Tue. Apr 16th, 2024

काठमाडौं, जेठ ८ । आधुनिक नेपाली संगीत र यसका विशेषताहरुलाई श्रोता दर्शकको घेरामा प्रस्तुत गर्दैआएको पलेँटी श्रृंखला फेरि सुरु हुनेभएको छ। आगामी योजनाको तयारी निम्ति केहि समययता यो स्थगीत थियो । आउँदो जेठ १६ गतेदेखि कालिकास्थानस्थित नेपालयको आरशालामा यो फेरि पुरानै स्वरुपमा प्रस्तुत हुँदैछ ।
नेपाली भाषा र यसको विस्तारसँगै मुलुकभित्र र बाहिरसमेत अभ्यास हुँदैआएको नेपाली गायन परम्परा एकापसमा जोडिने थलोको रुपमा पनि विगत केहि वर्षदेखि यो मञ्च परिचित छ ।
आधुनिक नेपाली संगीतको प्रारम्भ र विकास दार्जिलिङ र काठमाडौंको समागममा भएको तथ्यलाई यसले एकातिरको आधारस्तम्भ बनाएको छ भने यो संगीतको विकास नै साहित्यसँगको सामिप्यमा हुनु यसको अर्को आधारस्तम्भ हो । यसरी यो दुवै विशेषतालाई पर्गेल्ने थलोको रुपमा पनि पलेँटी श्रृंखलाले आफूलाई प्रस्तुत गर्दैआएको छ । यसैको परिणाममा पलेँटीमा कहिले दार्जिलिङ, आसाम हुँदै मणिपुरसम्मका नेपाली लयहरु गुञ्जिएका छन् भने कहिले महाकवि देवकोटाका प्रशंसकदेखि राष्ट्रकवि माधव घिमिरेको उपस्थितीहुँदै अनेक श्रष्टा प्रस्तुत भएर तिनका बहुचर्चित कृतिहरुको रचनागर्भ सुनाइसकेका छन् ।
बितेको दस वर्षदेखि चल्दै आएको पलेँटी श्रृंखलाले अहिलेसम्म यसको मञ्चमा आएर स्वयंलाई प्रस्तुत गर्ने चारजना श्रष्टा गुमाएको छ । नेपाली संगीतको उचाइँमा इँटा थप्न मद्दत गरेका फत्तेमान, भिम ‘विराग’, राममान ‘तृषित’ र डिग्बोइ आसामकी मिरा थापा आज हामीमाझ छैनन् । तर, उनीहरुले छाडेर गएका आवाजहरु पलेँटीको सेरोफेरोमा सदैव डोब भएर रहिरहनेछ । त्यसो भएकाले पनि यसपालाको पहिलो प्रस्तुती तिनै श्रष्टाहरु प्रति समर्पित गरिएको हो । दस वर्षदेखि नै पलेँटीको संयोजन गर्दै आएका गायक एवं संगीतकार आभास स्वयं जेठ १६ को पहिलो कार्यक्रममा प्रस्तुत हुनेछन् । कार्यक्रममा उनलाई गायिका मिनाले सघाउँदैछिन् ।
भारतका सुविख्यात संगीतकर्मी भूपेन हजारिकाले समेत नेपाली गीतमा संगीत दिएका थिए भन्ने तथ्य थोरै श्रोतालाई जानकारी छ । कुनै समय पलेँटीमा प्रस्तुत हुने क्रममै गायिका मिरा थापाले यो जानकारी सार्वजनिक गर्नुका साथै गाएरसमेत सुनाएकी थिइन् । त्यसै कार्यक्रममा उनले आसामकै अर्का चर्चित गीतकार हरिभक्त कटुवाल कम्पोजको (अरु नै गीतकार रहेको) गीतहरु समेत गाएकी थिइन् । यस्ता दूर्लभ गीतहरु त्यस अवसरमा सुनाउने तयारी आभास र मिनाले गरिरहेका छन् । त्यसैगरि फत्तेमानको स्वरमा रेकर्ड भएर पनि सार्वजनिक हुन नसकेको गीतकार मन्जुलको अर्को रचना पनि कार्यक्रमको आकर्षण हुनेछ । त्यो क्रममा भिम ‘विराग’ र राममान ‘तृषित’लाई पनि सम्झेर उनीहरुका सिर्जना सुनाइनेछन् ।
पलेँटी श्रृंखलामा त्यसपछिको कार्यक्रम संगीतको दुई पुस्तालाई जोड्दै आएका संगीतकर्मी पिता र पुत्री प्रकाश गुरुङ तथा रिमा गुरुङ होडाको हुनेछ । त्यसलाई निरन्तरता भने कीर्तिपुरको नेवार संस्कृति र सामाजिक परिवर्तनका बोलहरुलाई दशकौंदेखि स्वर दिँदै आएका पुराना संगीतकर्मी रामकृष्ण दुवालले दिनेछन् । यसरी अघिबढ्दै यस वर्षको श्रृंखलाले पनि पहिलेका वर्षजस्तै वार्षिक रुपमा प्रस्तुत हुँदैआएको पलेँटी उत्सवसम्म आफुलाई लैजानेछ । ‘केहि समय आन्तरिक तयारीका निम्ति रोकिएको पलेँटी फेरि प्रस्तुत गर्न पाउँदा खुशी लागेको छ,’ संयोजक आभास भन्छन्,‘यो क्रममा पलेँटीलाई उचाइँमा पु¥याउने दिवंगत श्रष्टाहरुलाई सम्झदै यसपटकको प्रस्तुती उहाँहरु प्रति नै समर्पित हुनेछ ।’

%d bloggers like this: