Fri. Apr 19th, 2024

काठमाडौं, फागुन १२ । बलिउडमा ‘खेलाडी’ का नामले चर्चित छन्, अक्षय कुमार । ‘एक्सन हिरो’को रूपमा करिअरको सुरुवात गरे पनि उनको ‘रोमान्टिक हिरो’ को छवि र ‘कमेडी’लाई पनि दर्शकले त्यति नै मन पराएका छन् । मध्यमवर्गीय परिवारमा जन्मेका थिए उनी । छोरो एक दिन बलिउडको ‘सुपरस्टार’ बन्छ भन्ने सरकारी जागिरे बुवाले सपनामा पनि सोचेका थिएनन् । उनको वास्तविक नाम राजीव हरिओम भाटिया थियो । अमृतसरमा जन्मेका उनी बाल्यकालमै मुम्बई सरेका थिए । सानैदेखि डान्स र कलामा रुचि राख्ने उनी तेक्वान्दोमा पनि दक्खल राख्थे । तेक्वान्दोमा ब्ल्याक बेल्ट हासिल गरेपछि मार्सल आर्टको तालिम लिन उनी थाइल्यान्डतिर लागे । थाइल्यान्डमा उनले पहिला वेटर र पछि कुकको काम गरेर आफ्नो गर्जो टारेका थिए । ‘त्यो काम गर्दा मैले धेरै अपमान सहनुपरेको थियो,’ एक अन्तरवार्तामा अक्षयले भनेका थिए, ‘तर, हरेक मानिसले यसरी नै अनुभव बटुल्छ । ती दिनले मलाई जीवन जिउने पाठ सिकाएका छन् ।’
मार्सल आर्टको तालिम सकिएपछि उनी मुम्बई फर्किए र मार्सल आर्ट सिकाउन थाले । यसैबीच उनको एउटा विद्यार्थी, जो फोटोग्राफर पनि थियो, ले अक्षयलाई मोडलिङ गरायो । दुई घण्टाको फोटोसुटबाट उनले पाँच हजार भारु कमाए । जब कि त्यतिबेला उनको मासिक आम्दानी चार हजारमात्र थियो । मोडलिङमा बढी पैसा देखेर अक्षयको ध्यान त्यतातिर तानियो । यही उनको जीवनको सबैभन्दा ठूलो ‘टर्निङ प्वाइन्ट’ साबित भयो ।
वेटर, कुक, मार्सल आर्ट गुरुदेखि बलिउडसम्मको यात्रा अक्षयका लागि सजिलो भने पक्कै पनि थिएन । फिल्ममा काम पाउनका लागि उनले निकै संघर्ष गर्नुप¥यो ।
सन् १९९० मा राजेश खन्नाले ‘जय शिव शंकर’ फिल्म बनाउने घोषणा गरेको थिए । कामका लागि निर्माता–निर्देशकको दैलो चहार्दै गरेका अक्षय पनि राजेश खन्नाकोमा पुगेका थिए । खन्नालाई भेट्न जाँदा उनी आफ्नो केबिनमा थिए र काम माग्न आएका अरू केटाहरूसँग व्यस्त थिए । अक्षयले तीनचार घण्टासम्म पालो कुरे तर उनको नम्बर आएन । अक्षय त्यहाँबाट निराश फर्किए । यसरी भेट्न नपाई रित्तो हात राजेश खन्नाको अफिसबाट फर्केका अक्षय भविष्यमा उनकै ज्वाइँ बने । निर्माता निर्देशक प्रमोद चक्रवर्तीले उनलाई पत्याए र फिल्म ‘दिदार’ मा हिरोको रोल दिए । तर, उनको पहिलो रिलिज फिल्म भने ‘सौगन्ध’ थियो । उनका सुरुका फिल्म एकपछि अर्को असफल भएका थिए । एक्सन थ्रिलर फिल्म ‘खिलाडी’ ले उनलाई वास्तविक पहिचान दिलायो । फिल्म सुपरहिटमात्र भएन यसपछि अक्षय ‘खिलाडी’ टाइटलका ब्रान्ड एम्बेसडरजस्तै भए । खेलाडी शृंखलाका सबै फिल्ममा भरपूर एक्सन थियो, जसमा धेरैजसो स्टन्ट अक्षय आफैँले गरेका थिए । ‘खिलाडियोँ का खिलाडी’, ‘सबसे बडा खिलाडी’, ‘इन्टरनेसनल खिलाडी’ जस्ता फिल्मले बलिउडमा अक्षय कुमारलाई एक्सन हिरोका रूपमा स्थापित गरिदियो । सन् १९९४ मा आएको ‘मोहरा’ फिल्मलाई अक्षयको करिअरका सबैभन्दा राम्रा फिल्ममध्ये एक मानिन्छ ।
एक्सनका साथै उनले रोमान्टिक फिल्ममा पनि काम गरेका छन् । फिल्ममा एक्सन र रोमान्स दुवैलाई सही ढंगले प्रस्तुत गर्न उनी खप्पिस छन् । उनको यही क्षमताले उनलाई बलिउडका टप हिरोको श्रेणीमा पु¥यायो । सन् १९९७ मा यश चोपडाको ‘दिल तो पागल है’ रोमान्टिक फिल्मका सहअभिनेताको रूपमा उनी पहिलो पटक ‘फिल्म फेयर अवार्ड’मा नोमिनेसनमा परे । ‘संघर्ष’ र ‘जानवर’ फिल्ममा उनको कामको धेरैले प्रशंसा गरे ।
एक्सन फिल्ममा करिअर ओरालोतिर लागेपछि उनले कमेडीमा आफ्नो सिक्का जमाउन खोजे । एक्सन फिल्ममा हानमार र स्टन्ट गर्दै गरेका देखिने अक्षयले ‘हेराफेरी’ मा राजुको भूमिकामा दर्शकलाई पेट मिचीमिची हँसाए । त्यसै वर्ष उनको अर्को फिल्म ‘धड्कन’ पनि हिट भयो । ‘मुझसे शादी करोगी’ मा उनी सलमानसँग कमेडी गर्दै देखापरे । यसपछि अक्षयका गिन्ती यस्ता कलाकारका रूपमा हुन थाल्यो, जसले सबै किसिमका भूमिका गर्न सक्छ । यही उनको ठूलो सफलता थियो । यसका लागि उनले १७ वर्षसम्म मेहनत गरे । करिअरको सुरुवातमा धेरैले उनलाई ‘आया राम, गया राम’ जस्तो हिरो ठान्थे । तर, उनले असफलताको स्वाद चाख्दै सफलतासम्मको यात्रा गरे र बलिउडमा आफ्नो छुट्टै पहिचान बनाए । मुम्बईको षडमुखानन्द हलमा समूहमा एक नृत्य प्रस्तुतिबापत सय रुपैयाँ पारिश्रमिक कमाएका अक्षयका फिल्मले अहिले करौडौँ कमाउने गरेका छन् ।
रिल लाइफमा रोमान्टिक हिरोको भूमिका गर्ने अक्षय रियल लाइफमा पनि प्रेमी मिजाजका कारण सदैव चर्चामा रहिरहे । रविना टन्डन, रेखा, आयशा जुल्का, पूजा बत्रा, शिल्पा सेट्टी, प्रियंका चोपडाजस्ता हिरोइनसँग उनको नाम जोडियो । तर, उनले रिल लाइफकी पार्टनरलाई आफ्नो रियल लाइफको पार्टनर बनाए । उनले बलिउडको प्रख्यात जोडी राजेश खन्ना र डिम्पल कपाडियाकी छोरी ट्वीङ्कलसँग बिहे गरे । करिअरको सुरुवातमै उनी ट्वीङ्कलको प्रेममा परिसकेका थिए । ‘इन्टरनेसनल खिलाडी’ को सेटमा उनीहरू एकअर्काप्रति आकर्षित भए । त्यतिबेला सुरु भएको उनीहरूबीचको आकर्षण फिल्म ‘जुल्मी’ मा प्रेममा परिणत भयो । लामो समयको अफेयरपछि उनीहरूले सन् २००१ मा चुपचाप बिहे गरे । समारोहमा परिवारका सदस्यमात्र उपस्थित थिए । अक्षय र ट्वीङ्कललाई बलिउडमा आदर्श दम्पती मानिन्छ ।
सन् २००१ मा ‘अजनबी’ मा नेगेटिभ रोलका लागि उनले फिल्म फेयर अवार्ड जिते । ‘बेस्ट भिलेन’ मा उनले अवार्ड जितेका हुन् । यस्तै, सन् २००६ मा उनले फिल्म ‘गर्म मसाला’ का लागि ‘बेस्ट कमेडियन’ तर्फ फिल्म फेयर अवार्ड जितेका थिए ।

शुक्रवारबाट

%d bloggers like this: