै खोला तर्नु छ’ मार्फत औपचारिक रुपमा गायन यात्रा सुरु गरेका थिए । चर्चित भारतीय टेलिभिजन रियालिटी शो सारेगमपमा विश्व प्रथम भएका उनी शुरुवाती समयमै ‘तिम्रो पनि मुटु नै भए, यति साह्रै कठोर किन’बाट हिट भए । सांगीतिक करियरमा एक हिन्दी र १३ नेपाली गरी १४ सोलो एल्बम, तीनटा भजन एल्बम निकालिसकेका उनले फिल्मी र फुटकर गरी एक हजारभन्दा बढी गीत गाइसकेका छन् ।

कार्यक्रममा आनन्दको बारेमा तयार पारिएको करिब ८ मिनेट लामो वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो । कार्यक्रममा थाइल्याण्डमा बस्दै आएका गैरआवासीय नेपाली युवा सुनिल खड्काले प्रतिष्ठानका लागि नौ हजार ९ सय १ रुपैंयाँ हस्तान्तरण गरेका थिए । मनोहर सुनाम, प्रमोद उपाध्याय, दीपक थापाजस्ता चर्चित वाद्यवादकको साथमा दर्शकमाझ उपस्थित भएका आनन्दलाई युगल गायनमा मिलन अमात्य, जुना प्रसाई, प्राश्ना शाक्य र शोभा काफ्लेले साथ दिए ।

%d bloggers like this: