Thu. Mar 28th, 2024

३ असोज, काठमाण्डौं । एकीकृत नेकपा माओवादीले संविधानसभा निर्वाचनमा उपत्यकामा अधिकांश नयाँ उम्मेदवार उठाउने भएको छ । नेवाः राज्य समितिले बुधबार उपत्यकाका १५ निर्वाचन क्षेत्रमा तीन पुराना र १२ नयाँ अनुहारसहित १५ जना उम्मेदवारको नाम उम्मेदवार छनोट सिफारिस समितिलाई बुझाएको छ ।
काठमाण्डौं क्षेत्र नम्बर १० बाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उठ्नेछन् । उनीसहित काठमाण्डौं ७ बाट हिसिला यमी र क्षेत्रनम्बर २ बाट झक्कुप्रसाद सुवेदी दोहोरिने छन् । सुवेदी तत्कालीन एमाले महासचिव माधवकुमार नेपाललाई पराजित गरेर चर्चित भएका थिए ।
‘उपत्यकामा अधिकांश नयाँ अनुहार ल्याउने निर्णय गरिएको छ, त्यहीअनुसार नाम सिफारिस गरिएको छ,’ नेवाः राज्यमा कार्यरत माओवादीका एक केन्द्रीय सदस्यले भने ‘केन्द्रीय समितिलाई उम्मेदवारको नाम हेरफेर गर्ने अधिकार भए पनि सम्भवतः आज पठाएको नाम नै अन्तिम हुनेछ,’ नयाँ पत्रिका दैनिकमा खबर छ ।
बाँकी १२ क्षेत्रमा नयाँ अनुहार अघि सारिएको छ । काठमाण्डौं क्षेत्र नम्बर १ बाट रेणु दाहाल, ३ बाट गणेश रेग्मी र ४ बाट नन्दकिशोर पुन ‘पासाङ’को नाम सिफारिस भएको छ । प्रचण्डपुत्री रेणु यसअघि समानुपातिकबाट सभासद थिइन । उनी अहिले माओवादीको नेवाः राज्य समितिकी सदस्य पनि हुन् । उनको प्रतिष्पर्धा कांग्रेस महामन्त्री प्रकाशमान सिंहसँग हुने निश्चित छ, एमालेले उम्मेदवार निक्र्योल गरेको छैन् ।
त्यस्तै क्षेत्र नम्बर ५ बाट महेन्द्र श्रेष्ठ, ६ बाट हिमाल शर्मा, ८ बाट मुक्ति प्रधान र ९ बाट देबेन्द्र पौडेलको नाम सिफारिस भएको छ । त्यसैगरी ललितपुर क्षेत्र नम्बर १ बाट हरि दाहाल, २ बाट दिनेश महर्जन र ३ बाट सरोज डंगोलको नाम सिफारिस भएको छ भने, भक्तपुर १ मा सानु सिलवाल र २ बाट देवीप्रसाद ढकालको नाम सिफारि भएको छ ।
उम्मेदवार छनोट सिफारिस समितिले यसअघि प्रत्येक क्षेत्रबाट पाँच/पाँचजनाको नाम मागेको थियो । तर, पछि समितिले एक/एकजनाको मात्र नाम पठाउन भनेपछि नेवाः राज्यले एक क्षेत्रबाट एकजनाको नाम पठाएको हो ।

%d bloggers like this: