Sat. Apr 27th, 2024
काठमाडौं, वैशाख २७ । सिजन मिडियाले राजधानीमा आयोजना गर्न लागेको चौथो संस्करणको ‘एसएलसी प्रिन्सेस २०१४’का प्रतिष्पर्धी ५२ जना सुन्दरीले शनिबार बिहान राजधानीको सिनामंगलस्थित भत्केको पुल मुनिको बाग्मती नदी सफाई गरेका छन् । बाग्मती सफाई अभियानको ५२ औं हप्ता पुगेको अवसरमा उनीहरुले बिहान सात बजेदेखि १० बजेसम्म नदी सफाई अभियानमा सहभागिता जनाएका हुन् ।
मिडियाका प्रबन्ध निर्देशक प्रदिपराज वन्तका अनुसार उक्त सफाई अभियानमा सहभागी सुन्दरीले १० हजार मूल्य बराबरको ४० वटा थुन्से डोको सरसफाई कार्यका लागि हस्तान्तरण गरेका थिए । ‘उनीहरुले चाँडै नै अन्य विभिन्न सामाजिक काममा पनि आफुलाई अग्रसर गराउँदैछन्,’वन्तले भने,‘केही समयपछि राजधानीको भृकुटीमण्डपमा आयोजना गरिने रक्तदान कार्यक्रममा प्रतियोगीहरुले आफन्तलाई ल्याएर रक्तदान गराउनेछन् । किशोर अवस्थाका भएकाले रक्तदान गर्दा शरीरमा पर्ने असरलाई मध्यनजर गर्दै उनीहरु स्वयं रक्तदानमा सहभागी हुनेछैनन् । प्रतियोगीले रक्तदानका लागि एकजना वापत तीन अभिभावक ल्याउनेछन् ।’
असारको पहिलो हप्ता राजधानीमा हुने निर्णायक प्रतियोगिताका लागि केही समयपछि नै व्यक्तित्व विकासदेखि अन्य विभिन्न किसिमका क्षमता विकासका प्रशिक्षण पनि पाउनेछन् । आयोजकका अनुसार प्रतियोगिताको शीर्ष उपाधि विजेताले ताजसँगै चार लाख बराबरको प्लस टुको शैक्षिक छात्रवृत्ति, टीभीएस स्कुटर, ल्यापटप र मोबाइल पुरस्कार प्राप्त गर्नेछिन् भने फष्ट रनरअपले दुई लाखको छात्रवृत्ति, ल्यापटप, मोबाइल र सेकेण्ड रनरअपले दुई लाखकै छात्रवृत्ति, मिनी ल्यापटप र मोबाइल पाउनेछन् । अन्य १८ वटा विधागत अवार्ड विजेताले विभिन्न कम्पनीबाट प्राप्त उपहार पाउनेछन् । प्रतियोगीहरुले हाल गोर्खा हेल्थ क्लबमा तीन घण्टाको फिजिकल फिटनेस सम्बन्धी तालिम लिईरहेका छन् ।
%d bloggers like this: