Fri. Apr 19th, 2024

कुनैलाई पहिचान बनाउनै गाह्रो, कुनैलाई भने नामको भारी । धेरैथरि काममा हात हालेपछि आफूलाई के भनेर चिनाउँने त ? अहिले जानकी पन्थलाई यस्तै फसाद परेको छ । सुरुमा उनी गीतकारका रुपमा चिनिन्थिन् । त्यसैले उनलाई गीतकार जानकी भन्थे तर हिजोआज उनी गाउँछिन् र संगीत पनि गर्छिन् ।
गीतकार, संगीतकार  गायिकासम्म त ठिकै थियो नि, म्युजिक भिडियो निर्देशनसमेत गर्न थालेपछि अब आफूलाई के भनेर चिनाउने त ? उनी आफै दुविधामा छिन् । आफ्नो दुविधाको पोको उनैले खोलेकी हुन् । ‘खोई अब त आफूलाई के भनेर चिनाउने हो ?’ आइतबारे भेटमा जानकी भन्दैथिइन्, ‘म गीत मात्र लेख्दिनँ, संगीत पनि गर्छु अनि म्युजिक भिडियो निर्देशन पनि । एक थोक भए पो चिनाउनलाई पनि सजिलो, धेरै काम गरेपछि  गाह्रो हुँदोरहेछ ।’
पछिल्लो एल्बम ‘जित’ बाट गायिका बनेकी जानकीले धेरै कुरामा हात हालेपछि आफूलाई चिनाउन गाह्रै भइरहेको रहेछ भन्ने यतिखेर थाहा भयो, जतिखेर आफूलाई गायिका, संगीतकार, गीतकार र म्युजिक भिडियो निर्देशकका रुपमा चिनाइरहँदा एउटा कुरा भन्नै बिर्सिन् । ‘कम्पन म्युजिक एण्ड मूभि’ स्थापना गरेर संगीतको व्यापार गर्नतिर लागेकी जानकीले आफूलाई ‘अब कम्पनी मालिक पनि हुँ’ भन्नचाहिँ बिर्सिन् । जब ‘अब कम्पनी मालिक पनि त हो नि’ भनेपछि मात्र उनी झस्किन्, ‘ए हो त नि ।’

%d bloggers like this: