Wed. Apr 24th, 2024

एमपी सुब्बा

काठमाडौं, १७ चैत ।  ‘रुदै रुदै जान्छु मेलामा’ भन्ने चर्चित गायिका तथा मोडल मञ्जु महत उनैले रुवाएर गइन् ।  मञ्जुले ‘रुदै रुदै जान्छु मेलामा’ गीतमा मोडलिङ गरेकी थिइन्, समकक्षी तथा लोकदोहोरी प्रेमीहरुलाई रुवाएर अलविदा भइन् । दुर्घटनाका कारण शनिबार निधन भएकी स्व. महतको सोमबार पशुपति आर्यघाटमा हिन्दु परम्पराअनुसार अन्तिम दाहसंस्कार गरिएको छ । २९ वर्षीया स्व. महतलाई उनका ससुराले दागबत्ती दिएका थिए

मञ्जु महतको शवलाई सोमबार बिहान साढे ११ देखि १ बजेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा सार्वजनिक श्रद्धाञ्जलीका लागि राखिएको थियो । मञ्जुलाई अन्तिम विदाई गर्न पुगेका कलाकारले आँशु थाम्न सकेनन् । ‘साह्रै मिजासिली थिइन्’, गहभरी आँशु पादै गायिका जानकी मगरले भनिन्, ‘तर हामी सबैलाई छाडेर गइन् ।’ मञ्जुको पाथिएव शरीरमा श्रद्धाञ्जलीका फूलहरु आइरिरहँदा उनका ढेड वर्षीय छोरा प्रस्तुत चिच्याईरहेका थिए । मञ्जुको अवोध छोरा प्रस्तुतलाई देखेपछि कलाकार तथा सर्वसाधारणको गला रोकिएको थियो । ‘मञ्जुले हामीलाई त छाडेर गइन् नै यी नाबालक छोरालाई पनि बिर्सेर गइन्’, गायक पशुपति शर्मा भन्दैथिए, ‘दैव पनि निष्ठूरी नै हुँदोरहेछ ।’ पछिल्लो गीत ‘सोह्र दुना आठ’ मञ्जुले पशुपतिसँगै गाएकी थिइन् । जुन गीतको लोकप्रियताले मञ्जुलाई ‘सोह्र दुना आठ’ गायिकाको ट्यागसमेत दिएको थियो ।
चर्चित लोक गायक बद्री पंगेनीको पनि ओठ, गला सुकेको थियो । ‘कल्पनै गर्न नसकिने यस घटनालाई नचाहेरै पनि स्वीकार्नु परेको छ । यस घटनाले लोक दोहोरी क्षेत्रलाई स्तब्ध बनाएको छ’ गायक पंगेनी भन्दैथिए, ‘फेरि हामीले मञ्जु महतजस्तो गायिका पाउने छैनौ । मञ्जुले कहिल्यै रिसाउन नजान्ने एक मिलनसार र संघर्षहशील गायिका थिइन् । उनका शत्रु एकजना पनि छैनन्, उनी हर गुणले सम्पन्न कलाकार थिइन् ।’ आफ्नो समकक्षी गायिकालाई गमाउनु पर्दा गायिका सुनिता दुलाल ममार्हित देखिइन् । ‘के बोल्ने के नबोल्ने मेरो गला नै सकेको छ’ गायिका दुलालले भनिन्, ‘राम्रा मान्छेलाई त दैवले पनि देखिनसक्दोरहेछ ।’
‘स्टेज क्विन’ का रुपमा लोकदोहोरी क्षेत्रमा आफूलाई चिनिएकी स्व. मञ्जुलाई अन्तिम श्रद्धाञ्जली दिन सभामुख सुवास नेम्बाङ, उर्जामन्त्री राधा ज्ञवालीलगायत राजनीतिक दलका नेता तथा कार्यकर्ता प्रज्ञा प्रतिष्ठान पुगेका थिए । सभामुख नेम्बाङले मञ्जुको निधनले आफूलाई दुखी बनाएको भन्दै राष्ट्रले एक प्रतिभा गुमाएका बताए । उनले भने, ‘म कला र कलाकारको सम्मान गर्छु, कलाकार भनेका राष्ट्रका सम्पति हुन् । गायिका मञ्जु महतको निधनप्रति दुःख व्यक्त गर्दछु ।’

%d bloggers like this: