Tue. Apr 23rd, 2024

फिल्म क्षेत्रबाट दिनप्रतिदिन अलोकप्रिय हुँदै गएकी नायिका रेखा थापा प्रहरी छानविनमा तानिएकी छिन् । हिम्मतवाली फिल्मको सुटिङमा प्रहरीको पोशाक दुरुपयोग गरेकोमा प्रहरी प्रधान कार्यालयले छानविन थालेको छ । प्रहरीको स्वीकृतिबिना नै आईजीपी र डिआईजीको पोशाक लगाएर सुरक्षामा आँच पुर्‍याउने काम गरेको भन्दै छानबिन सुरु भएको हो ।

हिम्मतवाली फिल्मको सुटिङका लागि महेन्द्रनगर पुगेकी नायिका थापाले स्वीकृतिबिना नै आईजीपी तथा डिआईजीको पोशाकको दुरुपयोग गरेकी हुन् । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उनले त्यसका लागि स्वीकृति लिएकी छैनन् । प्रहरी प्रवक्ता एसएसपी गणेश केसी भन्छन्, ‘स्वीकृति नलिइकन त्यसरी प्रहरी पोशाकमा सुटिङ गरिएको रहेछ भने त्यो आपत्तिजनक कुरा हो, हामी छानबिन गरिरहेका छौं ।’

नायिका थापाले आईजीपीको भूमिकामा यातायात तथा रेष्टुरेन्ट व्यवसायी दिनेश भण्डारीलाई खेलाएकी छिन् भने डिआईजीमा कान्तिपुरका पत्रकार राजेन्द्र नाथलाई । सुटिङको क्रममा आईजीपी र डिआईजीको पोशाक लगाउँदै अन्य व्यक्तिले पनि फोटो सेसन गरी फेसबुकमा प्रचार गरिरहेका छन् । यसले धेरैलाई भ्रमसमेत दिएकाले तत्काल छानबिन थाल्नुपर्ने एक प्रहरी अधिकारी बताउँछन् ।

त्यसो त नायिका थापाको हिम्मतवाली फिल्म यसअघि नै विवादमा तानिइसकेको छ । थापासँग विवाद भएपछि निर्देशन श्याम भट्टराईले बीचैमा काम छाडिसकेका छन् । निर्माता सुदर्शन गौतम र रेखाको ‘अपाच्य व्यवहार’ को विषयलाई लिएर उनीहरूबीच विवाद सुरु भएको थियो ।

उता, चलचित्र विकास बोर्ड पनि यतिबेला नायिका थापाको विरोधमा उभिएको छ । सुटिङको क्रममा कलाकार तथा अन्य कर्मचारीको बीमा नगरेको विषयलाई लिएर बोर्डसँग थापाको विवाद भएको छ । आफू नभए पनि मिलाइदिन भन्दै नायिका थापाले बोर्डका अधिकारीलाई आग्रह गरे पनि अस्वीकार गरिदिएका छन् । पछि आफैंले निर्देशन गरेर रेखा सुटिङ सकेर सोमबार राधजानी फर्किसकेकी छिन् ।

सुरुमा बोर्डका अध्यक्ष पप्पुसँग नायिका थापाको बेजोडको दोस्ती थियो । हिम्मतवालीमा उनी निर्माता बन्ने समेत पक्का भएको थियो । तर रेखाको घमण्डका कारण पप्पु टाढिएका छन् । आफ्नो स्वार्थअनुसार विभिन्न व्यक्तिलाई प्रयोग गर्न रेखा खप्पिस मानिन्छिन् । माओवादी नेता कृष्णबहादुर महरादेखि प्रचण्डसम्मलाई प्रभाव पारेर उनी चलचित्र विकास बोर्डको अध्यक्ष हुने दाउमा लागेकी थिइन् । तर त्यसमा असफल भइन् । पछिल्लो समय उनको वास्तिविक स्वभाव बुझेपछि एकपछि अर्काे गर्दै उनका निकटस्थहरू उनीसँग टाढिन थालेका छन् । अझ प्रहरीको पोशाक दुरुपयोग प्रकरणलाई उनलाई ठूलै धक्का दिन सक्ने देखिएको छ ।

Rajendra-Nath Rajendra-Nath-1

दृष्टिबाट साभार

%d bloggers like this: