Thu. Apr 18th, 2024

काठमाडौं, १३ माघ । चलचित्र ‘भीमदत्त’ मा भीमदत्तकै भूमिका कसले गरेका छन् ? अहिलेसम्म भीमदत्तको भूमिकामा नवल खड्का देखिँदैछन् भन्ने छ तर चलचित्र प्रदर्शनमा आएपछि निशा अधिकारीलाई भीमदत्तको भूमिका देखिए अचम्म मान्नुपर्दैन ।
सोमबार चलचित्रका निर्मातासमेत रहेका नवलले ‘भीमदत्त’ को डबिङ सकिएको जानकारी गराउन पत्रकारलाई महाराजगञ्जस्थित रेड स्टुडियोमा निम्ताएका थिए । डबिङको अन्तिम दिन अभिनेत्री निशा अधिकारीको पनि डबिङ राखिएको थियो तर उनी निर्धारित समयभन्दा एक घण्टा ढिला आएपछि त्यसअघि रमेश बुढाथोकीले डबिङ गरेका थिए । उता स्टुडियोमा नवलले डबिङ गर्दैगर्दा निशाले चलचित्रका निर्देशक हिमग्याप टाँसी शेर्पालाई खुसुक्क कानमा भन्दै थिइन्, ‘वास्तवमा म नै हुँ भीमदत्त तर सबै (डेडेलधुराका जनता, जहाँ भीमदत्तको सुटिङ भएको थियो) भीमदत्त को हुन् भन्नेमै दुविधामा छन् ।’
हिमग्याप टाँसी शेर्पा निर्देशित ‘भीमदत्त’ भीमदत्त पन्तको राजनीति जीवनमा आधारित चलचित्र हो । २००७ सालमा राणा शासनविरुद्ध आवाज उठाँदै न्याय तथा स्वतन्त्रताका लागि लडेका भीमदत्तको २०१० साल साउन १० गते हत्या गरिएको थियो । भीमदत्तलाई उनका जन्म गाउँ डडेलधुरा तथा सुदुरपश्चिममा न्याय प्रतिमूर्तिका रुपमा लिन्छन् तर अहिलेसम्म राज्यले भीमदत्तलाई सहिद घोषणा गरेको छैन । यसै विषयलाई कथानक रुपमा उतारिएको चलचित्र हो ‘भीमदत्त’ । नवलले अहिलेसम्म आफूले निर्माण गरेका चलचित्रहरु भन्दा ‘भीमदत्त’ फरक  रहेको दावी गर्छन् ।
यसअघि माया बसेछ, आवाज र दसगजाजस्ता चलचित्र निर्माण गरेका नवलले आफूलाई फरकधारको चलचित्र निर्माण गर्ने निर्माताका रुपमा लिन्छन् । उनले ‘भीमदत्त’को पहिलो च्यारिटी शो हङकङमा गर्ने भएका छन् । उनका अनुसार १८ फागुनमा हङकङमा च्यारिटी हुँदैछ भने त्यसपछि निरन्तर एक सय स्थानमा च्यारिटीका लागि निश्चित भएको छ । चलचित्रमा नवल खड्का, निशा अधिकारी, सुमिना घिमिरे, श्रीराम पुडासैनी, रमेश बुढाथोकीलगायका कलाकारको मुख्य अभिनय छ ।

%d bloggers like this: