Sat. Apr 20th, 2024

नेपाली फिल्म क्षेत्रमा निलिमा शर्मा फेशन स्टाइलिष्टका रुपमा चर्चित छिन्। फिल्म दमदार बनाउनका लागि पात्र अनुसारको पहिरन जरुरी रहेको कुरालाई प्रमाणित गरेकी उनले दर्जन भन्दा बढी फिल्ममा काम गरिसकिन्। कुनै समय मोडलिङ र गायनमा समेत संलग्न निलिमासँग डिबी खड्काको कुराकानी
के गर्दै हुनुहुन्छ अचेल?
भर्खरै सुटिङको तयारीमा रहेको फिल्म …टलकजंग भर्सेस टुल्के’ लागि ड्रेसका स्टाइल कलेक्सन गर्न पोखरा आसपासका गाउँमा पुगेर आएँ। त्यसैगरी फिल्म ‘वान वे’ लागि पनि पहिरनको जोहो गरिरहेकी छु।
नेपाली फिल्म मेकर पनि पहिरनमा ध्यान दिन थाले है?
एउटा चरित्रलाई वास्तविकता नजिक पुर्‍याउन ड्रेस सबैभन्दा महत्वपूर्ण कुरा हो। पढेर फिल्म क्षेत्रतिर लागेको निर्देशकहरुमा त्यो सोच पलाएको छ।
तपाईँ  आफूलाई स्टालिष्ट भन्नुहुन्छ। डिजाइनर र स्टाइलिष्टमा के फरक छ?
डिजाइनरले ग्राहकको चाहना र ज्यानअनुसारको ड्रेस डिजाइन गर्ने हो। स्टाइलिस्टले चाहिँ अरले डिजाइन गरेका ड्रेसलाई पनि राम्रो देखाउने स्टाइल दिने हो।
नेपालमा धेरैले यस्तै गर्छन्। तर, भन्नचाहिँ किन डिजाइनर भन्छन्?
लाज पचाउन सक्ने मान्छे भएको भए म पनि आफूलाई डिजाइनरकै रुपमा प्रस्तुत गर्थें होला।
टिनएजमा तपाईँ निकै फेसन पारखी हुनुहुन्थ्यो कि क्या हो?
मलाई राम्रो पहिरन लगाउने रहर सानैदेखि थियो। अलिकति पकेट मनी पाएँँ भने म त लुगा किन्थेँ। मैले १२ वर्षको उमेरदेखिका पहिरना कलेक्सन गरेर पनि राखेकी छु।
राम्री बनेर हिडेपछि त केटाहरु खुब जिस्क्याउँथे होलान!
राम्रो पहिरनमा सजिएर हिडिरहेकी केटीलाई अहिलेको जस्तो केटाहरु …वाह’ भनेर प्रतिक्रिया दिन्नथे। राम्रै तरिकाले प्रशंसा गर्न मन लागेपनि …ट्वाक्क’ जिब्रो पड्काउँथे। मलाई पनि धेरैले पड्काए होलान्।
कुनैदिन त्यसरी जिस्क्याएको सम्झना छ?
त्यतिबेला स्लिपलेस पहिरन त्यति प्रचलनमा आएको थिएन। एकदिन स्लिपलेस पहिरन लगाएर न्युरोड गएकी थिएँ। केटाहरुले जिस्क्याएर हैरान पारेको अझै याद छ।
अहिले पनि फेशन मोह कायम छ है!
अबको २० वर्षपछि भेट्नुभयो भनेपनि म फेसनेबलकै रुपमा देखिन्छु।
फेशनतिर कसरी तानिनुभयो?
म आफै फेशनेवल भएकाले पनि हो। दोस्र कुरा मलाई अरुभन्दा केही फरक क्षेत्रमा काम गर्न मन लाग्ने भएकाले पनि फेशनतिर तानिएको हुनुपर्छ।
तपाईँले त मोडलिङ पनि गर्नुभयो है …
त्यस्तै १२ वर्षअघिको कुरा हो। भाईले शब्द र संगीत दिएको …सम्झना त आइदिन्छ’मा मोडलिङका लागि अफर आयो। त्यसपछि मोडलिङ गरेँ। र्‍याम्प मोडलिङ त पहिले पनि गर्थेँ।
गायिका पनि बन्दै हुनुहुन्छ रे? 
गायिका त बनिसकेँ। तर, सबैका सामू त्यो रुप देखाउन बाँकी छ। भिडियो समेत बनाएर एल्बम् तयार गरेकी छु। तर, रिलिज गर्नै बाँकी छ।

%d bloggers like this: