Thu. Dec 8th, 2022

धनबहादुर खड्का
क्यालकुलेटरले देखाउने थोरै÷धेरै अंकलाई मात्रै सफलता÷असफलताको मापदण्ड नमान्ने हो भने नेपाली फिल्म क्षेत्रका लागि २०७० साल सुखद् रह्यो । यो वर्ष रिलिज भएका थोरै फिल्मले व्यापारिक सफलता हासिल गरे । तर, बाँकीको लगानी पनि पूर्ण रूपमा खेर गएको छैन । किनभने, व्यापारिक असफलता भोगेका फिल्म ‘साँघुरो’, ‘सुनगाभा’ ‘मोक्ष’, ‘भिजिलान्ते थ्रीडी’ ‘कर्कश’, ‘मौन’ जस्ता फिल्मले नेपाली फिल्मको स्वतन्त्र अस्तित्वको बहस चलाएर गएका छन् । यसको मुनाफा भविष्यमा नेपाली फिल्म क्षेत्रले प्राप्त गर्नेछ ।
बलिउडको ‘प्रान्त’ भएर विलय हुनै लागेको नेपाली फिल्म क्षेत्रका लागि यो ठूलो उपलब्धि मान्न सकिन्छ । विश्व फिल्म मानचित्रमा नेपाली फिल्मले स्वतन्त्र अस्तित्वको लडाइँका लागि तयार भएको संकेत गर्नु आफैँमा उपलब्धिमूलक हो । त्यसबाहेक यो वर्ष नेपाली फिल्मले मुख्य तीनटा उपलब्धि हासिल गरेको छ । पहिलो, फिल्म सूत्रमा ढालेर उत्तर निकाल्ने ‘गणित’ होइन, रचनात्मक प्रयोग गर्न सकिने ‘चित्रकला र साहित्य’को संयोजन हो भन्ने मान्यता हाबी हुँदै गएको छ । दोस्रो, मौलिक सामाजिक कथामाथि निर्मित फिल्मको संख्या बढेको छ र त्यस्ता फिल्मले दर्शकको माया पनि पाएका छन् । तेस्रो, फिल्म क्षेत्रमा आफू ‘मनोेरञ्जन’ गर्ने होइन, दर्शकलाई मनोरञ्जन दिलाउने सोच भएकाहरू प्रवेश गर्ने क्रम बढेको छ ।
सांगीतिक क्षेत्रमा संघर्ष गर्दागर्दै एक्सिडेन्टमा परेर ह्विलचियरमा पुगे पनि संघर्ष जारी राख्ने ‘मोक्ष’को कोसिस, श्रीमान्को मृत्युपछि जिउँदै चितामा जल्नुपर्ने ‘झोला’की गरिमा र पानी पर्दा ओछ्यानमै बाटा थाप्ने ‘साँघुरो’का दीया र सुशान्तहरू यही देशका बिभिन्न ठाउँमा भेटिन्छन् । आफ्नै दाइसँग डराउनुपर्ने ‘उमा’की ऋचा र दोषबिनै सजाय पाउने ‘बधशाला’का खगेन्द्रहरूलाई हेर्दा धेरैले आफैसँग कथा मिल्न गएकोमा संयोग ठानेनन् । डेराको जिन्दगीका भोगाइ समेटिएको ‘अन्तराल’ र नेपाली समाजमै घटेको अपराध कथामाथिको ‘फिटकिरी’ले पनि फिल्मका लागि राम्रो कथा ‘आयात’ गर्न जरुरी छैन भन्ने देखाएर गएका छन् । परदेशिनका लागि शहर झरेको गाउँको युवाले झेल्नुपरेको कष्टको डार्क कमेडी ‘झोले’ र रकस्टार बन्ने हुटहुटी पालेका युवाको सांगीतिक कथा ‘कर्कश’ले वर्तमान नेपाली समाजको मनोविज्ञान, आर्थिक र सामाजिक अवस्थालाई पनि चित्रण गरेका छन् । यसले वर्षाैंदेखि नेपाली फिल्ममा देखिएको समय र समाजको अभावलाई चिरेको छ । नेपाली फिल्मको कथामा कायापलट नै भएको छ । नेपाली फिल्म हेर्ने दर्शकको अभाव नभएको ‘होस्टेल’, ‘६ एकान ६’, र ‘काली’ र ‘झोला’ जस्ता फिल्मले प्रमाणित गरिदिएका छन् ।
नेपाली फिल्ममा सिर्जनशीलतालाई प्रयोग गर्ने पुस्ता आइपुगेको छ । बोल्न नसक्नेहरूको प्रेम कहानीमा ‘मौन’ बनाउने सुरज भुषाल, अभावमा मौलाउने स्वच्छ प्रेम देखाउने ‘साघुँरो’का जोएस पाण्डे र आफ्नो दर्दनाक कथालाई फिल्मीकरण गरेर दर्शकलाई मनोरञ्जन दिने ‘मोक्ष’का प्रवीण श्रेष्ठजस्ता निर्देशकले नेपाली फिल्मलाई विविधायुक्त बनाउने प्रयास गरे । त्यसैगरी प्रोमोबाटै फिल्मका लागि प्रभावित पार्नसक्ने ‘होस्टेल’का हेमराज बीसी र पोस्टरले पनि फिल्मको जेन्र देखाउन सक्छ भनेर प्रमाणित गर्ने दीपेन्द्र के खनालहरूले फिल्ममा ‘सिरियसनेस’ देखाएका छन् । यसले नयाँ पुस्ता फिल्मको विÈय, हिरो हिरोइन छान्नेदेखि पोस्टर र प्रोमोसम्ममा दिमाग लगाएर मेहनत गर्छ भन्ने पनि देखाउँछ ।
उचाइ, अनुहार र जिउडालका आधारमा फिल्ममा भूमिका तय गर्ने प्रचलन लगभग समाप्त भएको छ । यसका साथै फिल्मका हिरोका लागि चाहिने लामो नाक, ठूला आँखा चकलेटी अनुहार र गठिलो जिउडालको परम्परागत फम्र्याट धेरै निर्देशकका दिमागबाटै उडिसकेको छ । चरित्रअनुसार कलाकार खोज्ने कामका लागि कास्टिङ डाइरेक्सनको प्रचलन बढेको छ । फिल्ममा अभिनय गर्न अभिनय जान्नुपर्ने सत्य प्रमाणित भएको छ । अनुहार लिएर आएकालाई अभिनय गर्ने जान्नेले उछिनेका छन् । रंगमञ्चमा खारिएर आएका दयाहाङ राई, सौगात मल्ल, अनुप बराल, दीया मास्के, सरिता गिरी, समुना केसी, अरुणा कार्की, सिर्जना सुब्बाजस्ता रंगमञ्चका कलाकार फिल्मी पर्दामा खरो उत्रेका छन् । अभिनेतालाई जिउडालले होइन, पात्रले हिरो बनाउँछ भन्ने कुरा फिल्म ‘झोले’बाट दयाहाङले प्रमाणित गरिदिए ।
नेपाली फिल्म क्षेत्रले यो वर्ष केही आशलाग्दा नयाँ अनुहारलाई स्वागत गरेको छ । फिल्म ‘होस्टेल’बाट आएका सलोन बस्नेत, अनमोल केसी, रिश्ता बस्नेत र निर्देशक हेमराज बीसीले नेपाली फिल्म क्षेत्रमा जम्ने प्रशस्त सम्भावना देखाएका छन् । ‘मोक्ष’ फिल्मबाट अभिनेता बन्ने कोसिस गरेका गायक कोसिस क्षत्रीको प्रयास सफल भएको छ । यही फिल्मबाट निर्देशकका रूपमा प्रवीण श्रेष्ठले आफूलाई प्रमाणित गरेका छन् । ‘अन्तराल’बाट फिल्मको पर्दामा देखिएका कमलमणि नेपाल र अशिष्मा नकर्मी पनि आशा गरिएका अनुहार हुन् भने निर्देशक दीपा बस्नेतको निर्देशकीय क्षमताको पनि प्रशस्त चर्चा भएको छ । ‘मञ्जरी’बाट फिल्म अभिनयमा प्रवेश गरेका गौरव पहारी र सुजाता कोइराला, ‘साँघुरो’बाट अभिनेताका रूपमा सुशान्त मैनाली र निर्देशकका रूपमा जोएस पाण्डे, ‘रिदम’बाट अभिनेता शोहित मानन्धर, ‘कर्कश’बाट अभिनेता सुरजसिंह ठकुरी, ‘मौन’बाट निर्देशक सुरज भुसाल र ‘झोला’बाट निर्देशक यादवकुमार भट्टराईले डेब्यू फिल्मबाटै आफूलाई प्रमाणित गरेका छन् ।
धेरै लगानीकर्ताका लागि फिल्म क्षेत्र यसपालि पनि सुखद रहेन । रिलिज संख्याको आधारमा पाँच प्रतिशत फिल्मले कमाइ गरे भने २५ प्रतिशत फिल्मले मात्रै लगानी सुरक्षित गरे । तर, ओभरसिज मार्केटले धेरै फिल्म निर्मातालाई राहत दिलाएको छ । सुनील रावल निर्मित ‘होस्टेल’, दीपकराज गिरी निर्मित ‘६ एकान ६’ र विकास आचार्यको ‘रिदम’, रेखा थापाको ‘काली’, मोहन डोटेल निर्मित ‘बधशाला’ र यादवकुमार भट्टराईको ‘झोला’ कमाउने फिल्मको सूचीमा पर्छन् । त्यसैगरी फिल्म ‘कर्कश’, ‘झोले’ ‘हिम्मत–२’ नेपाली थिएटरबाटै लगानी सुरक्षित गर्ने फिल्म हुन् । यीबाहेक केही फिल्मले नेपाल र नेपालबाहिर गरिएका शोबाट लगानीमात्रै भए पनि सुरक्षित गरेका छन् । नेपाली फिल्मको ओभरसिज मार्केट बढ्दै गएको छ । धेरै फिल्म निर्माताले विदेशमा कपीराइट बेचेर पनि धेरथोर लगानी उठाए ।
फिल्मसँग सम्बन्धित विषयभन्दा राजनीतिसँग जोडिएर कलाकारहरू समाचारका पात्र बने । कलाकारहरू हूल बाँधेर राजनीतिक दलमा प्रवेश गर्नेदेखि उम्मेदवारका रूपमा समेत चर्चामा आए । यीमध्ये नेकपा एमाओवादीमा प्रवेश गरेकी रेखा थापा र नेकपा एमालेमा प्रवेश गरेका भुवन केसी बढी छाए । दुइटैले सभासद् बन्ने चर्चामात्रै पाए, सभासद् भने भएनन् ।
नेपाली फिल्मबारे बेखबर रहने राजनीतिकर्मी पनि यो वर्ष फिल्म हलमा देखिएका थिए । पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई, झलनाथ खनाल, केपी ओलीले विभिन्न हलमा पुगेर फिल्म हेरे ।
नेपाली फिल्मप्रति वक्रदृष्टि राख्नेहरूलाई पनि फिल्महलसम्म पु¥याउने ल्याकत राख्नु पनि फिल्म क्षेत्रको उपलब्धि हो । तर, धेरैको फिल्महलसम्मको यात्रा नियमित हुनसकेको छैन । त्यसका लागि २०७० सालमा गोरेटो भने खनिएको छ ।
शुक्रवार साप्ताहिकबाट