Tue. Apr 23rd, 2024

मुम्बई, (एजेन्सी) । बलिउडकी ‘बोल्ड’ अभिनेत्री राखी सावन्तले सुटिङका सबै काम छाडेकी छन् । अरु दिन फिल्मका कुरा गरेर नथाक्ने राखी हिजोआज राजनीति कुरा गर्छिन् अनि आफ्ना फिल्मका दर्शकलाई भन्न थालेकी छन्, ‘मलाई एक भोट दिनुस् है ।’ भारतको आसन्न लोकसभा चुनावमा ‘राष्ट्रिय आम पार्टी’को तर्फबाट उम्मेदवारी दिएपछि राखीको दिनर्चा फेरिएको हो ।
अभिनेत्री राखीले केही दिनअघि मात्र उम्मेदवारी घोषणा गरेकी हुन् । उनी मुम्बईको उत्तर–पश्चिम क्षेत्रबाट लोकसभा चुनावमा उम्मेदवारी दर्ता गराएकी छन् । अन्य बलिउड स्टार आफूलाई मन पर्ने नेता तथा पार्टीका लागि भोट मागिरहेका बेला राखीले भने आफ्नै लागि भोट माग्दैछिन् । चुनावमा आफ्नो जित हुनेमा निकै आशावादी पनि छिन् । पार्टीले उनलाई एक्ली उम्मेदवार बनाएको छ । त्यसैले पनि उनी आशावादी रहेको बताइन्छ । उम्मेदवारी घोषणासँगै भोट माग्न व्यस्त भएपछि राखी अनुबन्धित फिल्मको सुटिङ पनि रोकिएको बताइन्छ । चुनाव हुन धेरै दिन नभएकाले राखीलाई भोट माग्न निर्माता÷निर्देशकले छुट दिएका छन् ।
राखीले उम्मेदवारी दिनेक्रममा यसअघि नै आफ्नो सम्पति सार्वजनिक गरिसकेकी छन् । उनले आफ्नो कुल सम्पति १५ करोड भारतीय रुपैयाँको रहेको सार्वजनिक गरेकी छन् । १५ करोड रुपैयाँको सम्पत्तिमध्ये मुम्बईमा रहेका आफ्नो दुई घर पनि समेटेकी छन् । राखीले उम्मेदवारी दिनेक्रममा ‘अशिक्षित’ रहेको पनि उल्लेख गरेकी छन् ।

%d bloggers like this: