थकाली समुदायमा उहिले ऐँचोपैँचो गर्न र साह्रोगाह्रो टार्न ढुकुटी खेल्ने चलन थियो। अहिले खेलिने ढुकुटीमा एक जनाको कारण थुप्रैले सास्ती खेप्नुपर्छ। ढुकुटीकै कारण कतिले आत्महत्या गरेका छन्, कतिका घरबार उजाडिएका छन्। रिक्साचालकदेखि पाइलटसम्मले ढुकुटी खेलेका छन्। अनौपचारिक अर्थतन्त्रको माध्यम बनेको यसले वित्तीय तथा सामाजिक अपराध पनि बढाएको छ। कानुनी रूपमा अवैधानिक ढुकुटीलाई हिजोआज ‘लेनदेन’ भन्न थालिएको छ। यो तथाकथित ‘लेनदेन’को आत्मघाती खेलबारे सचेत गराउन खोजेका छन्, धनबहादुर खड्काले।
लोकदोहोरीका स्रोताले सुनेको हुनुपर्छ यो गीत–
‘शीतल दिने पीपल समी छ,
अरू मलाई पुगेकै छ सानु तिमी छैनौ तिम्रै कमी छ’
लोकगायक याम क्षत्रीलाई यही गीतले चर्चित बनायो । तर, उनले आफ्नो छवि जोगाउन सकेनन् । एकातिर सीआरबीटी चोरी केसको लफडा आइप¥यो भने अर्कातिर ‘लेनदेन’को । सीआरबीटी केसमा यही मंगलवारमात्रै जिल्ला अदालतबाट सफाइ पाए पनि उनले भन्ने गरेको ‘लेनदेन’ र सबैले भन्ने गरेको ‘ढुकुटी’ले उनको पिछा तत्काल छाड्ने अवस्था छैन । किनभने, ढुकुटीमा उनी आफूमात्रै डुबेका छैनन्, उनले थुप्रै सहकर्मीलाई पनि डुबाएको बताइएको छ । केही समय गुमनामजस्तै बसेका याम यतिबेला फेरि संगीत क्षेत्रमा सक्रिय त भएका छन्, तर पहिलाको जस्तो खुलेर आउन सकेका छैनन् । उनीसँग ‘लेनदेन’ जोडिएकाहरू उनले लुकेर गीत रेकर्ड गर्दै आएको बताउँछन् । तर, याम भन्छन्, ‘ढुकुटी खेलेको होइन, केही साथीहरूसँग लेनदेन छ । स्टुडियोले दिने रेकर्ड टाइम रात वा दिनमा पर्न सक्छ ।’
उनीसँग ‘लेनदेन’ कारोबार जोडिनेमा हाल अमेरिका रहेकी गायिका निशा सुनार, चर्चित गीतकार शिव हमाल, वसन्त थापा, चर्चित दोहोरी गायक रामजी खाँडलगायत छन् । ढुकुटी खेलेको नस्विकारे पनि आफ्नो २२ लाख रुपैयाँ जति ‘लेनदेन’मा डुबेको शिव हमाल बताउँछन् । त्यसैगरी रामजीको १५ लाख रुपैयाँ र वसन्तको पनि त्यही हाराहारीमा डुबेको बताइएको छ ।
‘फूल राम्रो गुलाबको’ जस्तो चर्चित गीतका सर्जक कर्ण चापागाईंको जीवन ढुकुटीकै कारण उनले नै लखेको अर्काे गीत ‘मेरो त जिन्दगी रुँदै रुँदै गयो’ जस्तै भएको बताइन्छ । हाल सम्पर्कविहीन रहेका उनका कारण पनि लोकदोहोरी क्षेत्रका ढुकुटी खेल्नेहरू सबैका ढुकुटी रित्तिएका छन् । किनभने, ढुकुटी कारोबार गरेका धेरैले आफ्नो पैसा उनले डुबाइदिएका कारण तिर्न नसक्ने बताएर उम्किरहेका छन् । देशबाहिर रहेका उनी तत्काल नेपाल फर्किेन सम्भावना न्यून छ । आधुनिक गीत, लोकगीत लेखेर र म्युजिक भिडियोमा अभिनय गरेर उनले राम्रै नामदाम कमाए पनि ढुकुटी खेल्न थालेपछि गुमनाम हुनुपरेको हो । ‘वनको काफल वनकै चरीलाई’ जस्तो चर्चित गीतकी गायिका सिर्जना विरही थापा पनि कर्ण चापागाईंसँगकै ‘लेनदेन’ बिग्रेपछि अन्यत्रको कारोबारमा पनि फसेको बताइन्छ ।
अघिल्लो वर्षसम्म असाध्यै ‘लोकप्रिय’ ढुकुटी खेल अहिले ‘लेनदेन’ वा ‘लेनादेना’ मा परिणत भएको छ । किनभने, पहिल्यै खानेहरूले रकम फिर्ता नगरेपछि ढुकुटीमा फस्ने कतिले कागज गरेर त्यसलाई लेनदेनमा परिणत गर्न सफल भएका छन् । कतिसँग ‘दिन्छु’ भन्ने बचन पत्याएर कुर्नुबाहेक अर्काे विकल्प छैन । यसमा फिल्मकर्मीहरू पनि फसेका छन् । एक समयकी चर्चित अभिनेत्री ऋचा घिमिरे र निर्देशक शंकर घिमिरे ‘ढुकुटी’कै कारण विदेशिएको बताइन्छ । फिल्म रिलिजका लागि स–परिवार अमेरिका पुगेका उनीहरूको तत्काल नेपाल फर्किने सम्भावना छैन । उनीहरूले ढुकुटी खेलाउ“दै धेरैको पैसा डुबाएपछि देश छोडेर हि“डेको समाचार यसअघि पनि आएका थिए । ऋचाबाट ढुकुटीमा दुई दर्जनभन्दा बढी मानिस पीडित भएका छन् । घिमिरे दम्पतीबाट ठगिनेमा अभिनेत्री तथा मोडल रमिला अधिकारीकी आमा र चाबहिलस्थित केएल टावरनजिकै ब्युटी पार्लर सञ्चालिका चुनु थापालगायत भएको बुझिएको छ । मोडेल रमिलाकी आमाको ९ लाख ४२ हजार रुपैयाँ डुबेको छ । फाइदाका पछि लागेर बैंकबाट महँगो व्याजदरमा लिएको उक्त रकम बेलामा नफर्केपछि घरजग्गा बेचेर बैंकको पैसा तिरेको बुझिएको छ ।
सुधा नाम गरेकी अर्की महिलाको समेत लाखौ“ रकम ऋचाले डुबाइदिएको बताइएको छ । फिल्म ‘तुलसी’ रिलिज भएपछि रकम तिर्ने बताएकी ऋचा नै विदेशिएपछि पीडितहरूलाई झन् अप्ठ्यारो परेको छ । फिल्मकर्मबाट नियमित खर्च धान्ने रकमको जोहो पनि हुन छाडेपछि घिमिरे दम्पती ढुकुटीमा सरिक भएका हुन् ।
एक समय फिल्म लाइनमा धु्रव न्यौपाने नाम निकै चर्चित थियो । फिल्म ‘प्लान’मा सानो भूमिका गरेका उनी यत्तिकै चर्चित बनेका होइनन् । बानेश्वरस्थित रोजमेरी क्याफेका एक जना सञ्चालकसमेत रहेका उनी महँगा गाडीमा सवार हुन्थे । सबैसँग मिल्थे, खर्च गर्न पछि हट्दैनथे । यत्तिको साथी पाएपछि कसले संगत नगर्ला र ? फिल्म क्षेत्रका धेरैले रोजमेरी क्याफेलाई जमघटस्थल बनाए । फिल्मकर्मीलाई विश्वासमा लिएका उनीसँग धेरैले ‘कारोबार’ गरे । ढुकुटी भनिने त्यो कारोबारबाटै महँगा गाडी चढेर मोज गर्ने हैसियत बनाएका ध्रुव अहिले फिल्म क्षेत्रबाट टाढिएका छन् । एक वर्षदेखि फिल्म क्षेत्रको सार्वजनिक कार्यक्रममा नदेखिएका उनीसँगको ‘कारोबार’मा फिल्म निर्मात्री कविता श्रेष्ठ, अभिनेत्री रेखा थापा, दीपाश्री निरौला मात्रै होइनन्, एभरेस्ट बैंककी कर्मचारी निर्जा अर्याल पनि फसेको बताइन्छ । आफू ध्रुवसँगको आर्थिक कारोबारमा फसेको पुष्टि गर्दै अभिनेत्री दीपाश्रीले भनिन्, ‘ध्रुव सम्पर्कमै छन् । तिर्छु पनि भनेका छन् ।’
दुनियाँले चिनेका टाठाबाठाहरू हुन् यी । यो कारोबारबाट पीडित हुने सर्वसाधारणको संख्या ठूलै छ । पीडितहरू अहिले पुर्पुरोमा हात राख्दै पछुताइरहेका छन् । ढुकुटी अवैधानिक भएकाले यसमा संलग्न छु भन्दा झमेलामा परिएला भन्ने डरले अहिले धेरै गुपचुप देखिन्छन् । ढुकटी खेलेर ढुकुटी रित्याउनेमा आजभोलि सुरÔाकर्मी, डाक्टर, पत्रकार, सरकारी कर्मचारी, शिÔक, गृहिणी आदि सबै सहभागी छन् ।
मासिक पाँच हजारको ढुकुटी खेलेका थिए, पोखरालाई कार्यक्षेत्र बनाएका पत्रकार विष्णु पौडेलले । अरूको विश्वास नहुने भएकाले आफ्नै घरबेटीसँग ढुकुटी खेलेका उनले लगातार सातआठ किस्ता बुझाए । आफ्नो खाने पालो आउनैलाग्दा ढुकुटी खेलाउने घरभेटीले बिहे गरिन् । उनको पैसा यता त उता भयो । ‘ढुकुटी खेल्नु जोखिमपूर्ण काम हो, घरभेटीको त विश्वास नहुँदो रैछ,’ उनी भन्छन्, ‘अरू कसलाई विश्वास गर्ने ? कति बेला को भाग्छ, थाहै नहुने रहेछ ।’
पोखरा मालेपाटनकी इन्दिरा कार्कीले मासिक १० हजारको ढुकुटी खेलाउँथिन् । विभिन्न पेसाका मध्यम वर्गका २० जना सहभागी गराएर खेलाइएको ढुकुटीले उनलाई बिनाब्याज पैसा चलाउने सुविधा दिएको थियो । यसअघि पनि धेरै पटक ढुकुटी खेलाउने उनलाई तीन महिनाअघि आपत्ति आइलाग्यो । सँगै ढुकुटी खेल्ने एक जना ट्याक्सीचालक सविन अधिकारी आफ्नो किस्ता खाएर गायब भए । त्यसको बोझ इन्दिरालाई प¥यो । ‘पहिलेदेखि ढुकुटी खेलाउँथेँ, यस्ता बेइमान कोही थिएनन्,’ उनले भनिन्, ‘त्यो सविन भन्ने पनि पहिलेदेखि नै यहीँ बस्थ्यो, ट्याक्सी चलाउँथ्यो । परिवार थियो । सुटुक्क भागेछ ।’ ढुकुटी खाएर सविन भागेपछि इन्दिराले यस्तो काम गर्न छाडेकी छिन् । उनको दुई लाख रुपैयाँ डुब्यो ।
अहिले पनि ढुकुटीमा नियमित पैसा बुझाइरहेका र ढुकुटी खान नपाएकाहरू पालो कुरेर बसिरहेका छन् । ‘सर्कल’ पूरा गरेपछि कारोबार बन्द गर्ने योजना बनाउने पनि उत्तिकै छन् । तर, धेरैको मनमा भने खेलेको ढुकुटीले आफ्नै ढुकुटी रित्याउने भयले डेरा जमाएको छ । एउटै व्यक्तिले विभिन्न समूहमा ढुकुटी खेल्ने गरेका कारण डुब्ने सम्भावना बढ्दै गएको छ । ढुकुटीका एक जना भुक्तभोगी भन्छन्, ‘ढुकुटी खाएको पैसा रिटर्न आउने क्षेत्रमा लगानी गरे पो कारोबार चल्छ । साथीहरू ढुकुटी खाएको पैसाले टन्न रक्सी खान थालेका छन् । त्यसैले पैसा डुब्ने पक्काजस्तै भएको छ । ग्रुपमा एक जनाले गल्ती गरेपछि सबै जना फस्छन् । जसले खायो उसलाई त केही भएन, किस्ता तिर्नेहरूको बर्बादै हुन्छ नि ।’
अर्थतन्त्रमा ढुकुटीको असर
पछिल्ला दिनमा औपचारिकभन्दा अनौपचारिक कारोबारले देशको अर्थतन्त्रलाई प्रभावित बनाउन थालेको छ । ढुकुटी त्यस्तो अनौपचारिक कारोबारको माध्यम बनेको छ, जसले औपचारिक अर्थतन्त्रलाई प्रभावित बनाएको छ भने आर्थिक अपराधका शृंखला बढ्न थालेका छन् ।
राष्ट्र बैंकको स्वीकृति नलिई कुनै पनि निकायले निक्षेप वा कर्जा दिन पाउँदैन । बैंक तथा वित्तीय संस्था र सहकारीले निक्षेप वा कर्जा दिन पाउँछन् । तर, अहिले समूह÷समूह बनाएर अर्बौंको कारोबार भएको सरकारी निकायको अनुमान छ । पहिला समाजमा खाँचो टार्न स–सानो रकम समूहमा वचत गर्ने र चाहिँदो रकम लिएर जाने प्रचलनबाट सुरु भएको ढुकुटी अहिले अर्बौंमा हुन थालेको छ ।
थकाली समुदायले आफ्नो समूहलाई सहयोग पु¥याउने उद्देश्यले पैसा संकलन गरेर दिने गरेको थियो । व्यवसाय विस्तारको लागि रकम चाहिँदा पालैपालो पैसा लिने गरेर सुरु भएको ढुकुटीको ¥याकेट अहिले प्रत्येक नगर, उपमहानगर, महानगर र त्यस वरपर रहेका व्यावसायिक क्षेत्रमा फैलिएको छ ।
अहिले प्रत्येक व्यापारिक क्षेत्रमा ढुकुटीको वर्चस्व छ । यही वर्चस्वका कारण बैंक तथा वित्तीय संस्थामा यो रकम पुग्दैन । प्रधानमन्त्रीका आर्थिक सल्लाहाकार अर्थविद् डा. चिरञ्जीवी नेपाल अनौपचारिक कारोबारले अर्थतन्त्रलाई प्रभावित बनाउने बताउँछन् ।
‘ढुकुटी अनौपचारिक कारोबार हो । पैसाको कारोबार गर्ने माध्यम भनेको बैंक तथा वित्तीय संस्था हो । ढुकुटीमा गएको रकम यी संस्थामा जाँदैन,’ उनले भने, ‘यसले वित्तीय असन्तुलन ल्याउँछ र दीर्घकालमा अर्थतन्त्रलाई नै प्रभावित बनाउँछ ।’ अर्थविद् नेपालले दीर्घकालीन रूपमा पैसा बैंकमा नआएपछि बैंक तथा वित्तीय संस्थालाई असर गर्ने बताउँदै त्यसबाट अर्थतन्त्रलाई सीधा असर गर्ने बताए ।
‘ढुकुटीको रकम बैंक तथा वित्तीय संस्थामा आउँदैन । यसले मुलुकमा कति पैसा छ भन्ने जानकारीसमेत हुँदैन,’ उनले भने, ‘पैसाको वास्तविक अवस्था थाहा हुँदैन । यसले अर्थतन्त्रलाई ओरालोतिर लैजान्छ ।’ अर्थविद् नेपालका अनुसार ढुकुटीले आर्थिकबाहेक सामाजिक विखण्डनसमेत निम्त्याएको छ ।
‘ढुकुटी खेलेर धेरैको घर उजाड भएको छ । यसले सामाजिक विखण्डनसमेत ल्याएको छ,’ उनले भने, ‘मुलुकलाई पार्ने आर्थिक प्रभावसँगै सामाजिक प्रभावको मूल्य अझै महँगो देखिएको छ । वित्तीय अपराधले समाजलाई थप समस्यामा पार्दै लगेको छ ।’
राष्ट्र बैंकले घरजग्गा कर्जामा सीमा तोकेपछि धेरै व्यवसायी ढुकुटीमा आकर्षित भए । चार वर्षअघि कर्जामा सीमा लगाएपछि काठमाडौँलगायत शहरका जग्गाको मूल्य खस्कियो । जग्गा समयमा बिक्री गर्न नसक्दा व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण यही ढुकुटीबाट तिर्न थाले । तर, चक्रिय ब्याजले यो रकम तिर्न नसकेर धेरैको घरबार चौपट भयो ।
अपराधतिर ढुकुटी
सरकारले नै अवैध भनेको क्षेत्रमा कारोबार गर्ने धेरैले ढुकुटीलाई भित्रभित्रै गुम्साएका छन् । भित्रभित्रै गुम्सिएको ढुकुटीबाट आपराधिक क्रियाकलाप बढेपछि सरकारले ढुकुटी कारोबार र यसले पारेको प्रभावबारे अध्ययन गर्न समिति नै बनायो । समितिले काठमाडौँ र देशका प्रमुख शहरमा ढुकुटीमा संलग्न व्यक्ति र व्यवसायीसँग अन्तरक्रिया पनि ग¥यो । त्यो अध्ययनले रिक्सावालदेखि उच्चस्तरका व्यक्ति पनि ढुकुटीमा संलग्न रहेको र त्यसको कारोबार अर्बौं रुपैयाँको भएको देखियो । तीन वर्षअघि गरिएको अध्ययनले ढुकुटीले अपराध बढाएको देखिएको थियो । ‘ढुकुटीको अध्ययनले अपराधलाई मलजल गरेको भेटिएको थियो,’ राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक एवम् अनुसन्धानकर्ता मीनबहादुर श्रेष्ठले भने । उनले ढुकुटीकै कारण आत्महत्या गरेको अध्ययनको क्रममा भेटिएको बताए । ढुकुटीमा धेरै गृहिणी पनि लागेका र डुबेपछि श्रीमान्लाई थाहा भएपछि घरबारसमेत बिग्रिएका घटना अध्ययनका क्रममा देखिएको बताइएको छ । ‘घरायसी झगडादेखि लिएर अवैध रूपमा कारोबार हुने भएकाले पैसा उठाउन अपराधीको प्रयोग गरेको पाइएको थियो,’ श्रेष्ठले भने, ‘आर्थिक विचलनले सामाजिक विखण्डनसमेत भएको छ ।’
विकल्पहीन सरकार
उक्त अध्ययन समितिले दिएको सुझावका आधारमा ढुकुटीलाई वैध बनाउने वा प्रतिबन्ध लगाउने भन्ने सुझाव दिन सरकारले समिति बनायो । समितिले नयाँ कानुन बनाएर वैध सञ्जालमा ल्याउने वा प्रतिबन्ध गर्नुपर्ने भन्ने दुई विकल्प दियो । तर, सरकारले अहिलेसम्म कुनै निर्णय गरेको छैन ।
‘नयाँ कानुन बनाएर वैध कारोबारको मान्यता दिने वा पूर्ण प्रतिबन्ध लगाउने दुई विकल्पको सुझाव दिएका थियौँ, तर अहिलेसम्म कुनै निर्णय भएको छैन,’ अनुसन्धानकर्ता श्रेष्ठले भने । अहिले भने ढुकुटीलाई अवैध रूपमा हेरेको बताउँदै वित्तीय मध्यस्तता गर्नेलाई कारबाही हुने उनले बताए ।
पश्चिमाञ्चल क्षेत्रमा ढुकुटीले राम्रो गरेको र यसले धेरैलाई आयआर्जनको माध्यम बनाएको अध्ययनले देखाएको छ । अध्ययनमा पश्चिमाञ्चल क्षेत्रमा अझै पनि ढुकुटीले ऐँचोपैँचो गरेर आयआर्जनको काम गरेको देखिएको छ । यसकारण पनि ढुकुटीलाई राम्रो वा नराम्रो भन्नेमा सरकार दोधारमा छ । ‘रातारात धनी हुने समूहले ढुकुटीलाई बदनाम गराएका छन् । ढुकुटीलाई शतप्रतिशत नराम्रो भन्न मिल्दैन,’ श्रेष्ठले भने, ‘नराम्रा केही व्यक्तिले यसलाई बदनाम गराएका छन् ।’
शुक्रवारबाट