Tue. Apr 23rd, 2024

काठमाडौं, भाद्र २० । आयोजक नेपाल आठौं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । राजधानीको दशरथ रंगशालामा आज भएको समूहको अन्तिम खेलमा भारतलाई २–१ गोलले हराँउदै नेपाल समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको हो । ५ पटकको च्याम्पियन भारत विरुद्ध उत्कृष्ट प्रदर्शन गरेको नेपालले पहिलो हाफमा थुप्रै अवसर सिर्जना गरेपनि गोल भने गर्न सकेन ।
दोस्रो हाफमा भने नेपाली टोलीले सम्झनलायक प्रदर्शन गर्दै दुई गोल ग-यो । खेलको ६८ औं मिनेटमा भरत खवासले प्रहार गरेको बल गोल पोष्टमा लागेर फर्किएपछि रिबाउण्डमा अनिल गुरुङले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिए । यसैगरी, खेलको ८० औं मिनेटमा रविन श्रेष्ठको सुन्दर क्रशलाई जुमानु राईले गोलमा परिणत गरेपछि नेपालले सेमिफाइनलमा स्थान पक्का ग-यो । भारतका प्रतिस्थापित खेलाडी रविन सिहंले खेलको अन्त्यतिर एक गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरेपनि धेरै ढिला भईसकेको थियो । नेपालका अनिल गुरुङ खेलको म्यान अफ द म्याच घोषित भए । पराजयका बावजुद भारत उपविजेताको हैसियतले सेमिफाइनलमा प्रवेश गरेको छ । समूह विजेता नेपालको ७ अंक भयो भने भारत र पाकिस्तानको समान चार–चार अंक भयो । यस्तोमा पाकिस्तानसँगको हेड टु हेड नतिजाको आधारमा भारत सेमिफाईनलमा प्रवेश गरेको हो ।
सेमिफाईनलमा नेपाल र भारतका प्रतिद्धन्द्धीको छिनोपानो भने भोलि मात्रै हुनेछ । समूह ‘बी’को अन्तिम खेलहरुमा भोलि अफगानिस्तान र माल्दिभ्स तथा श्रीलंका र भुटान खेल्ने छन् । यो समूहबाट अफगानिस्तान र माल्दिभ्स सेमिफाईनलमा प्रवेश गरिसकेका छन् भने श्रीलंका र भुटान पहिलो जितको खोजीमा छन् । आजको खेल हेर्न दशरथ रंगशालामा नेता तथा कलाकारहरु समेत उपस्थित थिए । शक्ति सन्तुलनमा माहिर गणेश थापाको निम्तो अनुसार एमाओवादीका जनार्दन शर्मा, नेपाली कांग्रेसका प्रकाशमान सिंह, नेकपा एमालेका केपी ओली तथा राप्रपा नेपालका कमल थापा मैदानमै पुगेर खेलाडीहरुलाई हौसला दिएका थिए । यसैबीच नेपाल र भारतबीचको खेल हेर्न दशरथ रंगठशालामा अत्यधिक दर्शक उपस्थित भएपछि एन्फालाई व्यवस्थापन गर्नै हम्मे–हम्मे परेको थियो ।
साँढे तीन वजे सुरु हुने खेलको टिकट साँढे ११ वजे नैं सकिएको थियो । रंगशाला आसपास ब्ल्याकमा समेत टिकटको कारोबार भएको गुनासो थियो । सुरक्षाको जिम्मेवारी लिएका स्वयंसेवकहरु समेत टिकटको अवैध व्यापार गरेको आरोपमा पक्राउ परेका थिए ।
 
Match Highlights::

%d bloggers like this: