Sat. Apr 27th, 2024

काठमाडौं, वैशाख २७ । राजधानीमा शुक्रबारबाट ‘टुबोर्ग महजात्रा २०७१’ शुरु भएको छ । सात वर्षपछि वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह)ले स्टेजमार्फत आफ्ना प्रहसनमा राजनीतिलाई प्राथमिकता दिई विभिन्न व्यंग्य गरेर दर्शकलाई हसाएका छन् ।
‘ईश्वर तिमीले’ बोलको व्यंग्यात्मक मह प्रार्थनाका साथ स्टेजमा देखिएका महले गीतमा ईश्वरले नेपालमा राम्रो मान्छे पठाउन नसम्झिएको कुरालाई व्यंग्यात्मक रुपमा प्रस्तुत गरे । कार्यक्रममा हाँस्यकलाकारत्रय किरण केसी, राजाराम पौडेल र शिवहरि पौड्यालले नेपालीले सीमामा भोगेका समस्यालाई ‘बोर्डर चेकपोष्ट’ प्रहसनमार्फत प्रस्तुत गरे । महको ‘शब्दान्तक्षरी’प्रहसनमा बाहुनबहादुर बहादुर बनेका मदनकृष्ण र नेवारबहादुर बनेका हरिवंशले नेपालमा जातीय राज्यको बीउ रोपिएपछिको दुरावस्थालाई प्रस्तुत गरेका छन् । यो प्रहसनमा अभिनेत्री बसुन्धरा भुषाल र मोहितवंश आचार्यले पनि अभिनय गरेका छन् ।
महकै अर्को प्रहसन ‘म डनको फोटो स्टुडियो’ले मुलुकमा बढ्दो दण्डहिनता र गुण्डागर्दीको प्रभावलाई प्रस्तुत गर्दै आर्थिक संकट परेपछि कसरी डनको संगत गर्न थाल्छन् भन्ने कुरालाई देखाएको छ । यो प्रहसनमा मदनकृष्ण डन र हरिवंश ग्राहकको भूमिकामा छन् ।
त्यस्तै यही जोडीको ‘विकास र भ्रष्टाचार’ नामक गिती प्रहसनमा भ्रष्टाचारी बनेका हरिवंश र विकासमुखी बनेका मदनकृष्णले विकासको पछाडि सधैं भ्रष्टाचार दौडी नै रहेको हुन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् । कार्यक्रममा नायक दिलिप रायमाझी, नायिका अनु शाह, कलाकार रश्मी तामाङले आकर्षक नृत्य प्रस्तुत गरेका छन् भने गायिका मल्लिका कार्कीले विभिन्न गीत दर्शकलाई सुनाएकी छन् । कार्यक्रम आगामी जेठ ८ गतेसम्म राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा चल्नेछ ।

%d bloggers like this: