Wed. Apr 24th, 2024

मण्डला थिएटर नेपालले मंगलबारदेखि प्रयोगात्मक नाटक ‘इब्सन ल्याव’को मञ्चन शुरु गरेको छ । मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक प्रसिद्ध नर्वेली नाटककार हेनरिक इब्सनले लेखेका छ वटा नाटकहरु तथा तिनका चरित्रहरुमाथि आधारित छ । महिला तथा तिनका समस्याहरुमाथि नाटक लेख्न रुचाउने नाटककार इब्सनका विश्वप्रसिद्ध नाटकहरु ‘ए डल्स हाउस’, ‘द मास्टर बिल्डर’, ‘हेडा ग्याब्लर’, ‘लेडी फ्रम द सी’, ‘द घोस्ट’ र ‘वाइल्ड डक’का केहि दृश्यहरु समावेश गरिएको यस नाटकमा ती नाटकमा गलत सामाजिक संरचनाका कारण पीडित हुन बाध्य पुरुष पात्रहरुले गरेको अस्तित्वको खोजीलाई प्रस्तुत गरिएको छ ।
‘वर्तमान समयमा महिला हिंसा बढीरहेको समाचारहरु आइरहेका बेला पितृसत्तात्मक समाजमा पीडित हुनेहरुमा महिला मात्रै नभएर पुरुषहरु स्वयम् पनि रहेको नाटकको निश्कर्ष छ,’ निर्देशक राजन खतिवडाले भने । समुना केसीको परिकल्पनामा निर्माण भएको नाटकलाई राजन खतिवडाले निर्देशन गरेका हुन् । मण्डला थिएटरका केही पुराना तथा प्रशिक्षार्थी कलाकारहरुको अभिनय रहेको नाटक आगामी असोज १२ गतेसम्म मण्डला नाटकघरमा मञ्चन हुने जनाइएको छ । नाटकमा बुद्धि तामाङ, बिजय बराल, बिकास जोशी, मोहम्मद नाजिर हुसेन, सुरज यादव, आर्जेश रेग्मी, जुनु विष्ट, एलिना थापा, चन्दा राई, सुरेश सापकोटा, बाल्मिकी पोखरेल, बिजय बुढाक्षेत्री, किरण सुनुवार, सन्तोष भट्टराई, रविन श्रेष्ठ, शिवराज बस्नेत, दिपेन्द्रसिंह दर्नाल र अभिषेश नेपालले अभिनय गरेका छन् । तस्बिर सौजन्यः सुलक्षण भारती

DSC_0879 DSC_1032 DSC_0851 DSC_1074 DSC_1290

%d bloggers like this: