Thu. Apr 25th, 2024

काठमाडौं, १३ फागुन । उदार बन्दै गइरहेको नेपाली समाजमा देखिएको बिकृत यौनप्रवृतिका बिषयमा निर्माण गरिएको फिल्म ‘जिगोलो’ (पुरुष बेश्या) १६ फागुनदेखि प्रदर्शन हुने भएको छ ।

यादव सिलवालको निर्देशन तथा राजु श्रेष्ठ र प्रभाकर श्रेष्ठको निर्माणमा बनेको जिगोलोमा मनोरञ्जनका साथै समाज उपयोगी सन्देश रहेको दावी निर्माण पक्षको छ । बेश्या भन्नाले महिलाको मात्रै उछितो काटीने गरिन्छ तर यही समाजमा ब्याप्त हुँदै गएका बेश्या पुरुषको बारेमा कसले औला उठाउने ? फिल्म जिगोलोले यिनै प्रश्न तेर्साएको निर्देशक यादव सिलवाल बताउँछन् । ‘समाजभित्र मौलाउदै गएको बेश्या पुरुषको पर्दाफास गर्ने कोसिस गरेका छौं,’ निर्माता एवं नायक प्रभाकरले फिल्ममा जिगोलोको भूमिका गरेपछि भने, ‘राज्यले यौनलाई ब्यवस्थित गर्ने की नगर्ने ? के यौनलाई सँधै कुण्ठित नै राख्ने ? यिनै कुरा छन् फिल्ममा ।’
कसैलाई पुरुष बेश्या भन्दा उनमा कस्तो मनोबैज्ञानिक असर पर्छ भन्ने सन्देश समेत प्रस्तुत गरिएको बताइने फिल्ममा प्रभाकर श्रेष्ठ, जिया केसी, माही सिलवाल, प्रतिमा श्रेष्ठ, राजु श्रेष्ठ र शैलेश पहारी प्रमुख भूमिकामा छन् । रत्न कार्कीले खिचेको फिल्ममा अर्जुन पोखरेलको संगीत छ ।
नायक प्रभाकर जिगोलोबाट निकै आशावादी छन् । यसअघि भनिदेऊन माया गर्छुमा अभिनय गरेका उनी समाजलाई सकारात्मक सन्देश दिने फिल्म भएकाले आफ्नो कामको तारिफ हुनेमा बिश्वस्त भएको बताउँछन् । भारतका बिभिन्न स्थानमा समेत छायांकन गरिएको फिल्मको निर्माता राजु श्रेष्ठ हुन् । फिल्म राजधानी र मोफसलका झण्डै ७० हलमा हलमा एकसाथ प्रदर्शन हुने जानकारी निर्देशक सिलवालले दिएका छन् ।

%d bloggers like this: