Sat. Oct 26th, 2024

अमेरिकी नागरिक अलेक्ज्यान्डर गुर्बुनोभ ३८ वर्षका भए । हलिउडनिवासी उनले विवाह गर्न खोजेको एक वर्षभन्दा बढी भइसक्यो । कन्याको खोजीमा रहेका उनले विज्ञापनका लागि अखबार या अनलाइनलाई माध्यम बनाएनन् । माध्यम बनाए त आफ्नो कारलाई ।
आफ्नो कालो बीएमडब्लू कारको पछाडिको सिसामा उनले पहेँलो पोस्टर टाँसेका छन्, जसमा लेखिएको छ– ‘पत्नीको खोजीमा छु ।’ त्यसमा उनको मोबाइल नम्बर पनि लेखिएको छ । एक वर्षदेखि उनी यही कार लिएर घुमिरहेका छन् ।
‘मैले मोबाइलमा पाँच सयभन्दा बढी सन्देश प्राप्त गरेको छु,’ उनले एबीसी न्युजलाई भने, ‘एकै दिनमा २ सय ५० भन्दा बेसी कल पाएको छु । जमैका, ब्राजिल, स्विट्जरल्यान्ड र फिनल्यान्डसम्मका महिलाले फोन गरेका छन् मलाई ।’
अलेक्ज्यान्डर मिस्त्री हुन् । चार वर्षअघि उनी रुसको राजधानी मस्कोबाट अमेरिका आएका थिए । ‘अनलाइन डेटिङ सर्भिस र केटी खोज्ने परम्परागत प्रक्रिया मलाई खासै राम्रा लाग्दैनन्,’ उनले भने, ‘म केही अनौठो र नयाँ गर्न चाहन्थेँ । त्यसका लागि मैले आफ्नो कारलाई माध्यम बनाएँ ।’
छ वर्षअघि मस्कोमा हुँदै उनले यसरी पत्नीको खोजी गर्न थालेका हुन् । तर, सफलता हात पारेका छैनन् ।
उनी ताल–तालका कल र सन्देश प्राप्त गर्छन् । ‘कहिलेकाहीँ मलाई पुरुषहरू फोन गर्छन् र भन्छन्, ‘मेरो पूर्वपत्नी तिमीलाई दिन्छु, हुन्छ ?’ धेरै जसो महिला विवाहभन्दा पनि मेरो कार र पैसाबारे जिज्ञासा राख्छन् ।’
कसैकसैले उनको यो गम्भीर खोजीलाई ठट्टामा उडाउने गरेका छन् । उनलाई यसमा कुनै आपत्ति पनि छैन । मनले खाएजस्ती युवती नपाएसम्म खोजी जारी रहने उनी बताउँछन् ।