Thu. Mar 28th, 2024

काठमाडौं, माघ ५ । रंगमञ्चका अब्बल कलाकार\निर्देशक तथा फिल्मका राम्रो अभिनेता अनुप बरालले फिल्म निर्देशन गरेका छन् । फिल्म निर्देशक बन्ने पूर्वसोच विना उनी निर्देशक बनेको आफैले खुलाएका छन् । भन्छन्, ‘मलाई निर्देशक बनाउने षड्यन्त्र भयो ।’
आइतवार आयोजित उनी निर्देशित फिल्म ‘फिटकिरी’को पत्रकार सम्मेलनमा बोल्दै निर्देशक अनपुले यस्तो बताएका हुन् । ‘वास्तवमा षड्यन्त्र भन्ने शब्द राम्रो मानिदैन तर ममाथि षड्यन्त्र भएर निर्देशक भएँ, राम्रोका लागि पनि षड्यन्त्र हुँदो रहेछ !’ अनुपले ठट्टा गरे । उसो त यसका निर्माता अर्जुनकुमार पनि अनुपलाई फिल्मको निर्देशक होइन, हिरो नै बनाउन चाहन्थे । अर्जुन भन्छन्, ‘मैले उहाँलाई फिल्मको हिरो बनाउने सोचेको थिएँ, त्यही अनुसार कुरा भएको थियो ।’
फिल्मका लेखक, निर्माता र अनुप सँगै भएका बेला निर्देशक कसलाई लिने भन्ने छलफल चलेछ । लेखक यज्ञशले अनुपलाई संकेत गर्दै भनिदिए, ‘आफ्नै अघि निर्देशक हुँदा हुँदै अर्काे निर्देशक किन खोज्नुहुन्छ, अर्जुनजी ।’ अर्काे भेटमा छायांकर पुरुषोत्तम प्रधानले पनि त्यही कुरा दोहो¥याएपछि अर्जुनले अनुपलाई निर्देशक बन्न जोड गरे । फिल्मको कलाकारका लागि कुरा गर्न आएका अनुप निर्देशकको जिम्मेवारी लिएर फर्किए । शुरुमा फिल्मको निर्देशकका रुपमा दयाहाङ राईलाई लिने अर्जुनकुमारको योजना रहेको पनि अनुपले खुलाई दिए ।
माघ ७ गते रिलिज हुने फिल्ममा सौगात मल्ल, दीया मास्के, निश्चल बस्नेत, शान्ति गिरी, लक्ष्मी गिरी, धिरेन्द्र प्रेमर्शीलगायतका कलाकार ले अभिनय गरेका छन् । निर्माणमा अर्जुनकुमारसँग सुमित मैनालीले सहकार्य गरेका छन् ।
आइतवार फिल्मको पोष्टर, अडियो र गीतको भिडियो सार्वजनिक गरिएको हो ।

Phetkeri

%d bloggers like this: