Wed. Apr 24th, 2024

काठमाडौँ, १४ फागुन । युनेस्को संस्थाहरुको राष्ट्रिय महासंघ नेपालले ‘सबैका लागि शिक्षा’ मा नेपालका लागि सद्भावनादूतमा भारतका प्रसिद्ध गायक तथा संगीतकार बप्पी लहिरीलाई नियुक्ती कानुनी रुपमा गलत ठहर गरेको छ । महासंघले बुधबार पत्रकार सम्मेलन गरी यस्तो बताएको हो ।

सो संस्थाका अध्यक्ष डम्बरवीर थापा रहेकामा नक्कली अध्यक्ष हरिवंश किराँत, महासंघको नक्कली प्रमुख सल्लाहकार विनोद खेतवात बनेर लहिरीलाई सद्भावनादूत बनाएको भन्दै गलत भएको महासंघले जनाएको छ । महासंघका अध्यक्ष थापाले १० फागुनमा विभिन्न पत्रपत्रिकामा समाचार आएपछि मात्र संस्थालाई त्यसबारे जानकारी भएको बताए । उनले किराँत र प्रमुख सल्लाहकार खेतवात दुवैजना नक्कली व्यक्ति र एकजना महासंघका महासचिव आनन्दराज त्रिपाठीले संस्थाको निर्देशन बिना सो काम गरेको आरोप लगाए । भारतीय प्रख्यात गायक तथा संगीतकार लहिरीलाई कानुनी रुपमा गलत काम गरेर सद्भावनादूत घोषणा गरी उनको व्यक्तित्वमा नराम्रो प्रभाव पर्ने खालको काम गर्ने व्यक्तिलाई कडा कारबाही गर्नुपर्ने मागसमेत राखेका छन् । कार्यक्रममा युनेस्कोको लोगो तथा नामसमेत दुरुपयोग भएको अध्यक्ष थापाले बताए । युनेस्कोले स्थापनाकालदेखि नै शिक्षा, संस्कृति, विज्ञान, आमसञ्चार, शान्ति शिक्षाजस्ता अन्य सामाजिक क्षेत्रमा काम गर्दै आएकाले सो संस्थाको बदनाम गर्ने काम भएको महासंघले जनाएको छ ।

%d bloggers like this: