Fri. Mar 29th, 2024

महंगो र आकर्षक लोकेशनमा छायांकन गरिएको चलचित्र ‘बितेका पल’ यतिबेला निकै चर्चामा छ । यशै बीच, आज काठमाण्डौ नयाँ वानेश्वरस्थित अल्फाविटा हाउसमा प्रेस समारोह गरि चलचित्रकी हिरोईन केकीको जन्मदिन मनाउदै यूनिटले सिनेमाको संगीतको अडियो समेत सार्बजनिक गरेको छ। आफु भर्खर १६ माथि रहेको भन्ने ठट्टा गर्दै केकी पौष २६ गते प्रदर्शनमा आउने फिल्म ‘बितेका पल’ हेर्न सबैलाई अनुरोध गरिन् ।

कार्यक्रममा निर्देशक सुरज सुब्बा नाल्बोले ‘फिल्ममा मनोरञ्जन मात्रै भएर हुँदैन, विचार हुनुपर्छ । बितेका पल विचार बोकेको फिल्म हो भन्ने कुरा बताए। पौष २६ मा प्रदर्शन हुने अन्य फिल्मलाई सफलताको शुभकामना समेत उनले दिए । ‘बाटो मूनिको फूल’बाट तारिफ कमाएका निर्देशक नाल्बोले ‘मेरो प्रतिस्पर्धा फिल्मसँग नभएर दर्शकसँग हो । म दर्शकको प्रेम र आलोचनाको पात्र बन्न तयार छु’ भन्ने कुरा समेत थपे।

‘बाटो मूनिको फूल’बाटै उदाएका निर्माता राजेश घतानीले आफ्नो दोश्रो चलचित्र ‘बितेका पल’ले पनि दर्शकको मन जित्ने आशा व्यक्त गरे । फिल्मलाई पौष १४ गते प्रिमियर गर्ने जानकारी दिंदै उनले ‘बितेका पल कुनै पनि हिन्दी, बङ्गाली, कोरियन फिल्मबाट कपी गरिएको फिल्म हैन र यो शुद्ध सत्य प्रेमकथामा आधारित फिल्म हो’ भन्ने कुरा बताए । ९५ प्रतिशत सुटिङ दार्जिलिङ गरिएको फिल्ममा केकीसँगै भारतीय मुलका नब नायक अभिनाश गुरुङ र बाबु वोगटीको मुख्य भूमिका छ । कार्यक्रममा बावु आएपनि दार्जिलिङका अभिनाश भने आउन सकेनन् । फिल्ममा राजेश घतानीसँगै अमेरिकाका NRN क्रिष रिजालको पनि लगानी छ ।

८० लाख लागत दाबी गरिएको ‘बितेका पल’ले झन्डै ३५ लाख रुपैयाँ अडियो विक्रीबाट कमाएको छ । अमेरिकामा समेत बितेका पलको संगीतको निकै चर्चा छ, फिल्ममा बाबु बोगटीसँगै डम्वर नेपाली र रोशन लामाको संगीत छ भने हरी लामा फिल्मका क्यामेरा पर्सन हुन् । शंकर विसी, अर्जुन गौतम र पेमा लामाले फिल्ममा नृत्य निर्देशन गरेका छन् । बिपिन मल्ल चलचित्रका सम्पादक हुन। चलचित्रमा निर्देशक सुरज सुब्बाका छोरा योदीन सुब्बाले समेत बाबुको बाटो पछाउदै सहायक निर्देशकको काम गरेका छन।

%d bloggers like this: