Thu. Mar 28th, 2024

‘बराह ज्वेलरी मिस लिम्बू–२०१३’ को दोस्रो अडिसनमा ५ युवती  छनोट भएका छन् । शुक्रबार राजधानीमा सम्पन्न अडिसनमा टिना योङहाङ, आशिका सम्बाहाम्फे, प्रज्वला नेम्बाङ, एलिना लिंदेन र प्रतिमा लिंदेन छनोट भएका हुन् । पूर्वमिस नेपाल माल्भिका सुब्बा, शनिश शाक्य, पत्रकार अशोकप्यासी राई, भाषाविद् माहोङ लावती र कृष्णा लिम्बूको निर्णायक मण्डलले पाँच प्रतियोगी अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरेको हो ।
याक्थुङ युथ एसोसिएसनद्वारा आयोजित ‘मिस लिम्बू’ को पहिलो अडिसन यसअिघि धरानमा सम्पन्न भइसकेको छ । युस्ता तथा लिम्बु जातिको मौलिक संस्कार र संस्कृतिप्रति जागरुक गराउने उदेश्यले आयोजना गरिएको मिस लिम्बूको धरान अडिसनबाट ९ युवती छानिएको आयोजकले जनाएको छ ।
लिम्बू समुदायका १६ देखि २५ वर्ष उमेर समूहका युवतीले सहभागिता जनाउन पाउने प्रतियोगितामा धरान अडिसनबाट मेरिना पोमु –इटहरी), दिव्या चेम्जोङ –धनकुटा), कुन्नी हाङस्रोङ (धरान), अञ्जना नाल्बो, मेरिना तुम्सा (धनकुटा), ताजेन वनेम फागो (मोरङ), सरिता पालुङवा (ताप्लेजुङ), युनिसा मादेन (इटहरी) र आशा लिवाङ (धरान) छानिएका छन् ।
यसपटक हङकङबाट समेत चार प्रतियोगी सहभागी हुन आयोजकले जनाएको छ । प्रतियोगितामा १८ युवती सहभागी गराउने संयोजक मिना सिंघकले जानकारी गराएकी छन् । आगामी ३ माघमा राजधानीस्थित राष्ट्रिय नाचघर जमलमा हुने फाईनलबाट प्रथम हुने प्रतियोगिले उपाधीसहित नगद ५० हजार पाउने आयोजकले जनाएको छ । त्यस्तै, फस्ट रनरअप र सेकेण्ड रनरअपले क्रमशः उपाधिसहित नगद २५ हजार र १५ हजार पाउने संयोजक बताइएको छ । प्रतियोगीहरुलाई पूर्वमिस नेपाल माल्भिका सुब्बाले कोरियोग्राफी गर्नेछिन् ।

%d bloggers like this: