Thu. Apr 18th, 2024
काठमाडौं, वैशाख २२ । दलित समुदायको कथा बोकेको फिल्म ‘पीपल’ आगामी जेठ २ गते रिलिज हुने भएको छ । रेड एप्पल मुभिजको व्यानरमा निरञ्जन कसजुले लेखन, निर्माण र निर्देशन गरेको फिल्मले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आफ्नो रिलिज मिति सार्वजनिक गरेको हो ।
कार्यक्रममा फिल्मकी नायिका अरुणिमा लम्सालले शुरुमा फिल्मको प्रस्ताव आउँदा आफुले अस्वीकार गरेपनि पछि त्यसलाई स्वीकारेको खुलासा गरिन् । ‘यो फिल्मको प्रस्ताव आउँदा मैले रिजेक्ट गरेर बसेको थिएँ, तर पनि फिल्ममा आफ्नो भूमिकाका बारेमा थाहा भएकाले घरमा गएर केही समय सोचें, अनि श्रीमानसँग पनि सल्लाह लिए ।’ फिल्ममा दलित महिलाको भूमिकामा देखिएकी अरुणिमाले भनिन् । यो अरुणिमाको ५२ औं फिल्म हो । अधिकांश व्यावसायिक र पारिवारिक फिल्ममा अभिनय गरेकी अरुणिमाले आफुले नौलो भूमिकामा अभिनय गरेको दाबी गरिन् ।
फिल्ममा अरुणिमाका अलावा किशोर खतिवडा, सुष्मा अधिकारी र ध्रुव कोइरालाले प्रमुख भूमिकामा अभिनय गरेका छन् । फिल्ममा योगेन्द्र श्रेष्ठको द्वन्द्व, प्रदिप श्रेष्ठको नृत्य, अनन्त थपलिया र विपिन मल्लको सम्पादन, रेखा पौडेल, लोचन घिमिरे र शशी थापाको संगीत र बाबु श्रेष्ठको छायांकन रहेको छ ।
%d bloggers like this: