Sun. Jun 26th, 2022

धनबहादुर खड्का
‘यो मंसिरको पारिलो घामले पनि तताएन ? तपाईंको विवाहको कार्डै आइपुगेन !’
उमेरले तीसको छेउछाउ पुगेकी एक हिरोइनसँग ठट्टा गरेँ ।
‘अर्काकै जन्तेबाख्रोको कति आशा गर्नुहुन्छ, आफ्नो पनि बेला भयो भन्ने हेक्का छ कि छैन ?’ बोलीको गोली जस्ताको तस्तै फर्कियो । मैले थपेँ, ‘आफूभन्दा केही भोटो बढी फटाइसकेकाको जन्तेबाख्रो खाएर आफ्नो दिनुपर्ला कि भनेर !’
‘मेरो भइसकेपछि मात्रै गर्ने भनेर अड्डी कस्नुभयो भने त तपाईँको पनि बिहे नहुने भयो ।’ उनले भनिन् ।
मैले विवाहप्रति उनको यस्तो निराशाजनक उत्तरको आशै गरेको थिइनँ । किनभने, उनले जोडी पाउने कुरामा शंका गर्ने ठाउँ थिएन । राम्री छँदै छिन् । अलिकति बाटो बिराउनेबित्तिकै बदनाम हुने दुनियाँमा भएर पनि उनको इमेज खराब छैन ।
विवाहप्रति निराश हुनुको कारण सोधेँ । डेढ वर्षदेखिको प्रेममा भर्खरै पूर्णविराम लागेको चोट पुरिएको रहेनछ । त्यसैले त्यही प्रसंगबाट कुराको उठान गरिन् । र, सिलसिलेवार रूपमा कारण खोलिन् ।
कारण नं १ः ऊसँग अघिल्लो वर्ष साथीमार्फत भेट भएको हो । मभन्दा पनि पहिले उसैले मन पराएको थियो । ‘राम्रो कुलघराना’को ऊ पुख्र्याैली व्यवसायमा सक्रिय थियो । यही मंसिरमा इन्गेजमेन्ट गर्ने योजना थियो । तर, अस्ति एक्कासि भन्यो, ‘सरी, परिवारले मान्दै मानेन ।’ उसको परिवारले भन्यो रे, ‘लाटी भए पनि हुन्छ, तर हिरोइनलाई बुहारी बनाउन सकिँदैन ।’ उसले अहिल्यै नआत्तिन र बिस्तारै मनाएर छाड्ने कुरा त ग¥यो तर मैले अब त्यो घरको बुहारी बनेर जाँदा आफ्नो अपमान हुने ठहराएँ । अब त्यस्ता ‘घरानियाँ’ भन्नेहरूसँग नजिकिनै डर लाग्छ । बिहे त परको कुरा । उसको परिवारलाई लाग्दो हो, हिरोइन सस्ता हुन्छन् । घरानियाँका छोरीबुहारी कत्तिका महँगा छन्, त्यो मलाई पनि थाहा छ ।
कारण नं २ः विदेशमा काम गरिरहेको केटा हो । कार्यक्रमको सिलसिलामा विदेश गएका बेला भेट भएको थियो । फ्यानका रूपमा आफूलाई अघि सार्दै असाध्यै माया गर्न थाल्यो । यति माया ग¥यो कि त्यति माया यो दुनियाँमा कसैले पाएका छन् भन्ने पनि लाग्दैनथ्यो । मैले पनि माया गर्न थालेँ ।
पोहोर ‘विवाह कहिले गर्ने ?’ भनेर सोधेँ । उसले उत्तर दियो, ‘राम्रो मान्छे त सधैँ गर्लफ्रेन्ड भएको राम्रो, पत्नी भएपछि माया कम हुन सक्छ !’
आशय बुझियो, यो अर्काे तप्काको सदस्य रहेछ, जसले हिरोइनलाई खेलौना सम्झिन्छ । त्यसैले गर्लफ्रेन्ड बनाउन चाहन्छ । तर, पत्नीको सम्मान दिन चाहँदैन । यसरी माया गर्नेहरूप्रति मेरो दृष्टिकोणै बदलिएको छ ।
कारण नं ३ः त्यसअघि अर्काे एक जना प्रेमी थियो । हाम्रो जोडीलाई लैला–मजनुको भन्दा पनि गजबको भन्थ्यो । एक पार्टीमा सँगै गयौँ । मलाई सबैले चिन्ने भएकाले बोल्ने खोजे, नमस्कार गरे । केही केटाकेटीले अटोग्राफ पनि लिए । तस्बिर सँगै खिचाए । तर, उसलाई बाल दिएनन् कसैले । भोलिपल्टै उसले भन्यो– ‘त्यो पार्टीमा मलाई आफू बाउन्ने भएको फिल भयो ।’ उसले थप्यो, ‘बिहेपछि झन् बढी सँगै हिँड्नुपर्छ । त्यसैले तिमीसँग बिहे गर्न सक्दिनँ ।’ मैले थाहा पाएँ, पुरुषहरू महिला आफूभन्दा चर्चित भएको, जान्ने भएको रुचाउँदा रहेनछन् । सबै त्यस्ता नहोलान् । तर, आफ्नोभन्दा कमजोर व्यक्तित्व र हैसियत भएको मान्छेसँग बिहे गर्ने कुरा पनि सोच्न सकिएला जस्तो छैन । मलाई राम्रोसँग थाहा छ, कोही पूर्ण हुँदैन । दुई ठाउँमा रहेका एकै ठाउँमा आउनका लागि दुइटैले केही पाइला हिँड्नैपर्छ । आफ्नो मन त एक घण्टामा कति पटक बदलिन्छ भने दुई मुटु जोड्नु र जोडिनु सजिलो कुरा होइन । तर, विवाहअघि नै चोट पुग्छ भने कसरी विवाहपछिसम्म बस्न सकिन्छ ?
कारण नं ४ः एक जनाले लाइन मार्न थालेको निकै भएको थियो । बाल दिएको थिइनँ । उसको सबै कुरा बुझेँ । केटो यसरी रिजेक्ट गर्नुपर्ने खालको पनि छैन । एउटासँग विवाह गर्नैपर्छ । त्यसैले यति मरिहत्ते गर्छ भने ‘मान्दिऊँ न त’ भन्ने ठानेँ । एक दिन ठट्टा ग¥यो, ‘भर्जिन त छैनौ होला ?’ ऊ कति ढुक्क, म भर्जिन छैन भन्नेमा । मानौँ, यो क्षेत्रमा आउनु भनेको भर्जिनिटी गुमाएको प्रमाणपत्र पाउनु हो । मानौँ, बिग्रिएकी केटीको लाइसेन्स हात पार्नु हो । उसको सोध्ने तरिका चित्त बुझेन ।
अनि उल्टै प्रश्न तेस्र्याएँ उसको कुमारत्वबारे । उसले बहादुरी देखाउँदै भन्यो, ‘यो उमेरसम्म केटा पनि भर्जिन हुन्छन् त ?’ एउटै कुरा केटाले गर्दा बहादुरी र केटीले गर्दा चरित्रहीन कसरी हुन सक्छन् ? यस्तो सोच्नेसँग जिन्दगी बिताउन सकिएलाजस्तो लागेन । आफै तर्किएँ ।
कारण नं ५ः आमाले एक दिन भन्नुभयो, ‘बिहे गर्ने बेला भयो नानी, फिल्म खेल्न छाडिदेऊ ।’ कुरा बुझेँ । छोरीलाई राम्रो घर खोज्नुप¥यो भन्दै कहिलेकाहीँ परिवारले सर्कलमा कुरा पठाउने रहेछ । उताबाट पहिलो शर्त तेर्सिनेरहेछ, ‘उसले त्यो काम छाड्नुप¥यो !’ मलाई आम केटीबाट चर्चित बनाउने यही क्षेत्र हो । मेरो यही उचाइका कारण उनीहरू विवाहका लागि राजी पनि हुन्छन् । र, अचम्म विवाह गरेपछि मैले १० वर्ष साधना गरेको मन पर्ने काम गर्नै छाड्नुपर्ने ! मानौँ, मैले यत्रो दुःख गर्नुको उद्देश्य केवल एक जनासँग विवाहयोग्य हुनु हो ।
फिल्म क्षेत्रमा हाम्रा केही दिदीहरू किन अविवाहित छन्, किन धेरैको वैवाहिक जीवन सुखद छैन भनेर पहिले खुब सोच्थेँ । अब मलाई उत्तर प्राप्त भएको छ ।
पहिले किन कोही बिहेदेखि तर्किन्छ भन्ने लाग्थ्यो । अब त आफैँलाई विवाहदेखि भाग्न मन लागेको छ । सामाजिक संस्कार र सुन्दर परिवारको चाहनाबाट म जानीजानी, राजीखुशी भागेकी होइन । मलाई कसैले भगाइरहेको छ, लखेटिरहेको छ । अनि कसरी लाग्छ मेरा आङमा मंसिरको तातो ?
०००
उसका पीडाजन्य अनुभव सुनेपछि मसँग उसलाई भन्नका लागि केही कुरा थिएनन् । सोध्नका लागि कुनै प्रश्न थिएनन् । बुझ्नका लागि कुनै कुरा बाँकी थिएनन् ।