Sun. Jun 26th, 2022

–विनोदविक्रम केसी

उसको हातमा चमचमाउँदो आई–फोन थियो ।
मेरो हातमा थियो, पुरातत्व विभागले खोसेर राख्लाजस्तो जीर्ण मोबाइल ।
ऊ घरी–घरी आई–फोन यसरी खेलाउँथ्यो, मानौँ कुनै योद्धा तरबार खेलाइरहेछ । ऊ सायद मेरो आर्थिक हैसियतलाई व्यंग्यले छप्काउन खोजिरहेको थियो । म दाल–भातको युद्धमैदानमा युगौँदेखि लडिरहेको मान्छे ! पेशाले तप्का नखुलेको पत्रकार ! तर, अभावग्रस्त हुनुका पनि केही फाइदा छन् । जस्तो कि, अभावग्रस्त मान्छेले कहिल्यै मैदान छोडेर भाग्दैन । नत्र त यो देश उहिल्यै निर्जन र वञ्जर भइसक्थ्यो ।
ऊ आई–फोन खेलाइरहेको थियो । मेरो हातको थोत्रो मोबाइललाई यसरी हेरिरहेको थियो, मानौँ त्यो मान्छेले धारण गर्न लायक वस्तु थिएन । मानौँ, अब मान्छे हुनका लागि आई–फोन बोक्नैपर्छ । जसले आई–फोन बोक्दैन, त्यसलाई मान्छे कहलिने हक छैन ।
दश वर्ष अमेरिका बसेर आएको मान्छे ऊ । अमेरिका, अमेरिकी र हरेक अमेरिकी चिजप्रति उसले अपरिमेय श्रद्धाभाव विकास गरेको थियो । नेपाल, नेपाली र हरेक नेपाली चिजलाई ऊ घृणा, दया, क्रोध र अपमानले हेर्छ । ‘नेपाल खत्तम देश हो’, ‘नेपाली बेवकुफ जात हो’, ‘नेपाली चिज जति सबै कमसल हुन्’– उसले अमेरिका बसाइमा प्राप्त गरेको बोधिसत्व यही हो ।
कुनै बेला ऊ मेरो साथी थियो । अमेरिकी औकात थपेर थसुल्लिएको ऊ अब मेरो साथी रहेन । (सायद अब ऊ कुनै नेपालीको साथी रहेन ।) तैपनि म उसलाई साथी भनिटोपल्छु । ऊ मलाई साथी भनिटोपल्छ । भनिटोपल्ने यो क्रम चलिरहेछ ।
तथ्यांकशास्त्रमा पिएचडी गर्दै छ क्यारे ऊ । अमेरिकामा काम चाहिँ के गर्छ, उसले कहिल्यै खुलाउन चाहेन । मैले कहिल्यै ‘खुला’ भनिनँ । ऊ ‘पिज्जा डेलिभरी ब्वाई’ होस् कि इन्डियन रेस्टुरेन्टको वेटर, मेरो चासोको विषय होइन ।
हामी एउटा क्याफेमा थियौँ । साथमा संगीत पनि थियो । संगीतलाई पनि ऊ साथी भनिटोपल्थ्यो । र, संगीत पनि उसलाई साथी भनिटोपल्थ्यो । यो भनिटोपल्ने क्रम अनन्त छ ।
ब्ल्याक कफीको तितोले मुख बिगार्दै उसले नेपालीको बदख्वाइँ सुरु ग¥यो– ‘नेपालीलाई खान आउँदैन, लाउन आउँदैन, प्रेम गर्न आउँदैन, सेक्स गर्न आउँदैन, गीत गाउन आउँदैन, साहित्य लेख्न आउँदैन…।’ उसको गलौजको मजबुन थियो– नेपाली ढुंगे युगको प्रजाति हो ।
संगीतले मुख रातो पा¥यो । ‘कुनै दिन यो देशले कोल्टे फेर्नेछ र यसको कोल्टे फेराइमा मेरो पनि एक भूमिका हुनुपर्छ’ भन्ने विश्वासका साथ बाँचिरहेका लाखौँ नेपालीमध्ये एक हो ऊ ।
‘हो, तैँले भनेजस्तो हामीलाई केही पनि गर्न आउँदैन,’ संगीतले भन्यो, ‘हामीलाई निमुखा देशको झन्डा खान आउँदैन, गरिबहरूको छालाको पहिरन लाउन आउँदैन, पराइ देशका तेल र खनिज खानीहरूलाई प्रेम र सेक्स गर्न आउँदैन, मानव बस्तीमा बम खसालेर मानव अधिकारको गीत गाउन आउँदैन । हो, हामीलाई केही पनि गर्न आउँदैन ।’
संगीतको कटाक्षले ऊ गल्नेवाला थिएन । ‘म अमेरिका पो बसेर आएको हुँ त’ भन्ने उसको जब्बर डलर–दम्भलाई हामी निम्छरो नेरुका कमजोर भोगचलनकर्ताले सितिमिति गलाउन सक्ने कुरा पनि भएन ।
त्यसपछि उसले सुरु ग¥यो– नेपाली ‘पोलिटिक्स’माथि आफ्नो ‘कमेन्ट्री’ प्रहार । ‘यहाँ गतिला नेता नै छैनन्,’ उसले भन्यो, ‘प्रचण्ड हत्यारा हो, मोहन वैद्य डाँका हो, सुशील कोइराला चोर हो, माधवकुमार नेपाल काइते हो । राजनीति गर्ने युवा सबै झोले हुन् । तिनले जुलुस गएर, नारा लगाएर, ढुंगा हानेर देश खत्तम पारे ।’

‘यसो भन्ने तँ को ?’ संगीत चर्कियो, ‘नेपाली राजनीतिलाई गाली गर्ने अधिकार र हैसियत हासिल गर्न यहाँको राजनीतिको शिकार पनि हुनुपर्छ । फेरि बाराक ओबामा र म्याक केनहरू कुन लोकका साधु–सन्त हुन् र ?’ संगीत थामिने नामै लिइरहेको थिएन, ‘तिमीहरू नेपाललाई किन यस्तो गाली गर्छाै, यार ? दुईचार वर्ष अमेरिका बस्दैमा कोही महापुरुष हुँदैन होला । अमेरिका जानुमात्रै अन्तिम पुरुषार्थ पनि होइन होला ।’
उसले आई–फोन खेलाउन छोडेको थिएन । त्यसको भव्यताले सायद ऊ हाम्रो तेजोबध गर्न चाहिरहेको थियो ।
‘अमेरिका गएर तैँले नेपाललाई गाली गर्नमात्रै सिकेको होस् भने मलाई खेद छ,’ मैले भनेँ, ‘व्यक्तित्व विकासको यो भन्दा झुर उदाहरण अरू के हुन्छ ?’
‘मैले त तिमी साथीहरूको चिन्ता पो गरेको हुँ,’ उसले मुद्रा परिवर्तन ग¥यो, ‘तिमीहरूको आधी उमेर गइसक्यो । अहिलेसम्म सेटल हुन सकेका छैनौ । यहाँ बसेर केही गर्न सकेनौ पो भनेको !’
‘तैँले हाम्रो चिन्ता गरेको कि अपमान ?’ संगीत फेरि पड्कियो, ‘हामीलाई अमेरिका जान नसक्ने नालायक भनेको हो ? हामीलाई झ्यासबहादुर भन्न खोजेको हो ?’
‘हत्तेरी, तँ कुरै बुझ्दैनस् ?’ उसले दुःख मनाउ ग¥यो, ‘उल्टो–उल्टो कुरा गर्छस् ।’
‘हो, तैँले कुरा बुझ्या छस्,’ संगीतले भन्यो, ‘अमेरिका बसेर आएपछि कुरा बुझ्ने ठेक्का त तैँले ल्याछस् नि ।’
उसले आई–फोन उही रवाफिलो लयमा घुमाइरहेको थियो ।
‘कति घुमाइरा’को ?’ उसको नृत्यमग्न आई–फोनले मलाई चिढाइरहेको थियो । म अर्काे स्मार्ट फोन ग्यालेक्सीको विज्ञापन सम्झिरहेको थिएँ, जसले भन्छ– ‘डिजाइन्ड फर ह्युमन्स’ अर्थात् मान्छेका लागि बनाइएको । एकप्रकारले यो गरिब देशका मान्छेसँग गरिएको अत्यन्त क्रूर ठट्टा हो । ‘यो महँगो चिज किन्न नसक्ने तँ केको मान्छे ?’ सायद यही थियो विज्ञापनको पेटबोली । (यो मेरो कुतर्क हो भने यसमा मलाई कुनै खेद छैन ।)
तर, उसले आई–फोन नचाउन छोडेको थिएन ।
हामी मुख रातो पारेर छुट्टियौँ ।
रङ खुइलिएको धरहरामुन्तिर बसेर संगीतसँग मैले प्रश्न गरेँ, ‘स्ट्याचू अफ लिबर्टीमा त्यस्तो के छ ? जसको जादुटुनामा परेपछि नेपाली नेपाललाई यति गाली गर्ने भएर निस्कन्छ ?’
उसँग जवाफ थिएन ।
हामीलाई साथी भनिटोपल्ने त्यो डलर नव–वर्णको साथी अझै पनि आई–फोन घुमाई–घुमाई नेपाललाई गाली गरिरहेको होला ।
उफ्, मिस लिबर्टी, कति घातक तिम्रो मोहनी !