Fri. Mar 29th, 2024
काठमाडौं, जेठ १ । चलचित्र पत्रकार संघले यस वर्षको ‘चलचित्र पत्रकारिता सम्मान–२०७१’ वरिष्ठ चलचित्र पत्रकार विदुर गिरीलाई प्रदान गर्ने भएको छ । झण्डै दुई दशकदेखि चलचित्र पत्रकारितामा कलम चलाउँदै आएका गिरीलाई उक्त सम्मान प्रदान गर्न लागिएको हो । पत्रकार गिरी हाल कामनाका सम्पादक र नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका समाचार सम्पादकका रुपमा कार्यरत छन् । गिरी संस्थाका पूर्व अध्यक्ष पनि हुन् । संघका अनुसार गिरीलाई ताम्रपत्र र ट्रफीसहित सम्मान प्रदान गरिनेछ ।
film journalist nepal award
संघको अध्यक्ष शान्तिप्रियको अध्यक्षतामा बसेको बैठकले यस वर्र्षको ‘चलचित्र पत्रकारिता पुरस्कार–२०७१’ पत्रकारद्वय कृष्ण भट्टराई र राज श्रेष्ठलाई दिने निर्णय गरेको छ । पत्रकार भट्टराई कान्तिपुर साप्ताहिकका वरिष्ठ उपसम्पादक हुन् भने पत्रकार श्रेष्ठ स्टार एफएममा कार्यक्रम संयोजक एवं प्रस्तोता र कलिउड खबर डटकमका सम्पादक हुन् । पत्रकारद्वय भट्टराई र श्रेष्ठले १५ हजार ५ सय ५५ रुपैयाँ तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
बैठकले संघको प्रतिनिधित्व गर्दै नेपाल पत्रकार महासंघका लागि पार्षद भएका तथा यसैपटक सम्पन्न महासंघको महाधिवेशनमा एसोसिएट सचिव पदमा अत्याधिक मतले विजयी भएका चलचित्र पत्रकार ध्रुब लम्साललाई पनि विशेष सम्मान गर्ने  निर्णय गरेको छ । सम्मान र पुरस्कार संघको १६ औं स्थापना दिवस तथा चलचित्र पत्रकारिता दिवसको अवसर पारेर आगामी जेठ ७ गते प्रदान गरिनेछ ।
%d bloggers like this: