Wed. Apr 24th, 2024

समयसँगै फिल्मको सफलता मापन गर्ने आधार पनि बदलिँदै छ । कुनै जमाना थियो, जतिबेला फिल्मले दर्शकमाथि पारेको प्रभावका आधारमा फिल्म कति सफल अथवा असफल भयो भन्ने निर्धारण गरिन्थ्यो । त्यसपछि फिल्मको सफलता छिनोफानो गर्ने जिम्मा फिल्म समीक्षकमाथि आइलाग्यो । फिल्मको स्तर निर्धारण गर्ने फिल्म समक्षीकको एकाधिकार पनि भंग भइसकेको छ । बक्स अफिसमा यसले गर्ने आम्दानीले फिल्मको स्तर निर्धारण गर्ने समय आएको छ । 
फिल्मको कुल आम्दानीमा अर्को मापदण्ड हालै जोडिएको छ – फिल्मको ट्रेलरको दर्शकसंख्या । सूचना प्रविधिको विकास एवं प्रसारमार्फत घरघरमा इन्टरनेटको सुविधा पुग्ने क्रम जारी रहेकाले फिल्मी ट्रेलरको अनलाइन प्रचारप्रसार गर्ने ट्रेन्ड स्थापित भइसकेको छ । फिल्म रिलिज हुनुअगावै युट्युबलगायत विभिन्न वेबसाइटमा ट्रेलर र प्रतिनिधि गीत राखेर फिल्मको प्रचारप्रसार आरम्भ गर्ने गरिएको छ । यसरी राखिएको ट्रेलर कति मानिसले हेरे भन्ने तथ्यांकलााई पनि अब फिल्म सफलताको मानक मान्न थालिएको छ ।
भारतीय पत्रिका टिओआईले हालसालै यस विषयमा रोचक रिपोर्ट प्रकाशित गरेको छ । ट्रेलरको पपुलारिटीलाई फिल्मको सफलता अथवा असफलतासँग दाज्ने नयाँ मानक अघि सारेको छ । रिपोर्टअनुसार ट्रेलरको लोकप्रियतालाई आधार मान्ने हो भने अहिलेसम्मको सुपरहिट फिल्म ‘क्रिश–३’ हो, जुन रिलिज भइसकेको छैन ।
चाँडै रिलिज हुन लागेको यो फिल्मको ट्रेलर वेब संसारमा भाइरल ज्वरोजस्तै जताततै फैलिइसकेको छ । अहिलेसम्म एक करोड ६० लाख जनाले ‘क्रिश–३’ को ट्रेलर हेरिसकेका छन् । बलिउडमा अहिलेसम्म सबैभन्दा बढी हेरिएको फिल्मको ट्रेलर यही हो । यसै तथ्यको आधारमा यो फिल्मले बलिउड फिल्मको कुल आम्दानीको आजसम्मको सबै रेकर्ड तोड्ने अनुमान गरिएको छ ।
बक्स अफिसमा राम्रो व्यापार गरेका र चल्तीका स्टारका फिल्मको ट्रेलर लोकप्रिय हुने गरेका छन् । ‘क्रिश–३’ पछि ‘चेन्नई एक्सप्रेस’को ट्रेलर सबैभन्दा बढी हेरिएको छ । एक करोड दुई लाख पटक यो फिल्मको ट्रेलर हेरियो । बलिउडका बादशाह भनिने शाहरूख खान र अभिनेत्री दीपिका पादुकोणको जोडीद्वारा अभिनीत यो फिल्मले बक्स अफिसमा पनि आकर्षक उपलब्धि हासिल गरेको थियो । बलिउडमा ‘थ्री इडियट्स’ले ३ सय ८६ करोड आम्दानी गरेको थियो भने ‘चेन्नई एक्सप्रेस’ले ३ सय ८० करोडभन्दा बढी, ‘एक था टाइगर’ले ३ सय १० करोड, ‘ये जवानी हे दिवानी’ले ३ सय १ करोड, ‘दबंग–२’ ले २ सय ५१ करोड र ‘रा.वन’ले २ सय २ करोड भारु कारोबार गरेका थिए ।
ट्रेलर संसारमा शाहरूखको रेकर्ड एकदमै राम्रो छ । तेस्रो सुपरहिट ट्रेलर पनि उनकै हो । उनको ‘जब तक हे जान’ फिल्मको ट्रेलर ८२ लाख पटक हेरिएको थियो । चौथो र पाँचौँ स्थानमा सैफ अली खानको ‘रेस–२’ र सलमान खानको ‘दबंग–२’ छन् । यी फिल्मका ट्रेलर क्रमशः ७० र ६० लाख पटक हेरिएका छन् ।
यसबाहेक सलमानको ‘एक था टाइगर’को ट्रेलर ५९ लाख पटक हेरिएको छ भने ‘ककटेल’को ट्रेलर ५० लाख पटक हेरिएको छ । त्यसैगरी ‘ये जवानी हे दिवानी’ को ट्रेलर ४६ लाख पटक, ‘वान्स अपन अ टाइम इन मुम्बई दोबारा’को ४३ लाख पटक, ‘बेशरम’को ४३ लाख पटक, ‘स्टुडेन्ड अफ द इयर’को ३७ लाख पटक, ‘तलास’को ३६ लाख पटक, ‘आशिकी–२’को ३३ लाख पटक र ‘भाग मिल्का भाग’को २१ लाख पटक हेरिएको थियो ।
बक्स अफिसमा तहल्का मच्चाउने अजय देवगन, अक्षय कुमारलगायतका रेकर्ड ट्रेलरको दुनियाँमा त्यति सन्तोषप्रद छैन । दर्शकमाथि सलमानको ठूलो चार्म भएकाले बक्स अफिस कलेक्सनमा यसले ठूलो काम गर्ने गरेको छ । यद्यपि, ट्रेलरको दुनियाँलाई भने उनको व्यक्तित्वले उतिसारो प्रभावित गर्न सकेको छैन । त्यसैगरी मिस्टर पर्फेक्सनिस्ट आमिर खान पनि ट्रेलरको संसारमा अपेक्षाकृत निम्छरो देखिएका छन् ।
फिल्मको सफलतामा ट्रेलरले पु¥याउने योगदानबारे बलिउड निर्देशक करन जौहरका अनुसार ट्रेलरको सार्वजनिकीकरण र प्रचारप्रसारलाई सबै निर्माता–निर्देशकले गम्भीरतापूर्वक लिने गरेका छन् । ‘ठूलो होहल्ला मच्चाउँदै ट्रेलर सार्वजनिक गर्ने समय आएको छ,’ उनी भन्छन्, ‘दर्शकमाझ होहल्ला पुग्यो र वेब संसारमा भाइरल ज्वरोझैँ ट्रेलर फैलियो भने यसले फिल्मलाई ठूलो फाइदा गर्छ ।’

%d bloggers like this: