Fri. Apr 26th, 2024

दुःख–सुख बाँड्ने भनेकै आफूले मन पराएको मान्छेलाई हो । अरूसँग बाँड्नुको कुनै अर्थ छैन । त्यस्तै, लामो समयपछि सहरमा राम्रो जागिर पाएपछिको खुसीको क्षण सन्तोष आपूmले मन पराएको मान्छेलाई सुनाउन चाहन्थे । त्यही सिलसिलामा उनी सोमबार दिउँसो एक प्याकेट लड्डु बोकेर सुष्माको घर पुगे । उता, सुष्मा भने सुन्दरलाई भेट्न शृंगारपटारमा व्यस्त थिइन् । हातमा लड्डु बोकेर सन्तोष आइपछि उनी झस्किन् । र, भनिन्, ‘ए तिमी कतादेखि आइपुग्यौ ?’ सन्तोषले हातमा लड्डु देखाउँदै भने, ‘सुष्मा, म जब होल्डर भएँ नि !’ त्यसैले तिमीलाई खुसी सेयर गर्न आएको हुँ । लौ यो खुसीमा लडडु खाऊ ।’
प्रसंग छायांकनको अन्तिम चरणमा रहेको नेपाली चलचित्र ‘सुकुलगुन्डा’ को हो । सन्तोषको भूमिकामा श्रीदेव भट्टराईले अभिनय गरिरहेका थिए भने सुष्माको भूमिका खुस्बु खड्काले । अनामनगरस्थित नूतन स्टुडियोमा उक्त ‘सर्ट’ लिइरहेका थिए, चलचित्र निर्देशक मधुसूदन भट्टराई ।
सुटिङ ‘ब्रेक’मा चलचित्रका नायक श्रीदेव भन्दै थिए, ‘यो ‘वान्साइटेड लभ’को सिक्वेन्स हो । सुष्मा (खुस्बु) मेरो सानैदेखिको साथी हुन्छिन्, विस्तारै म उनलाई मन पराउन थालेको हुन्छु तर, उनले भने सुन्दर (जीवन लुइँटेल)लाई मन पराउँछिन् ।’ त्रिकोणात्मक प्रेमकथाजस्तो लाग्ने चलचित्र ‘सुकुलगन्डा’ मा शीर्ष भूमिका भने जीवन (जो चलचित्र सुन्दर बनेका छन्) ले निर्वाह गरिरहेका छन् । तर, सोमबार जीवनको सर्ट नभएकाले उनी उपस्थित भएनन् ।
‘आजको छायांकन श्रीदेव र मेरो मात्र हो,’ नायिका खुस्बुले भनिन्, ‘अहिले मैले गरिरहेको सिन भनेको सुन्दरलाई भेट्न जाने हो । सुन्दरले मलाई डेटिङमा बोलाएपछि जानै लाग्दा सन्तोष आइपुग्छन् ।’ चलचित्र ‘सुकुलगुन्डा’ मा खुस्बुले दुई पुरुषको प्रेम पाएपछि मात्तिएकी छन् । तर, उनी सन्तोषको भावना बुझ्न नसकेका कारण दुःख झेलिरहेकी हुन्छिन् । आफ्नो भूमिकाबारे खुस्बुले भनिन्, ‘सन्तोषले मलाई वान्साइटेड प्रेम गर्छन् तर मचाहिँ सुन्दरलाई मन पराउँछु । सुन्दरले मेरो आमा बचाइदिएकाले उनीप्रति एकोहोरिएकी हँु ।’ चलचित्रको छायांकन ८० प्रतिशत सकिएको निर्माता राजेश शाक्यले बताए । उनले भने, ‘अब सात दिनमा पूरै चलचित्र सकिन्छ ।’ राजेशले पहिलोपटक चलचित्र क्षेत्रमा हात हालेका हुन् । यसअघि घर–जग्गाको कारोबार गर्दै आएका निर्माता राजेशले भने, ‘पहिलोपटक चलचित्र क्षेत्रमा हात हालेको हुँ तर रमाइलो लागिरहेको छ । कलाकार र प्राविधिकको राम्रो सपोर्ट पाएको छु । दिन बितेको थाहै हँुदैन ।’
३ भदौबाट छायांकन भइरहेको ‘सुकुलगुन्डा’ को लगानी करिब ४० लाख रूपैयाँ पुग्ने अनुमान निर्माता राजेशको छ । ‘३० देखि ३५ लाखमै सक्ने सोच थियो तर बढेर ४० पुग्ला नाघ्लाजस्तो छ,’ उनले भने । लगानी बढे पनि उनी खुसी नै छन् । चलचित्रले लगानी उठाउनेमा उनी ढुक्क देखिन्छन् ।
राजेश शाक्य, महेशप्रसाद मुडभरी र रमेश बस्नेतको संयुक्त लगानी रहेको ‘सुकुलगुन्डा’ले मानिस बाहिर देखिएजस्तो हुँदैन भन्ने सन्देश प्रवाह गरेको छ । भट्टराईले निर्देशन गरेको यस चलचित्रमा जीवन लुइँटेल, खुस्वु खड्का र श्रीदेव भट्टराईका अलावा सुशील पोखरेल, राजकुमार शाह, रश्मि भट्टलगायतको मुख्य अभिनय छ । द्वन्द्वनिर्देशन भने सानुकुमार श्रेष्ठको रहेको छ ।

%d bloggers like this: