Thu. Mar 28th, 2024

सन् २०१३ को अन्तिम दिन अर्थात् डिसेम्बर ३१ देखि ‘वायुभन्दा माथि’ शीर्षकको चलचित्र चीनभरि औपचारिक रूपमा देखाउन थालिएको छ । यस चलचित्रलाई चीनका युवा निर्देशक थङ्ग व्हा थाउ र ताइवानमा पुरस्कार पाएकी वरिष्ठ पटकथा लेखिका पाउ चिङ्ग चिङ्गले संयुक्त रूपमा बनाएका हुन् । चिनियाँ चलचित्र मञ्चमा रहेका दुईजना सक्रिय युवा अभिनेता चिङ्ग पो रान र युवा अभिनेत्री नी नीले चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका छन् । नेपालमा सुटिङ गरिएको यस चलचित्रले चीनमा अहिले लोकप्रियता कमाइरहेको छ ।

3

चलचित्रमा यस्तो कथा लेखिएको छ ः केही युवा युवतीबाट गठित एउटा पर्यटन टोलीले सारा विश्वको सबैभन्दा सुखी मुलुक मानिने नेपालको अवलोकन गर्ने ‘सुखमय यात्रा’ थालेका छन् । ती यात्रामध्ये मीठा खाने कुरासम्बन्धी विशेष लेखिका छङ्ग यु मङ्ग, धनी परिवारका छोरा वाङ्ग छान र भर्खरै विश्वविद्यालयबाट स्नातक युवती ली र स्युए छन् । यसबाहेक, आ–आफ्नो परिवारमा बारम्बार झगडा र विवाद मौजुद रहेका महिला र सुन्दर फोटो खिच्नुलाई मुख्य उद्देश्य बनाएका फोटोग्राफरहरू पनि समावेश छन् । के भन्न सकिन्छ भने त्यस पर्यटन टोलीका सदस्यको भिन्नाभिन्नै किसिमका समस्य रहेका छन् । घुम्नका लागि उनीहरू जम्मा भएर रमणीय मुलुक नेपालतर्फ प्रस्थान गर्छन् ।
पर्यटन टोलीले सुरुवातदेखि अनेकन कठिनाइहरूको सामना गर्नु परेको छ । जस्तै, टोली स्थापना गरिएपछि तुरुन्तै तत्स्थानमा बिघटन गरिएको छ, मध्यरात बस्दाखेरी होटेलमा विद्युत् विच्छेद गरिएको, चुचुरोमा अवस्थित सानो अतिथि भवनमा बसेको डरलाग्दो अनुभव र तत्स्थानमा डामाडोल गतिविधि भेटिएका घटनाहरू हुन् । जति जटिल कठिनाइ भेटिए पनि टोलीका सदस्यले एकले अर्काको ख्यालविचार गर्नुका साथै आपसमा सक्दो ठूलो सहयोग गरेका छन् । अनेकन जटिल घटनाहरू उत्पन्न हुने क्रममा प्रत्येक सदस्यले आफ्नो साँचो अनुहारलाई अरुसमक्ष देखाएका छन् ।

5
नेपाल छाड्नुअघिको अन्तिम दिनमा मुख्य पात्र अर्थात् वाङ्ग छान नामका धनी युवकले टोलीका अन्य सदस्यलाई प्याराग्लाइडिङ्ग खेल्न निमन्त्रणा दिएका छन् । उनीहरू प्याराग्लाइडिङ्ग बोकेर चुचुरोको किनारमा उभिंदा मनमा साह्रै डर उत्पन्न भएको देखिएका छन् । त्यस्तो अवस्थामा प्रशिक्षकले पहाडअगाडिको वनतिर औंल्याएर भन्छन् ः हतार गर्नु पर्दैन, हामी वायुलाई पर्खन्छौं । केही समय पर्खेपछि अगाडिका रुखहरू वायु बहेसँगै हल्लिन थालेको देखिन्छ । त्यतिबेला सो टोलीका सबै सदस्यहरू सफलताका साथ नीलो आकाशमा उडेका छन् ।
आकाशमा उडिरहेको बेला हरेक मान्छेको मनमा विभिन्न किसिमको भावना आएको छ । वास्तवमा जीवनको यात्रा होस् वा सामान्य जीवन बिताउँदा कुनै निर्णय वा परिवर्तन गर्ने सवालमा हतारिनु हुँदैन । विशेषतः जीवनको किनारमा पुग्दा कुनै दिशातिर जानुको सट्टा शान्त भएर वायुलाई पर्खनु अझ उपयुक्त हुन्छ ।
छुट्टै विशेषतायुक्त प्याराग्लाइडिङ्गको अनुभव गरेपछि हरेक मानिसले यथावत रूपमा आ–आफ्नो सामान्य जीवनलाई निरन्तरता दिनुपर्छ । तैपनि केही रोचक र बिर्सन नसकिने स्मरणहरू पछिका दिनहरूमा उनीहरूको दिमागमा आउने सम्भावना हुन्छ । आगामी दिनहरूमा उनीहरू शान्त भएर वायुको आवाज आ–आफ्नो कानछेउ पुनः सुन्नका लागि पर्खनेछन् ।
‘वायुभन्दा माथि’ शीर्षकको चलचित्रमा पाँच खण्डको चार खण्डका दृश्यहरू नेपालका विभिन्न ठाउँमा खिचिएको हो । सन् २०१३ को मार्च ३ का दिन ‘वायुभन्दा माथि’ शीर्षकको चलचित्र छायांकन गर्ने कार्य नेपालको चितवनमा औपचारिक रूपमा सुरु भएको थियो । अनि चलचित्र छायांकन टोलीले अघिपछि गरी नेपालका चितवन, पोखरा र राजधानी काठमाडौंमा शृंखलाबद्ध रमणीय दृश्यहरू खिचेका थिए । मे २३ का दिनसम्म चितवन, पोखरा, काठमाडौं र शाङ्गहाई यी चार ठाउँमा रहेका चलचित्रका शाखा तयारी टोलीहरूको काम सम्पन्न भएको थियो ।

1
सन् २०१३ को डिसेम्बर २६ का दिन ‘वायुभन्दा माथि’ चलचित्रले पैचिङ्गमा प्रथम प्रसारण समारोहको आयोजना गरेको थियो । त्यस समारोहमा निर्देशक थङ्ग व्हा थाउ, पटकथा लेखिका पाउ चिङ्ग चिङ्ग, खानेकुरा सम्बन्धी विशेष लेखिका छङ्ग यु मङ्गको अभिनय गरेकी युवा अभिनेत्री नी नी र धनी परिवारका छोरा वाङ्ग छानको अभिनय गरेका युवा अभिनेता चिङ्ग पो रानको उपस्थिति थियो । उनीहरूले सञ्चार माध्यमसमक्ष चलचित्र बनाउने क्रममा देखा परेका विभिन्न रोचक घटनाहरूबारे जानकारी दिएका थिए । सन् २०१३ को अन्तिम दिन अर्थात् डिसेम्बर ३१ देखि ‘वायुभन्दा माथि’ चलचित्र चीनभरि एकैसाथ औपचारिक रूपमा प्रसारण गरिएको छ । यो चलचित्रले चीनमा राम्रो बजार लिएको छ ।

4
(हट नेपाल म्यागजिनबाट)

%d bloggers like this: