Fri. Apr 26th, 2024

काठमाडौं, ११ माघ । चलचित्र ‘प्रोड्युसर’ को प्रदर्शन मिति धरैदिन छैन । ‘प्रोड्युसर’ १७ माघबाट देशभर प्रदर्शनमा आउँदैछ तर प्रदर्शन मिति नजिकिँदै जाँदा चलचित्रका प्रोड्युसरलाई भने तनाव बढ्न थालेको छ ।
‘प्रोड्युसर’ का प्रोड्युसरमध्ये एक ज्योतिराज राई शनिबार पुतलीसडकस्थित आर.सी पिक्चर्समा निकै तनावमा भेटिए । उनी भन्दै थिए, ‘चलचित्र प्रदर्शन हुने दिन आइसक्यो तर केही गर्नै भ्याइएको छैन ।’
त्यसो त ज्योतिराजलाई तनाव हुनु सामान्य नै हो किनकि, चलचित्र प्रदर्शन गर्ने समयमा निर्देशकदेखि कलाकारसम्म चौपट छन् । ‘प्रोड्युसर’ का निर्देशक जनकदीप पराजुली आफ्नै तालमा दुबईमा चलचित्र प्रदर्शन गरिरहेका छन् । चलचित्रका मुख्य कलाकारमध्ये विल्सनविक्रम राई र श्वेता भट्टराई पोखरामा छन् । ‘प्रोड्युसर’ का हिरो श्याम अर्याललाई पोस्टरिङ र पम्प्लेटिङ तथा मिडिया को–अडिनेशनमै भ्याईनभ्याई छ । चलचित्रकी हिरोइनमध्ये एक पायल रायमाझीलाई मतलव नै छैन । यस्तो अवस्था आएपछि प्रोड्युसरलाई तनाव हुनु सामान्य नै हो ।
हुनु त यतिखेर सबैलाई उत्तिकै तनाव हुनु पर्ने हो तर अहिले निर्माता राजकुमार राई र ज्योतिराजलाई मात्र बढी तनाव भएको देखिन्छ । निर्देशक जनकदीपको त कुरै छाडौं । उनी ‘प्रोड्युसर’ प्रदर्शन भइसक्दा पनि नेपाल आइपुग्ने सम्भावना कम देखिन्छ । त्यसो त जनकदीपको यो पहिलो निर्देशित चलचित्र हो तर उनी दुबईमै रुमलिरहेका छन् । ‘प्रोड्युसर’ नेपाली चलचित्र क्षेत्रकै विषयवस्तु बोकेको चलचित्र हो । तर संयोगवस, चलचित्रले जस्तो विषयवस्तु चित्रण गरेको छ, त्यो अवस्था अहिले ‘प्रोड्युसर’कै प्रोड्युसरले बेहोरिरहेको अवस्था छ ।

producer-movie-poster

%d bloggers like this: