Sat. Jun 25th, 2022

डिबी खड्का
रातको आठ बज्ने पाँच मिनेट मात्रै बाँकी थियो। एउटा साथैसँग शेर्पा मलमा कफी खाएर गफिदा समय घर्किसकेको थियो। घर जाने माइक्रो नपाउने डरले मन आत्तिएको थियो। बाटो छेकेर आँखा जुधाइरहेका युवायुवती देखेर रिस उठ्यो। …अलि कुनामा गएर मन लागेजति हेर्नु नि, बाटै छेक्नुपर्छ,’ मसिनो स्वरमा भुत्भुताएँ। सुनेको भए ठहरै पार्ला जस्तो ज्यान थियो। झन् डराएर खुट्टाले आफै गति बढाए। ओई! भन्यो कसैले। लौ सुनेछ क्यार,े मार्ने भो सोच्दै पछाडि हेरें। कोही पनि छैन। त्यो जोडी त्यहीँ थियो। …धन दाई’ बल्ल स्पष्ट सुनें, चिनेजस्तो तर कसको हो भनेर खुट्याउनै सकिनँ त्यो नारी आवाज। वास्तवमा उसैले …दाई’ भन्दा म डराएको भएर …ओइ’ सुनेछु।
जिकै कारमा युवती मुस्काइरहेकी छ। एकछिन त्यता हेरें। चिनेजस्तो लागेन। अरु कसैसँग मस्किहोली भनेर आफ्नै वरपर हेरें। अहँ कोही छैन, त्यो त क्वारक्वार्ति मलाई हेरिरहेकी छे। म फेरि हतारिएर हिँड्नै लागेको थिएँ। उसैले बोलाई, …दाई चिन्नुभएन कि क्या हो।’ मैले टाउको हल्लाएँ।
उसले परिचय दिइनँ। सोधी, …कता जान लाग्नुभएको?’ घर जान लागेको। …हतारै छ?’ गाडी नपाइएला कि भनेर। …ए… कता बस्ने हो ?’ कुपोन्डोल। …त्यसो भए हतार नगरे हुनेभयो, म छोड्दी हाल्छु नि।’ दरवारमार्गको रंगीन प्रकाशमा उसको अनुहार साह्रै सुन्दर देखिएको थियो। मैले को हो भन्ने ठम्याउन सकेको छैन, ऊ भन्छे घरमा छाडि्दन्छु। मलाई के गर्नु गर्नु जस्तो भयो। अत्ति भएपछि सरी मैले चिनिनँ भनें। …गाडीमा बस्नुस्, विस्तारै परिचय गर्नुपर्छ,’ उसले झन् ढुक्कले भनी। जे पर्ला नि त भनेर गाडीमा बसें। …दाई म त नाङ्लोको मम नखाएको धेरै भयो भनेर यता निस्केको त्यति बसेर कुरा गरौंला।’ म आज्ञाकारी भएँ । उसैको पछि लागेर जब नाङ्लोमा उक्लिएँ, कडा प्रकाशमा उसको अनुहार प्रस्ट देखियो। सम्झना रहिछ।
कालो वानपिसमाथि लगाएको कालै लेदरको ज्याकेटमा उसको ब्यक्तित्व खुलेको थियो। तर, पुसको ठन्डीमा पनि उसलाई ज्यानमा लेदरको ज्याकेट राख्न मन लागेन। खोलेर छेउको कुर्सीमा राख्दै भनी, …अझैं चिन्नुभा छैन?’ सम्झना होइनौ? …होइन, सम्झना त मरेकै चार वर्ष भइसक्यो।’ अलिकति हाँसी। लौ अर्काे फसाद! म अकमकिएको थाहा पाएर प्रस्ट्याइ। पाँच वर्षअघि तपाईंले चिनेकी सम्झना होइन म, पासपोर्टमा रामेश्वरी हुँ भने सबैले सज्जु भन्छन्। कन्फ्युजन थपिदै थियो।
मैले सम्झें। करिब पाँच वर्षअघिको त्यो पुष। हामीले सोह्रखुट्टेको उकालोमा यसैगरी मम खाएको। हामी बागबजारमा रहेको स्टार कल्चर ट्रेनिङ सेन्टरबाट नयाँ बजार सँगै फर्किन्थ्यौं। ऊ हिरोइन हुनका लागि त्यहाँ डान्स सिक्थी, म रेडियोमा बोल्ने रहरले एङकरिक सिक्थें। बसाइ एक ठाउँ भएकाले सँगै आउनेजाने गर्थ्याैं। उसले केही दिनमै एउटा फिल्मको गीतमा कोरस नाँच्न पाई, कम्ति खुशी थिइन। त्यही खुशीमा मम खुवाएकी थिई। त्यतिबेला २० रुपैयाँ प्लेट मम पाइन्थ्यो। तर, पसलेले त्यही दिन ग्याँसको भाउ बढेको भन्दै २ रुपैयाँ बढाएको रहेछ। खाएपछि थाहा भयो। उसँग ४० रुपैयाँ मात्रै रहेछ, मसँग सुको थिएन। हामी लाजले रातो भयौं। चार रुपैयाँ नपुगेको कुराले पसलेले नराम्ररी हप्काएको थियो। उसले भनेकी थिई, …एकदिन पैसा कमाएर यसको पसलै किन्दिन्छु।’
तीन महिनाको एङकरिङ क्लास सकिएपछि भेटघाट पातलियो। मोबाइल फोन बोक्ने दुबैको हैसियत थिएन। त्यसपछि एउटा भिडियोमा खेलिछ, टिभीमै देखेको थिएँ। फिल्म पत्रकारिता थालेपछि कहिलेकाहीँ खोज्थें। मलाई अझै विश्वास भइरहेको छैन। यो त्यही सम्झना हो भन्ने।
…किन टोलको दाई?,’ उसले तन्द्रा भंग गरी। म सम्हालिएँ, केही होइन। उसले मम अर्डर गरी। उसले अर्डर गरेकै कुरा खानुपर्ने बानी फेरिएको रहेनछ। मलाई के लिने? भनेर पनि सोधिन। दुईटा वियर पनि मगाई।
मैले नै कुरा झिकें, कहाँ थियौ यत्रो समय। …यतै थिएँ नि। नेपाल आएकै ६ महिना भइसक्यो,’ उसको उत्तर थियो, …दाई तपाईं खाशै चेन्ज हुनुभएको रहेनछ?’ छु नि, यी दाह्री कालै भएको देखिनस्, म जिस्किएँ। तेरो त लवाइदेखि खवाईसम्ममा क्रान्ति भएछ। …यस्तै हो दाई। त्यो दिन त्यतिका मान्छेका अगाडि चार रुपैयाँ नपुग्दा …पैसा नहुनेले पनि लभ गर्छन्’ भनेर वेइज्जत गरेको कुराले मेरो चित्त दुख्यो। त्यसपछि जसरी पनि पैसा कमाउन लाग्नुपर्छ भन्नेतिर लागें,’ ऊ आफ्नो सफलताको कथा बताउन थाली।
….
…साथीको सहारामा दरवारमार्गको एउटा रेस्टुरेन्टमा काम गर्न थालें। तीन महिना त्यहाँ काम गरेपछि एउटा ग्राहले पैसा कमाउने हो भने विदेश जानुपर्छ भन्यो। मलाई जसरी पनि पैसा कमाउनु थियो। त्यसैले उसैले भनेअनुसार भारत हुँदै सिंगापुर पुगें। पानी जहाजमा यात्रा गर्ने हो, ग्राहकलाई नमस्कार गरे पैसाको त ओइरो लाग्छ भनेको थियो। त्यही अनुसार अर्र्कैको पासपोर्टमा दुबई पो पुगियो। सिंगापुरमा पानी जहाजमा यात्रा गरेर पैसा कमाउने सपना पुगेकै दिन पानीमा मिसिसकेको थियो। उसले भनेको मान्छेलाई रेस्टुरेन्टमा काम गर्नुभन्दा नेपालै फर्किन्छु भनेकी थिएँ। तर त्यहाँ पुर्‍याउन डेढलाख खर्च भइसकेकाले त्यसो गर्न नसक्ने बताएपछि बेचिइछु भन्ने लाग्यो। पछि एउटा रेस्टुरेन्टमा काम लगायो। तलब राम्रै थियो, टिप्स पनि जोडेर महिनाको एक लाखसम्म कमाइ हुन्थ्यो। मलाई चाँडै धनी हुने सुर चढेको थियो। पराई देशमा कसले के देख्ने? मैले ग्राहकसँग पनि जान सुरु गरें। यही क्रममा उमेरले ६५ कटेको एउटा बुढाले रेस्टुरेन्ट मालिकसँग कुरा गरेर मलाई फिर्ता नगर्ने गरी घरमा लिएछ। पछि उसैले १० लाख रुपैयाँ तिरें भन्थ्यो। मैले आत्महत्या गर्ने धम्की दिएपछि उसले आफ्नो कोही नभएको र सबै सम्पत्ति मेरा नाउँमा गर्ने बतायो। त्यस्तै ५० लाख जति मेरा नाउँमा राख्यो पनि। तर, त्यो मान्छे राम्रो रहेनछ। आफूले मन लागेजति लुट्थ्यो, कहिलेकाहिँ आफ्नै उमेरका साथीहरुलाई पनि लुटाउँथ्यो। यो क्रम १५ जति चल्यो। एकदिन ऊ उसका साथीहरुबाटै मारिएछ। पछि घरमा पुलिसले खानतलासी लियो। मलाई पनि मुक्त गरायो।’ उसले लामो श्वास फेरि, गलबन्दीले आँशु पुछि।
त्यही पैसाले भैसेपाटीमा घर किनेको र त्योे गाडी किनेको बताई। परिवेश निकै भावुक बनेपछि मैले ठट्टा गरेंं, …अब त्यो मम पसल पनि किन्छ्यौ होला!’ ऊ हाँसी र फेरि भावुक भई, …त्यो दिन मम पसलेले त्यस्तो भन्दा मसँग स्वभिमान थियो। त्यही स्वभिमानले भनेको थियो। एक दिन देखाउँछु।’
मैले बिचमै भनें, अब त पैसा पनि छ। …तर, त्यो स्वभिमान कहाँ छ र दाई।’ म शब्दबिहीन भएँ।