Wed. Sep 28th, 2022

गायकका लागि ‘एकल साँझ’ सपना हो । त्यो सपना पूरा गर्न ठूलै हिम्मत चाहिन्छ । सुगम संगीतमा जमिरहेकाहरू बेलाबखत यस्ता कार्यक्रम गर्छन् । तर, लोकसंगीतमा लागेकामध्ये निकै कमले एकल कार्यक्रम आँट्छन् । नयाँ पुस्ताका लोकगायक विमल डाँगी दसैँको अवसरमा राजधानीका लोकलयप्रेमीमाझ एकल कार्यक्रम गर्ने तयारी गरिरहेका छन् । असोज १६ गते प्रज्ञा भवन, कमलादीमा उनले आफ्ना दर्जन गीत सुनाउनेछन् । बिन्ध्यवासिनी म्युजिक प्रालिले ‘विमल डाँगी एकल साँझ’को चाँजो मिलाइरहेको छ ।

विमलको यो पहिलो एकल कार्यक्रम होइन । उनले २०६५ सालमा पनि प्रज्ञा भवनमै एकल साँझ गरेर आफ्नो लोकप्रियताको परीक्षा गरिसकेका छन् । त्यसैले यसपटक उनी बढी आशावादी छन् । भन्छन्, ‘राजधानीमा लोकगीत सुन्न चाहने स्रोताको ठूलो जमात छ ।’ अमेरिकाका ११ वटा राज्यमा बस्ने नेपालीमाझ आफ्नो गायन कला प्रस्तुत गरेर एक महिनाअघि मात्रै देश फर्केका डाँगी यही ‘साँझ’मार्फत नेपाली स्रोतासँग बढेको भौतिक दूरी पनि घटाउन चाहन्छन् । झन्डै एक वर्षको अमेरिका बसाइमा उतै लोकगीत रेकर्ड गरेर नेपाली बजारमा पु¥याएका उनी आफ्ना स्रोतासँग सामीप्य कायमै रहेको बताउँछन् ।

को हुन् विमल ?

हिमाली जिल्ला डोल्पामा जन्मेहुर्केका डाँगी झन्डै १३ वर्षअघि ‘हिमाली सुस्केरा’ नामक लोकगीतको एल्बम ल्याएर संगीत क्षेत्रमा देखिएका थिए । पहिलो एल्बमले उनलाई राष्ट्रिय उचाइ दिन सकेन । तर, उनलाई घाटा भएन । कलाकार कसरी बन्छन् ? रेडियोमा गाउने मान्छे कस्ता होलान् ? जस्ता प्रश्नकै उत्तर नभेटेका धेरै डोल्पालीले आफ्नो जिल्लाको पहिलो गायकलाई माया गरे । घरमा क्यासेट भएका सबैले एक थान एल्बम किनिदिए । ‘देशकै चर्चित गायक हुने सपना पूरा नभए पनि जिल्लामा जाँदा पञ्चैबाजा घन्काएर स्वागत गरेको त्यो क्षणभन्दा रमाइलो समय अहिलेसम्म आएकै छैन,’ उनले सम्झिए । सानै उमेरमा बुवा गुमाएका उनलाई करिअरको यो उचाइ दिने आमा र मातृभूमि हुन् । ‘आमाले बुवाको अभावमा पनि छोरालाई कुनै कुराको अभाव हुन दिनुभएन,’ उनले भने, ‘उहाँले दुःख गरेर जम्मा गरेको रकमले एल्बम निकालेँ । अन्त त्यति रेस्पोन्स नपाए पनि डोल्पाले मेरो ऊर्जा खेर जान दिएन ।’ उनका बुवाले बनाएको स्याउ फर्मको आम्दानीले तेस्रो एल्बमसम्म निकाले उनले ।
चौथो एकल एल्बम ‘पानसमा बत्ती बालेको’ले उनको करिअर पनि झलमल्ल पा¥यो । उनी हिट कलाकारमा दरिए । दोहोरी साँझमा गीत गाएर गुजारा चलाइरहेका उनलाई स्टेज कार्यक्रममा निम्तो आउन थाल्यो । पश्चिमेली देउडादेखि पूर्वेली भाकासम्म गायका उनले १८ वटा एकल एल्बम ल्याइसकेका छन् ।
अत्यधिक रुचाइएको उनको अर्काे गीत हो– ‘फापरको पिठो पठाइदेऊ आमा ।’ गायक बन्ने रहर बोकेर राजधानीको ललितकला क्याम्पसमा पढ्दै गर्दाको अनुभव समेटिएको गीत हो त्यो । भन्छन्, ‘काठमाडौँको बसाइ र आमाले जसोतसो पठाउनुभएको खर्चको तालमेल नमिल्दा पलाएका भावना गीतमा उतारेको हुँ ।’ राजधानीबाहिरबाट आएका अधिकांश विद्यार्थीको मनोदशा गीतमा छ । गायनलाई करिअर बनाउने सिलसिलामा अनगिन्ती झेलेका दुःख छन् । अभावसँग निकै जुधेका छन् उनी । भन्छन्, ‘ती दुःखमा सुख पनि थियो । मासु किन्ने पैसा नहुँदा कुखुराको खुट्टाको झोल भातसँग मुछेर खाँदाको स्वाद बिर्साउने खाना अमेरिकासम्म पुग्दा पनि पाएको छैन ।’
–डिबी खड्का