Mon. Sep 26th, 2022

–दीपेन्द्र लामा
काठमाडौँमा तिहारअघि भएको नेपाल लिटरेचर फेस्टिभलमा भारतीय लेखिका शोभा डेलाई एक पाठकले सोधे, ‘हिन्दी टीभी सिरियलमा नारी पात्रलाई किन बढीभन्दा बढी सिंगारपटारसहित भव्य देखाइन्छ ?’ नारीवादी छवि बनाएकी शोभाको जवाफ सरल थियो– ‘किनभने त्यस्ता सिरियलका प्रायः दर्शक नारी हुन्छन् । यसमा आपत्ति जनाउनुपर्ने कारण छैन ।’
टेलिसिरियललाई ‘सोप अपेरा’ समेत भनिन्छ । ‘सोप अपेरा’ले रेडियो नाटकलाई पनि बुझाउँछ । सन् १९२० को दशकदेखि रेडियोले प्रसारण गर्ने धेरैजसो धारावाहिक नाटकका निर्माता तथा प्रायोजकहरू कोल्गेट–पाल्मोलिभ, लिभर ब्रदर्स, प्रोक्टर एन्ड ग्याम्बलजस्ता साबुन कम्पनी हुन्थे । पछि टीभीमा आउने सिरियलमा पनि यिनै साबुन कम्पनीको संलग्नता रह्यो । यही कारणले रेडियो नाटक र टीभी सिरियललाई ‘सोप अपेरा’ भन्न थालियो ।
शोभा डेले तर्क दिएजस्तै हिन्दी सिरियलका दर्शक गृहिणी नै बढी हुन्छन् । सिरियलको बीचबीचमा आउने विज्ञापन पनि गृहिणीलक्षित नै हुन्छ । अहिले पनि साबुन, स्याम्पू, क्रिम, खाद्यान्न, गरगहनाजस्ता सरसामग्रीका उत्पादकहरूले नै सिरियलको प्रायोजन गर्छन् ।
सिरियलका हरेक पात्रलाई उज्यालो र गोरो देखाउनुमा प्रायोजककै आर्थिक उद्देश्य मिसिएको देखिन्छ । हजुरआमादेखि नातिनीसम्मका पुस्तालाई चिटिक्क र चम्किलो देखाउँदै ब्रेकमा स्याम्पू र क्रिमको विज्ञापन गर्दा प्रायोजक कम्पनीको व्यापार नबढ्ने कुरै छैन । मेकअपले नपुगेमा झलल्ल लाइट छरेर भए पनि सिरियलका पात्रलाई गोरो बनाइन्छ ।
‘सोप अपेरा’ शब्दको चलन जसरी सुरु भए पनि आजकल कसैकसैले यसलाई नयाँ परिभाषा पनि दिन्छन् । गृहिणीहरूले साबुन दलेर लुगा धुँदै हेर्ने भएकाले सिरियललाई ‘सोप अपेरा’ भनिएको भन्ने परिभाषा नयाँ हो । सिरियल र साबुनको एउटा चरित्र भने मिल्छ । दुवै बिलाएको अथवा सकिएको पत्तै हुँदैन ।
सिरियलमा सात वा दश मिनेटको अन्तरालमा केही मिनेटको ब्रेक भइरहन्छ । यसले प्रायोजकलाई विज्ञापन प्रसारण गर्ने ठाउँ त दिन्छ नै, गृहिणीहरूले घरायसी काम सँगसँगै गर्ने अवसर पनि पाउँछन् । ब्रेकको निहुँमा पानीको मेसिन चलाउन, ग्यास निभाउन वा तरकारी बसाल्न सकिन्छ ।
टेलिभिजन सेटलाई ‘इडियट बक्स’ भन्ने चलन पनि छ । वास्तवमा सेटलाई होइन, टीभी हेर्ने दर्शकलाई ‘इडियट’ भनिएको हो । टीभी धेरै हेरेर समय खेर फाल्नेहरू मूर्ख हुन् भन्दै टीभीलाई मूर्खहरूको बाकस अर्थात् ‘इडियट बक्स’को संज्ञा दिइएको रहेछ । आजकल चाहिँ टीभीलाई ठीक उल्टो ‘जिनियस बक्स’ मान्दा हुन्छ । यसबाट प्रशस्त ज्ञान हासिल गर्न सकिन्छ ।
तैपनि हिन्दी सिरियलमा जे–जस्ता कथा प्रसारण गरिन्छन्, तिनका आधारमा चाहिँ टीभी धेरैका लागि अभैm ‘इडियट बक्स’ नै हो कि भन्ने लाग्छ । किनभने, सिरियलले दर्शकलाई एउटा मिठो भ्रममा कैद गर्दै मूर्ख बनाइरहेको छ । समाज एकल परिवारमा विखण्डित भइसक्यो, टीभीमा चाहिँ संयुक्त परिवारकै ‘ड्रामा’ हाइलाइट गरिन्छ ।
सिरियलका कथाहरू खासै भिन्न हुँदैनन् । पुरानै कथानकलाई नयाँ सिरियलमा अलिकति फेरबदल गरेर पस्किएका हुन्छन् । अर्थात्, दर्शकलाई नयाँपन केही छैन । सधैँ पुरानै खुराक उपभोग गर्न दर्शक बाध्य छन् ।
धेरैजसो दर्शक गृहिणी भएकाले यसको घाटा सहनुपर्ने वा मूर्ख बन्नुपर्ने खतरा गृहिणीलाई नै छ । पुरुषहरू अफिस वा बाहिरी दुनियाँमा घुमेर नयाँनयाँ घटना झेल्छन् । केटाकेटीहरू स्कुल–कलेजमा नयाँनयाँ पाठ सिक्छन् । तर, गृहिणीहरू सधैँ रामायणकै संरचनामा बनेका सिरियलहरूमै खुम्चिन्छन् ।
सिरियलमा नयाँ कुरा नदेखाइएपछि गृहिणीमा नयाँ सोचको विकास हुने सम्भावना नै हुँदैन । सबैजसो सिरियल मेलोड्रामाले ओतप्रोत छन् । अर्थात्, हेरुन्जेल आनन्ददायी । समस्याको समाधान पनि दर्शकले सोच्ने तरिकाबाटै खोजिएको हुन्छ । दर्शकले रचनात्मक वा मानसिक अभ्यासको अवसर नै पाउँदैन ।
श्रीमान्को सेवा गर्ने, बालबच्चा हुर्काउने, देवीदेवता पुज्ने र अरूको अगाडि घुम्टोभित्र लुक्ने नारी नै आदर्श हुन् भन्दै सिरियलमा बारम्बार चित्रित गरिन्छ । यसले नारीहरूमा परम्परावादी मनोविज्ञान नै निर्माण हुन्छ । नारीलाई सहनशील पात्रको रुपमा देखाइन्छ । नारीको प्रशंसा गरिएजस्तो लागे पनि यसमा नारीले सहनैपर्छ भन्ने विचार थोपर्न चाहनेको स्वार्थ लुकेको छ । महँगो गहना लगाउने, सधैँ जवान देखिने र आस्तिक हुने चाहना नारीमा किन बढिरहेको छ ? यसमा यी ‘सोप अपेरा’हरूको योगदान छैन भन्न सकिन्न ।
सिरियलमा सासु–बुहारीको द्वन्द्व बढी चर्काइन्छ । जब कि पुरुषकोे परस्त्रीसँगको सम्बन्धलाई त्यति प्रस्तुत गरिँदैन । सिरियलको काल्पनिक दुनियाँमा रमाउन पाएपछि नारीहरूले यथार्थ जीवनको आनन्द बिर्सेका छन् । सिरियल निर्माता वा यसका प्रायोजकहरूको कम्पनी चलाउने नारी हुँदैनन्, पुरुष नै हुन्छन् । अप्रत्यक्ष रूपमा शंका गर्न सकिन्छ, कतै नारीहरूलाई पुरुषप्रधान सोच वा संयन्त्रले नै षड्यन्त्रपूर्वक ‘इडियट’ त बनाइरहेका छैनन् ?
शुक्रवारबाट