Tue. Apr 23rd, 2024

मण्डला थिएटर, अनामनगरमा शुक्रवारदेखि नाटक ‘प्रयोगशाला’ मञ्चन हुने भएको छ। मण्डला थिएटर नेपालद्वारा गत असारदेखि असोजसम्म सञ्चालित अभिनय प्रशिक्षण कार्यक्रम ‘थिएटर ल्याब’का प्रशिक्षार्थीहरूलाई लिएर तयार पारिएको नाटक ‘इब्सन ल्याब’को परिमार्जन गरी ‘प्रयोगशाला’ बनाइएको हो। प्रसिद्ध नर्वेली नाटककार हेन्रिक इब्सनका प्रमुख नाटक तथा तिनका पात्रलाई लिएर तयार पारिएको नाटकले महिला–पुरुष सम्बन्ध र त्यसका मनोवैज्ञानिक जटिलताहरूको कथा भन्छ।
उन्नाइसौँ शताब्दीका विश्वप्रसिद्ध नाटककार हेनरिक इब्सन तत्कालीन समस्यामाथि नाटक लेख्न खप्पिस मानिन्छन्। इब्सनले समस्याका रूपमा उब्जाएका मुद्दा विशेष गरी तत्कालीन समाजमा विद्यमान लैंगिक भेदभाव आजको नेपाली समाजमा पनि सान्दर्भिक देखिने भएकाले मण्डलाले तिनै नाटकका दृश्यहरूलाई जोडेर यो प्रयोगात्मक नाटक तयार पारेको हो। इब्सनले नाटकमा समस्या भनेर देखाएका सम्बन्धहरूलाई सहअस्तित्वको सिद्धान्तले समाधान गर्न सकिने निष्कर्ष नाटकको रहेको छ। परिमार्जन गरिएको नाटकमा यसपालि मण्डला थिएटरका १५ जना कलाकारहरूको अभिनय रहनेछ। राजन खतिवडाको निर्देशन रहेको नाटक मण्डला थिएटरमा आगामी पुस १९ गतेसम्म साँझ साढे ४ बजे नियमित मञ्चन गरिनेछ। नाटकको परिकल्पना तथा आलेख समुना केसीको रहेको छ।

%d bloggers like this: