Thu. Apr 18th, 2024

बर्दिया— हतियार सहित नेपाल छिरेका भारतीय प्रहरीको टोलीले बर्दियाको गुलरिया–८ का मन्जुरकुमार श्रेष्ठको घरमा बुधबार बिहान खानतलासी गरेको छ। नेपाली सुरक्षा निकायलाई पत्तै नदिइ भारतीय बर्दीमा हतियार सहित तीनवटा जिपमा आएका एक दर्जन प्रहरीले श्रेष्ठको घर घेरा हाली खानतलासी लिएका हुन्।
श्रेष्ठको घरमा अपराधी लुकेको भन्दै हतियार सहित भारतीय बर्दीका प्रहरी आएपछि परिवारमा आतंक मच्चिएको थियो। स्थानीय नेपाल प्रहरीलाई भारतीय प्रहरी नेपाल छिरेको जानकारी गराएका थिए।
भारतको उत्तर प्रदेश लखिमपुरका ओसी (डिएसपी) उदयप्रसाद सिंह नेतृत्वमा आएको टोलीले श्रेष्ठको घरमा छापा मारेका हुन्। बहराइचका सुभाष चन्द, उदयप्रताप, जयप्रकाश, गोन्डाका राम कुमारलगायत थिए। जिल्ला प्रहरी कार्यालयले चाहिँ लखिनपुर खिरीका इन्स्पेक्टरको नेतृत्वमा छजना जुनियर प्रहरी अधिकृतसहितको टोली बिनासूचना श्रेष्ठको घरभित्र पसेको जानकारी दियो।
युपी ३१ जी ००४६ नम्बरको जीप र नम्बर उल्लेख नभएको अर्को कार चढेर आएका सादा पोशाक र बर्दीधारी भारतीय प्रहरी हतियार सहित श्रेष्ठको घर छिरेका थिए।
‘भारतीय प्रहरी अचानक आएर सरासर घरभित्र पस्दा अत्तालियौं,’ वृद्धा देवी श्रेष्ठले भनिन्, ‘घरमा महिला मात्र थियौं, पति मर्निङ वाकमा जानुभएको थियो।’
सीमाको बाटो प्रयोग गरेर भारतीय प्रहरी नेपाल पस्दा पनि बेखबर हुनु नेपाल प्रहरीको गैरजिम्मेवारी भएको स्थानीयले बताए। ‘सीमामा सशस्त्र प्रहरी बलको क्याम्प ठाउँ–ठाउँमा छ, नेपाल प्रहरीको पनि ठाउँ–ठाउँमा चेकपोस्ट छन्,’ एक स्थानीयले भने, ‘किसानले एक बोरा मल ल्याउँदा पक्रेर भन्सारमा बुझाउने प्रहरी सुरक्षामा संवेदनशील हुनुपर्दैन ?’
भारतीय प्रहरीले अपराधी बसेको गोप्य सूचनाका आधारमा श्रेष्ठको घरमा छापा मारेको जनाएको छ। ‘भारतीय प्रहरी मारेर फरार भएका अभियुक्त लुकेर बसेको सूचनाका आधारमा छापा मारेका हौं,’ लखिनपुरका सबइन्स्पेक्टर उदयप्रताप सिंह नागरिकन्युजसँग भने, ‘सूचना थाहा पाए भाग्लान् भनेर हामीले नेपाल प्रहरीलाई खबर गरेनौं ।’
जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेन्द्रप्रसाद धमलाले समन्वय गरेर आएको भए राम्रो हुने बताए। ‘सीमा क्षेत्रमा आपसी समन्वय गरेर अभियुक्त समाउने गरिए पनि उनीहरूले बिनासूचना छापा मारे,’ उनले भने ।
भारतीय प्रहरीले यसअघि नेपाली भूमिबाट पक्राउ गरी तीनजना नेपाली बेपत्ता पारेका थिए । जमुनीका हर्कबहादुर शाहीलाई घरनजिकैबाट २०६७ साल फागुन ५ गते पक्राउ गरेर लगेका थिए । उनको अवस्था अज्ञात छ । त्यस्तै गएको फागुनमा पक्राउ परेका राममिलन यादव र हसनापुरकट्टीका मनोज यादवको अवस्था पनि अज्ञात छ ।
सरुवा भएर आउने नयाँ प्रहरी प्रमुखले सीमामा सुरक्षा रणनीति नअपनाउँदा यस्ता घटना दोहोरिरहेको स्थानीयको भनाइ छ ।(source: nagariknews)

%d bloggers like this: