Fri. Mar 29th, 2024

केही दिनअघि मात्र २३ औं जन्मदिन मनाएकी अभिनेत्री केकी अधिकारी शनिबार राजधानीस्थित नयाँबजारको एक पाटी प्यालेसमा एचआईभी संक्रमित बालबालिकासँग देखिइन् । उनले सफलता एचआइभी शिक्षा सदनमा आश्रित १७ जना संक्रमित बालबालिकालाई आफू अभिनीत चलचित्र ‘वितेका पल’ देखाउने प्रतिवद्धतासमेत जनाइन् ।
मानवता संरक्षण मञ्चको आयोजनामा ‘एचआईभी संक्रमित राहत कोष’ स्थापनाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बनेकी केकीले भनिन्, ‘प्रदर्शनको पहिलो दिन म यी बालबालिकासँगै ‘वितेका पल’ हेर्नेछु ।’ उनले संरक्षण मञ्चले उपलब्ध गराएको जाडोका लताकपडासमेत बालबालिकालाई बाँडिन् । र, उनीहरुसँग सामुहिक तस्बिर पनि खिचाइन् । चलचित्रकी हिरोइनसँग तस्बिर खिच्न पाउँदा संक्रमित बालबालिका दंग देखिन्थे । साथै चलचित्रकी हिरोइनले सँगै ‘वितेका पल’ हेर्ने भनेपछि उनीहरु २६ पुसदेखि पर्खाईमा कछन् ।
सुरज सुब्बा नाल्बो निर्देशित सो चलचित्र २६ पुसदेखि एकसाथ देशभरबाट प्रदर्शनमा आउँदैछ । यतिखेर यसै चलचित्रको प्रमोसनमा रहेकी केकीले केही दिनअघि मात्र पत्रकारका माझ आफ्नो २३ जन्मदिन मनाएकी थिइन् ।
मानवता संरक्षण मञ्चका अध्यक्ष तथा गायक हेमन्त मोक्तानले एचआईभी संक्रमित बालबालिकाको शिक्षा र स्वास्थ्यका लागि कोष स्थापना गरेको बताए । कीर्तिपुरस्थित भत्केको पाटीमा रहेको सफलता एचआईभी शिक्षा सदनमा यी १७ संक्रमित बालबालिका अध्ययनरत छन् । उनीहरुलाई राजकुमार पुनले संरक्षण दिँदै आएका हुुन् । दाङ र डोल्पाबाट ल्याइएका ती संक्रमित बालबालिका अधिकांसका बाबुआमा छैनन् । शिक्षा सदनका अध्यक्ष पुनका अनुसार सबै बालबालिका संक्रमित बाबुआमाबाट जन्मिएका हुन् । उनीहरुका बाबुआमाले संक्रमणबाटै ज्यान गुमाइसकेका छन् ।

%d bloggers like this: