Fri. Apr 19th, 2024

काठमाडौं ,माघ १९ । फिल्म ‘कालो पोथी’ (बल्याक हेन)को स्क्रिप्टले स्वीजरल्याण्डको प्रतिष्ठित फन्ड ‘भिजन सुद’ प्राप्त गरेको छ । विभिन्न देशका सयभन्दा बढी स्क्रिप्टहरुलाई उछिन्दै ‘कालो पोथी’ फिल्मको स्क्रिप्टले ५० हजार स्विस फ्र्यांक अर्थात करिब ५५ लाख रुपैयाँ जितेको हो ।
आइतबार काठमाडौं अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रले सो सहयोग प्राप्त गरेको औपचारिक जानकारी गराइएको हो । चलचित्रका निर्देशक मीनबहादुर भामका अनुसार अबको १८ महिनामा फिल्मको सुटिङ थालिसक्नु पर्नेछ । जनयुद्वको बेला जुम्लामा घटेको कथामा आधारित रहेर बन्ने चलचित्रको अनुमानित बजेट एक करोड पच्चिस लाख हुने बताइएको छ । फिल्म निर्माणमा मिला प्रोडक्सनका तर्फबाट छिरिङरितार शेर्पा र शुन्य फिल्मस्को तर्फबाट देवकी राईले पनि लगानी गर्नेछन् ।
कलाकार तथा प्राविधिकहरुको छनौट हुन बाँकी नै रहेको यो चलचित्रका मुख्य पात्र भने दुई बालकहरु हुनेछन् । दुर्गम गाँउका दुई कलिला केटाकेटीहरुले लिएको समान लक्ष्य, उनीहरुले भोग्ने घट्नाक्रमसँगै विविधतामा एकताको मुल मर्मलाई चलचित्रले उठान गर्ने कुरा चलचित्रका निर्देशक बताउछन् । जातिय र बर्गीय बिभेदको कुरा चलचित्रले बोल्ने बताइएको छ ।
कालो पोथी निर्देशक मीनबहादुर भामको पहिलो फिचर फिल्म हुनेछ । उनले निर्देशन गरेको सटफिल्म ‘बाँसुल्ली’ सन् २०१२ को भेनिस फिल्म फेस्टिभलमा सहभागी भएको थियो । ‘यो फन्ड प्राप्त गर्नु भनेको कालो पोथीले बास्तविक र औपचारिक अन्तर्राष्ट्रिय रिलिज हुने अवसर पाउनु पनि हो,’ निर्देशक मीनबहादुर भामले भने “यसले अरु नेपाली फिल्महरुका लागि पनि अन्तर्राष्ट्रिय बजारको ढोका खोल्नेछ ।” निर्देशक मीनबहादुरका अनुसार चलचित्रका प्राविधकहरु सबै नेपालकै हुनेछन भने चलचित्रमा साउण्ड डिजाईनर बिदेशबाट ल्याउने उनको योजना छ । दुई बर्ष लगाएर तयार पारिएको स्क्रिप्टलाई पर्दामा जीवन्त देखाउन कुनै कञ्जुस्याई नगरिने पनि निर्देशक बताउछन् । चलचित्र कालो पोथीलाई देशभरिका थिएटरहरुमा साथै बिदेशी फेस्टिबलमा पनि प्रर्दशन गरिने निर्माता ‘कालो पोथी’ फिल्म युनिट योजना छ ।
सन् २००५ मा स्थापना भएको ‘भिजन सुद’ कोषले ८६ फिल्मलाई सहयोग गरिसकेको छ । तीमध्ये ६० फिल्मले संसारका प्रतिष्ठित फिल्म फेस्टिभलहरुमा राम्रो उपस्थिति जनाइसकेका छन् । केहीले बर्लिनमा गोल्डेन बियर, सान सबास्टियनमा गोल्डेन कन्च, आबुदाबीमा ब्ल्याक पर्ल र ग्वाङ्जुमा गोल्डेन कापोकजस्ता अवार्ड जितिसकेका छन् ।

%d bloggers like this: