Thu. Apr 25th, 2024
मुम्बई । दक्षिण फिल्मका सुपरस्टार अभिनेता रजनीकान्तले आफ्नो बहुप्रतिक्षित फिल्म ‘कोचडयान‘ को रिलिज अगाडि नै सामाजिक सञ्जाल ट्वीटर दुनियाँमा आफुलाई सामेल गरेका छन् । ट्वीटरमा प्रवेशसँगै यो सामाजिक सञ्जालमा हंगामा नै मच्चिएको छ । सोमबार रातीसम्म उनलाई पछ्याउनेको संख्या १ लाख ४० हजार पुगिसकेको छ । तर उनले कसैको प्रस्तावलाई स्वीकार गरेका छैनन् ।
भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी, अभिनेता अनुपम खेर, गायक सोनु निगम, तमिल फिल्म निर्देशक वेंकट प्रभू, राजनेता एमके अलागिरीले रजनीकान्तलाई ट्वीटरमा स्वागत गरिसकेका छन् । मोदीले आफ्नो ट्वीटका साथमा रजनीकान्तसँग हालै खिचेको तस्वीर पनि सार्वजनिक गरेका छन् । भारतीय प्रधानमन्त्री मनमोहन सिंहका मिडिया सल्लाहकार पंकज पचौरीले ट्वीटरमा रजनीकान्तको प्रवेशले नयाँदिल्लीमा आँधीबेहरी आएको ट्वीट गरेका छन् ।
रजनीकान्त डिजिटल मिडियाको प्रयोग गर्दै विश्वका फ्यानसँग साक्षात्कार गर्ने नयाँ फिल्मी हस्ती हुन् । बीग बी अमिताभ बच्चन, किंग खान शाहरुख खान यसअघि नै ट्वीटर दुनियाँमा छिरी सकेका छन् । रजनीकान्त पत्नी लता, पुत्री सौन्दर्या, ऐश्वर्या, ज्वाई धनुष पनि ट्वीटरमा छन् । उनले ट्वीटरमा आफ्नो सानो तस्वीर राखेका छन् । रजनीकान्त प्रतिष्ठित पद्मभूषण सम्मानबाट सम्मानित भईसकेका कलाकार हुन् ।
%d bloggers like this: