Fri. Apr 26th, 2024

गायक सन्तोष अधिकारीले आफ्नो पहिलो एल्बमका रुपमा मज्जा छुट्टै लिएर आएका छन् । राजधानीमा एक कार्यक्रमको आयोजना गरी मज्जा छुट्टैको सार्वजनिक गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि गायिका तारा थापा, विशेष अतिथि संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी, वरिष्ठ चलचित्र पत्रकार शान्तिप्रिय, गीतकार भावेश भुमरी, संगीतकारद्वय वी.बी अनुरागी र सन्तोष श्रेष्ठ, म्यूजिक खबर डटकमका अध्यक्ष सुमन बैरागी लगायतले मज्जा छुट्टै एल्बमको सार्वजनिक गरेका थिए ।
गायक बन्ने सपना बोकेर राजधानी छिरेका सन्तोष अधिकारीले आफ्नो सपना साकार पार्दै एल्बम ल्याएको बताएका छन् । कार्यक्रममा बोल्दै गायक अधिकारीले संगीत भनेको आफूले सोचेजस्तो सजिलो नरहेको बताएका थिए ।
त्यस्तै कार्यक्रममा एल्बममाथि समीक्षा गर्दै गीतकार भावेश भुमरीले सन्तोष अधिकारी एउटा क्षमतावान् गायक, गीतकार संगीतकार रहेको बताएका थिए । उनका गीतहरु लोकलयमा आधारित रहे पनि शब्द, संगीत र स्वरले राम्रो रहेको बताएका थिए । त्यस्तै संगीतकार सन्तोष श्रेष्ठले गायक अधिकारी एक सबल गीतकार, गायक र संगीतकारको रुपमा उदाएको बताएका थिए ।
त्यसैगरी संगीतकार सुरेश अधिकारीले पछिल्लो समयमा इराकमा लँडाईं लड्न गएको लाहुरेजस्तै भएर संगीत उद्योगमा भित्रिएका सन्तोष अधिकारीलाई शुभकामना दिएका थिए । पछिल्लो समय संगीतको बिक्री हुन छाडेको बताउँदै अधिकारीले यस्तो अवस्थामा पनि लगानी गरेर आउने सन्तोष अधिकारीजस्ता स्रष्टालाई हामी सबैले साथ दिनुपर्ने बताएका थिए ।
त्यस्तै कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार शान्तिप्रियले गायक सन्तोष अधिकारीको मज्जा छुट्टै एल्बमले सफलता प्राप्त गरोस् भन्ने शुभकामना दिएका थिए भने प्रमुख अतिथिका रुपमा रहेकी सांगीतिक संघकी अध्यक्ष एवं गायिका तारा थापाले सन्तोष अधिकारीको प्रयासलाई सबैले साथ दिएर संगीत उद्योगमा अगाडि बढ्नुपर्ने बताएकी थिइन् ।
एल्बममा ६ वटा गीतहरु समावेश गरिएको छ । मज्जा छुट्टै, यति चोखो मायालाई क्रमशः बीबी अनुरागी र सन्तोष श्रेष्ठले संगीत दिएका छन् भने आँखाले आँखालाई, कति माया, नबोलेरै मलाई, सम्झना त जान्न रैछलाई गायक स्वम्ले संगीत दिएका छन् । एल्बममा समावेश ६ वटै गीतलाई गायक अधिकारीले नै लेखेका हुन् ।

%d bloggers like this: