एकल साँझ गर्न लाग्नुभा’छ रे ?
हो नि । हामी गायकहरूको त सपनै हो नि एकल साँझ । सक्नेले दुई–तीन पटक गर्छन् । हामीजस्तालाई चाहिँ एक पटक भए पनि गरौँ भन्ने लाग्छ ।
कहाँ हुनेछ तपाईंको त्यो कार्यक्रम ?
फागुन २९ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुनेछ । कार्यक्रमबाट उठेको रकमको ५० प्रतिशत मैले एउटी चेपाङ बालिकाको पढाइका लागि खर्च गर्नेछु ।
एकल साँझ गर्दा मनग्गे कमाइन्छ कि क्या हो ?
खै ? मैले पनि पहिलो पटक गर्न लाग्दै छु । टिकटको बिक्रीदर हेर्दा चाहिँ रामै्र होला जस्तो छ ।
गायकगायिकाहरू ‘एल्बम बिक्दैन, हालत नाजुक छ’ भन्छन् । तपाईं भने समाज सेवा गर्न तम्सिनुभा’छ…
हामी पीडित छौँ । तर, हामीभन्दा पनि पीडित मान्छे थुपै्र छन् नेपालमा । आफूले सकेको सहयोग गरौँ भन्ने लागेर यसो गर्न लागेको हुँ ।
तपाईंका गीतसंगीतको हालत चाहिँ के छ नि ?
एकल साँझको ध्याउन्नमा गीतसंगीतलाई अलि साइड लगाएको छु अहिले । पछिल्लो पटक निकालेका ‘मायालु हजार’, ‘भन्देऊ के हो माया ?’ बोलका गीत चलिरा’छन् ।
लोकगीतमात्रै गाउनुहुन्छ । किन होला ?
लोकगीत भनेको नेपालको संस्कृति हो । आफू त फेरि लोक धुन नै सुनेर हुर्कियो । कानले तिनै धुन रुचाउँछन् । गाउँछु पनि त्यही ।
लोकदोहोरी गाउनेलाई हेप्छन् रे नि ?
संस्कार नहुनेहरूले त्यसो गर्छन् । तर, मैले चाहिँ आजसम्म त्यस्तो अनुभव गरेको छैन ।