Fri. Apr 19th, 2024

बलिउड अभिनेता सलमान खान ‘ह्यान्डसम’ छन् । धेरै अभिनेत्रीलाई रजतपटमा स्थापित गराएर गुन लगाएका छन्, उनले । उनलाई चाहने युवती असंख्य होलान् । तर, आफूले चाहेका हरेक युवतीबाट बेदखल हुँदै आएका सलमान बलिउडमा ‘असफल प्रेमी’को पर्याय बन्न पुगेका छन् ।

पछिल्लो पटक अभिनेत्री कट्रिना कैफसँग सलमानको ‘अफेयर’ चल्यो । हलिउडका ब्राड पिट र एन्जेलिना जोलीको जोडीसँग उनीहरूको तुलना भयो । तर, कट्रिना केवल एक याम वसन्त बनेर आएकी रहेछिन्, सलमानको जीवनमा । अर्का अभिनेता रणवीर कपुरसँग ‘लभ’मा परेपछि कट्रिनाले सलमानसँगको सम्बन्ध तोडिन् । हराभरा हुँदै गएको सलमानको जीवन पुनः उराठलाग्दो भयो ।
त्यसयता सलमान ‘सिंगल’ छन् । उनलाई भजाएर बलिउडमा आफ्नो स्थान सुरक्षित गरेपछि कट्रिनाले कुनै बेला आफैँले ‘गडफादर’ मानेको सलमानलाई वास्तै गरिनन् । त्यसैले सलमानका फ्यान कट्रिनालाई कृतघ्न र निर्घिनी युवती सोच्छन् । कट्रिनाबारे सलमान के सोच्छन्, त्यो कसैलाई थाहा छैन किनकि उनी यस्ता विषयमा मुख खोल्दैनन् ।

मोडलिङ गर्दै आएकी कट्रिनालाई बलिउडमा काम गर्ने ठूलो इच्छा थियो । बलिउडको फलामे ढोका त्यति सजिलै कहाँ खुल्थ्यो र ? अनेक भनसुन गरेर सन् २००३ मा उनी फिल्म ‘बुम’मार्फत बलिउडमा झुल्किइन् । अमिताभ बच्चन, ज्याकी स्रफ, गुल्सन ग्रोभरजस्ता चिनिएका कलाकारसँग काम गरे पनि ज्यादै सस्तो भूमिकामा देखा परेकी कट्रिनाको छवि र क्षमतालाई ‘बुम’ले माथि उठाउन सकेन । ‘बुम’ हेर्नेहरूले फिल्ममा अर्धनग्न भएकी कट्रिनासँग ब्रा र पेन्टीले ढाकेको सुन्दरताबाहेक कला पनि छ भन्ने पत्तो नै पाएनन् ।
त्यत्तिकैमा कट्रिना र सलमानको भेट भयो । ‘मे ने प्यार क्युँ किया’ फिल्मका लागि अभिनेत्रीको खोजीमा रहेका सलमानले कट्रिनालाई भाग्य परीक्षा गर्ने अवसर दिलाइदिए । सलमानको धाप पाएपछि बलिउडमा जम्न कट्रिनालाई साह्रै सजिलो भयो । ‘हमको दिवाना कर गए’, ‘नमस्ते लन्डन’, ‘अपने’, ‘पार्टनर’, ‘वेलकम’, ‘सिङ इज किङ, ‘रेस’, ‘ब्लू’लगायत बक्स अफिसमा तहल्का मच्चाउन सफल फिल्ममा उनलाई काम गराउन सलमानले पर्दापछाडिबाट सक्दो सहयोग गरे । यसबीचमा उनीहरूबीचको सम्बन्ध प्रगाढ भएर प्रेममा परिणत भइसकेको थियो । तर, सन् २००९ मा रिलिज भएको फिल्म ‘अजब प्रेमकी गजब कहानी’मा कट्रिनाले काम गर्नु सलमानको प्रेम जीवनमा अर्को दुर्घटना बन्नपुग्यो । ‘अजब प्रेमकी गजब कहानी’का अभिनेता रणवीर कपुरसँग कट्रिनाले सम्बन्ध जोडिन् र फेरि पनि सलमानको प्रेम असफल भयो । आफूभन्दा १७ वर्ष जेठो सलमानसँगको ‘लङ टर्म रिलेसनसिप’प्रति कट्रिना कहिल्यै इमानदार थिइनन् र व्यावसायिक स्वार्थका लागिमात्रै उनी सलमानसँग नजिकिएकी थिइन् भन्ने आरोप उनीमाथि लाग्यो ।
कट्रिनासँग ‘ब्रेकअप’ भएपछि सलमानका फ्यानहरू सलमानभन्दा बढी दुःखी भए । धेरैले अभिनेत्री ऐश्वर्या रायसँगको सलमानको असफल प्रेम सम्झिँदै सोचे– ‘सलमान असफल प्रेमी रै’छन् ।’
सलमान–ऐश्वर्या प्रेम बलिउडको आज किंवदन्ती बन्न पुगेको छ । अभिषेक बच्चनसँग विवाहबन्धनमा बाँधिएकी ऐश्वर्याको दाम्पत्य जीवन सुखमय रूपमा अघि बढिरहेको छ । सन्तानसमेत जन्माएकी ऐश्वर्या अहिले घरगृहस्थीमा व्यस्त छिन् । तर, भारतीय सञ्चारमाध्यममा आउने समाचारलाई आधार मान्ने हो भने सलमानले अझै ऐश्वर्यासँगको सम्बन्ध बिर्सिन सकेका छैनन् ।
‘हम दिल देचुके सनम’ फिल्ममा काम गर्दा ऐश्वर्या र सलमानबीच प्रेम भएको थियो । ‘ह्यान्डसम’ सलमान र मिस वल्र्डको ताज पहिरिएकी ऐश्वर्याको जोडीलाई धेरैले दुष्यन्त र शकुन्तलाको जस्तै अब्बल मान्थे । सन् १९९९ देखि दुई वर्षसम्म उनीहरूको प्रेम उत्कर्षमा पुग्यो । उनीहरू प्रायः सँगै भेटिन्थे । तर, सम्बन्धले तेस्रो वर्ष टेक्नासाथ ऐश्वर्याले सलमानलाई ‘ब्रेकअप’ दिइन् । ऐश्वर्याबाट एकाएक टाढिनुपर्दा सलमान कुइरोमा फसेको कागजस्तै रनभुल्लमा परे । उनको मन भाँच्चियो । ऐश्वर्यासँगको बिछोडबाट मनमा लागेको चोट भर्न सलमानलाई धेरै समय लाग्यो ।
कट्रिनासँगको सम्बन्ध तोडिँदा सलमानप्रति आम मानिसको सहानुभूति ओइरिएको थियो । तर, ऐश्वर्यासँग सम्बन्ध बिग्रिनुमा भने सबैले सलमानको सन्की स्वभावलाई दोष दिएका थिए ।
सलमानको रिसाहा स्वभावसँग वाक्कदिक्क भएपछि ऐश्वर्याले सम्बन्ध तोडिएको घोषणा गरेकी थिइन् । तर, सलमानले टेरेनन् । त्यतिबेलाको क्षण सम्झिँदै ऐश्वर्याले एक समय भनेकी थिइन्, ‘सम्बन्ध तोडिएपछि पनि उसले मलाई दुःख दिन छोडेन । मलाई फोन गरेर मनपरी भन्न थाल्यो । मेरो घरमा ढुंगा हान्ने, झ्यालका सिसा फुटाइदिने, घरमा पसेर बैठककोठाको फर्निचर भाँच्नेजस्ता हर्कत गर्न थाल्यो । उसको उच्छृंखलता बढ्दै गएपछि मैले अन्ततः प्रहरीलाई खबर गर्नुप¥यो ।’
सन् २००३ मा सार्वजनिक भएको फिल्म ‘कुछ ना कहो’ को छायांकनमा व्यस्त रहेकी ऐश्वर्यासँग विवाद गर्न सलमान छायांकनस्थलमै पुगे । विवादकै क्रममा सलमानले धक्का दिएपछि ऐश्वर्या भुइँमा पछारिइन् । त्यतिबेला अभिषेक बच्चन पनि घटनास्थलमै थिए । त्यसको केही महिनापछि शाहरूख खानको फिल्म ‘चलते चलते’मा ऐश्वर्या छायांकन गर्दै थिइन् । छायांकनस्थल पुगेर सलमानले पुनः बबन्डर मच्चाए । ऐश्वर्यालाई घिसारेर लैजान पुगे । ‘शाहरूख र अरू कतिपय सहकर्मीसँग मेरो लसपस छ भन्ने आरोप लगाउँथ्यो,’ यसबारे ऐश्वर्याले पछि भनिन्, ‘ऊसँग मैले बिताएका सबै क्षण मेरो जीवनका दुःस्वप्न हुन् जस्तो लाग्छ ।’ सलमानको जीवनमा ऐश्वर्याभन्दा अगाडि र पछाडि थुप्रै युवती थिए । तर, ऐश्वर्यासँग जति हुरुक्क उनी कसैसँग भएनन् । आफ्ना निकटवर्तीहरूसँग सलमानले ऐश्वर्यासँग गरेको व्यवहारप्रति पछुतो मान्ने गरेका छन् । एकपटक सार्वजनिक ठाउँमै सलमानले भनेका थिए, ‘हो, म ऐश्वर्यालाई प्रेम गर्छु । उनीसँगको मेरो लगावमा बैँसमात्र थिएन । त्यो पवित्र थियो । ऊ विशुद्ध भारतीय युवती थिई र बाबुआमाको बडो हेरचार गर्थी । त्यो देखेर म हुरुक्कै हुन्थेँ ।’

ऐश्वर्याले छोड्नुअघि अन्य दुई युवतीसँगको प्रेममा सलमान असफल भइसकेका थिए । सन् १९८० मा मिस इन्डियाको ताज पहिरिएकी संगीता बिजलानीसँगको उनको प्रेम पनि सफल हुन सकेन । संगीतापछि अभिनेत्री सोमी अलीसँग उनी नजिकिन पुगे । रक्सी धोकेर जतिबेला पायो, त्यतिबेला मनपरी गर्नखोज्ने सलमानको त्यतिबेलाको स्वभावलाई सोमीले पनि पचाउन सकिनन् र सम्बन्ध तोडिन् ।
अहिले सलमान ४७ वर्षका भए । उनीसँग नाम जोडिने युवती अहिले पनि छन्, तर उनीहरूलाई सलमानले गम्भीरतापूर्वक लिएका छन् भन्नेमा उनका फ्यानहरूलाई विश्वास छैन ।

%d bloggers like this: