Sat. Apr 20th, 2024

फेरि दशैँ आएको छ । नयाँ दशैँसँगै धेरै कुरा परिवर्तन् हुन्छन् । तर, ‘नमुछे आमा दहीमा टीका’ भन्न गीतको लोकप्रियता कम भएको छैन । दशैँको बेला खुब घन्किन्छ यो गीत । स्व लक्ष्मण रायमाझीको रचना, नारायण रायमाझी संगीत र कृष्णभक्त राईको स्वर रहेको विगत १२ वर्षदेखि दशैँका अवसरमा सबभन्दा बढी सुनिने गीत हो । विदेशी भूमिको युद्धमैदानमा ज्यान गुमाउन आँटेको एक जना लाहुरेको दशैँ सम्झना बिलौना हो यो गीत । यो गीत सिर्जनाको कथा रोचक छ ।
पाकिस्तानको कार्गिलमा लडाइँ चलिरहेको थियो । भारत–पाक यो युद्धमा धेरै नेपालीले ज्यान गुमाए । ‘रेडियोमा नेपालीको मृत्युको खबरले मेरा दाई लक्ष्मणलाई निकै भावुक बनाउथ्यो,’ यो गीतका संगीतकार नारायण सम्झिन्छन् । त्यसपछि कार्गिलको लडाइँबाट फर्किएको लाहुरे खोजीमा लागे लक्ष्मण । उनीहरुसँग ठाउँ, लडाइँ र अवस्थावारे जानकारी लिएपछि उनले यो गीत लेखे । एउटा लाहुरेको वत्तान्त समेटिएको क्यासेट निकाले लक्ष्मणले । उनलाई साथ दिए लोक गायनमा जमेका भाई नारायणले । लक्ष्मणको रचना र नारायणको स्वर र संगीतमा लोकगीतको एल्बम् ‘कार्गिल’ निस्क्यो । तर, ‘नमुछे आमा दहीमा टीका’ले त्यति चर्चा पाएन ।
नारायणसँग् बाद्यबादन गर्ने र आधुनिक गीत गाउने कृष्णभक्त राईलाई यो गीत असाध्यै मन परेछ । लोकलयमा गाइएको यो गीत आधुनिकसँग पनि मिल्दो लागेर कृष्णभक्त गुनगुनाउन थाले । ‘मेरो स्वरमा यो गीत सुनेपछि नारायणलाई सबै खालका स्रोताले रुचाउने गीत बन्छ जस्तो लागेछ,’ कृष्णभक्त भन्छन् । नारायणले आधुनिक गीतजस्तै संगीत गरे फेरि र २०५७ सालमा आधुनिक गीतका रुपमा यो गीतको पुनःरेकर्ड भयो । दुईटा एल्बम् निकालिसकेका कृष्णभक्त गायनमा जम्न सकिरहेका थिएनन् । ‘यही गीतले मेरो करियरलाई कायापलट गरिदियो,’ कृष्णभक्त भन्छन् । उनले त्यसपछि थुप्रै गीत गाए तर धेरैले यही गीतमार्फत सम्झिन्छन् । त्यसैगरी ३० वटा एकल एल्ब्म् नै निकालेका नारायण रायमाझी पनि सबैभन्दा धेरै सन्तुष्टि दिने गीतका रुपमा लिन्छन् ।
प्रस्तुतिः डिबी खड्का

%d bloggers like this: