Sat. Jun 25th, 2022

बद्री पंगेनी टाठाबाठा लोकगायक मानिन्छन्। लोकगीत लेखन र गायनमा उत्तिकै क्षमता भएका उनले लेखेका/गाएका …ससुरालीमा’, …पिएन क्याम्पस’, …ढल्के पीपल पलायो’ लगायत लोकदोहोरी गीत चर्चित छन्। उनका …अझै लोकतन्त्र आको छैन है’ र …लाऊ चेली सिन्दुर लाऊ’ जस्ता चेतनामूलक गीत पनि …हिट’ छन्। लाइभ दोहोरीमा झन् धेरै जम्न सक्ने पंगेनीसँग धनबहादुर खड्काले गरेको कुराकानीः
तपाईंको त गीतबाटै लभ पर्‍या रे नि?
हो। म आठ कक्षामा पढ्थेँ। त्यतिबेला एउटा सांस्कृतिक कार्यक्रमको तयारी हुँदै थियो। म गीत गाउँथेँ। उनी नाच्थिन्। चिनजान थिएन। उनलाई मैले गीत गाएको र म पनि मन परेछु। एकदिन राधा भन्ने साथीले …ए बद्री कल्पुले तँलाई यो पठाइछे’ भन्दै चिठी दिइन्। चिठीमा उनले लेखेको सुरुको लाइन याद छ, …श्री प्राणभन्दा प्यारो बद्री, नदीभन्दा लामो, सागरभन्दा गहिरो चिनीभन्दा गुलियो…प्यार’। स्कुलमा उनलाई देखँे। उनी पनि त्यही स्कुलमा पाँच कक्षामा पढ्दी रहिछन्। मलाई पनि उनी मन पर्न थाल्यो। उनको पे्रेमपत्रको जवाफ फर्काएँ।
तपाईंको चर्चित गीत …ससुरालीमा’ चाहिँ साँच्चै साली मन परेर बनाउनुभएको हो?
साली मन परेर होइन, नभएको झोँकमा पो बनाएको हो कि! घरकै कान्छी छोरी बिहे गरियो । त्यसकारण मलाई अरूकै कान्छी साली चाहिँ मन परेर बिहे गरेँ!
कसरी लेखियो त?
मलाई भगवान भण्डारी दाइले …अहिले सालैमा, पर्‍यौ नि पातली माया जालैमा’ भनेर गीत दिनुभाथ्यो। त्यही गुनागुनाउँदै हिँडिरहेको थिएँ। अरूले भन्ने गरेको …ससुराली’ सेन्ट्रेल जेलनेर आइपुग्दा एक्कासि यो लाइन फुर्‍यो। त्यसपछि …ससुरालीमा’ गीत बनाएँ।
लोकदोहोरी गीत गाउन र बनाउन रोदीमा सिक्नुभएको हो?
हाम्रा पालामा रोदी हराइसकेको थियो। मेरो गाउँ पाल्पाको गैटार हो। त्यहाँ एकजना मुस्लिम दाइ पनि बस्नुहुन्थ्यो। उहाँसँग मादल थियो। हामी फुर्सद भयो कि त्यहाँ गएर मादल बजाएर गीत गाइहाल्थ्यौँ। त्यहाँ गाउन नजिकै पर्ने स्याङ्जाका गाउँबाट पनि आउँथे। बिस्तारै त्यो …रोदी’कै रूपमा जम्न थाल्यो। तन्नेरी र तरुनी जम्मा भएपछि गीतमै ख्यालठट्टा हुने नै भयो। म सानै थिएँ, तरुनीभन्दा बढी गीतमा चासो थियो। त्यसले पनि मलाई गायक बनाएको हो।
दोहोरी साँझमा कति समय गाउनुभयो?
दोहोरी साँझमा सबैभन्दा लामो समय गाउने गायक मै हुँला किनभने २०५४ सालमा काठमाडौँ छिरेदेखि अहिलेसम्म दोहोरीमै गाइरहेको छु। ठूलाबडाका शब्दमा अझै म होटलमा काम गर्ने कलाकार हुँ।
तपाईंले अहिले पनि दोहोरीमा गाउनु बाध्यता चाहिँ होइन होला–
दोहोरीमा गाउनु सबैको वशको कुरा होइन। अरूको रोजाइअनुसार गाउन र सन्तुष्ट पारेर फर्काउन कलाकार भएर मात्रै पुग्दैन। मसँग अरूलाई रिझाउने त्यो कला भएकोमा गर्व ठानेर गाउँछु। धेरैजना मैले गाउने गरेको दोहोरी साँझमा आउँछन् र भन्छन्, …बद्रीजी, म तपाईंको ठूलो फ्यान हुँ, तर तपाईंले यहाँ गाएको सुहाएन। भोलि नै छाडिदिनोस्।’ हामीकहाँ अझै श्रमलाई सम्मान गर्ने प्रचलन छैन। त्यसो भन्नेहरूमा त्यो चेतना छैन जस्तो लाग्छ।
दोहोरीमा काम गर्ने कलाकार त हो भनेर हेप्दा पनि हुन्?
हो नि। सुरुमा …ओहो बद्री सर नमस्कार, म तपाईंको ठूलो फ्यान’ भन्दै उस्तै परे खुट्टैमा ढोगुँलाझँै गर्छन्। त्यसपछि आएर बस्छन्। रक्सी खान थाल्छन्। …सर’ भन्नेहरू …जी’मा झर्छन्। …बद्रीजी आउनुहोस् बसौँ’ भन्छन्। मन राख्न गएर बस्यो। …जी’ पनि हट्छ। …ओई बद्री खाऊ’ भनेर रक्सी दिन्छन्। म त कहिल्यै खान्नँ, भयो सर भन्छु। …तँ गाइने, ठूलो हुन्छस्?’ भन्छन्। बिस्तारै अहिलेका नेपाली फिल्मका जस्ता छाडा संवाद बोल्न थाल्छन्। कतिलाई त हातपातै गर्नुपर्छ।
दोहोरीमा गाउन थालेको १५ वर्षमा कस्ता–कस्ता समस्या भोगियो?
प्रहरी र डनले निकै दुःख दिन्छन्। ठूलठूला डन दोहोरीमा आउँछन्। उनीहरूले भनेको समयसम्म गाइदिनुपर्छ। अहिले अलि कम भएको छ। त्योभन्दा ठूलो समस्या प्रहरीबाट भोगियो। हामी सबै स्टाफ बोकेको गाडी रोकेर चेकिङ गर्थे। …दोहोरीमा गाउने मान्छे हौँ’ भन्दा सबैलाई गाडीबाट झारेर सडकमै गीत गाउन लगाउँथे। प्रशासनले ११ बजे बन्द गर् भन्दा साहूले १२ बजेसम्म खोलिदिन्छ। साहूलाई प्रहरीले केही गर्दैन, हामी कलाकारलाई जेल हाल्छ। कति चोटि म पनि जेल परेको छु।
एल्बम बिक्री हुने समयमा कति वटासम्म बेचिएका छन्?
…ससुरालीमा’ दुई लाख ६५ हजार कपी बिक्री भएको थियो। प्रतिएल्बम पाँच रुपैयाँ रोयल्टी दिइन्थ्यो। त्यही एल्बमको बिक्री नै अहिलेसम्म बाँच्ने आधार पनि बनेको हो।
काठमाडौँ आउनुको पहिलो उद्देश्य गायक बन्नु थियो वा अरू नै?
गायकै बन्छु भनेर दुई रोपनी जग्गा बेचेर काठमाडौँ आएको हुँ । त्यतिबेला एल्बम निकाल्न त्यस्तै २५/३० हजार रुपैयाँ ल्याएको थिएँ। …तानसेन खस्यौली’ भन्ने एल्बम निकालेँ। त्यसपछि पुकार दोहोरी साँझमा गाउन थालेँ। …पिएन क्याम्पस’ भन्ने गीतबाट चाहिँ म गायकका रूपमा स्थापित भएँ।
तपाईँको एउटा गीत छ, …लाऊ चेली सिन्दुर लाऊ।’ यसमा तपाईंले छोरी, बहिनी र श्रीमतीलगायतका प्रसंग राख्नुभएको छ। तर, स्टेजमा गीत गाउँदा …यदि म मरेँ भने अर्काे बिहे गर सानु’ भन्ने बेला अँगालो मारेर दर्शकलाई देखाउन स्थानीय युवती बोलाउनुहुन्छ, किन?
मैले एकपटक राष्ट्रिय सभागृहमा …महिला मर्दा पुरुषले अर्काे बिहे गर्ने अरे, पुरुष मर्दा महिलाले चाहिँ सेतै लाउनु पर्ने अरे, लाऊ चेली सिन्दुर लाऊ’ भनेर सेतै पहिरनमा एकजना बहिनीलाई उतारेको थिएँ। त्यो चेतनाका लागि थियो। तर, धेरैले मेरै बहिनी ठानेर भकाभक नगद सहयोग गर्न थाले। मलाई झुक्याएर पैसा असुलेको आरोप लाग्ने डर लाग्यो। त्यस्तै धनगढीमा सबै दर्शकसहित सुरक्षाकर्मी पनि रोएर हैरान भयो। त्यसैले चेतनासँगै माहोल पनि रमाइलो गर्न …चेली’ छाडेर …श्रीमती’को ठाउँमा मोडलिङ गराउन थालेको हुँ।
तपाईंले स्टेजमा निकै दोहोर्‍याउने अर्काे प्रसंग छ। …मेरी राम्री छोरी छिन् तर श्रीमतीले छोरै चाहियो भन्छिन्’ भन्ने। कति सत्य हो?
सत्य नै हो। तर, छोरी पनि छोरा सरहकै सन्तान हो भन्ने सबैलाई बुझाउन मैले त्यसलाई रमाइलो तरिकाले प्रस्तुत गर्ने गरेको छु।
लोकतन्त्र भर्खर आएको उत्साह भएका बेला तपाईंले गीत निकाल्नुभयो, …अझै नि लोकतन्त्र आको छैन है।’ अहिलेको राजनीतिक अवस्थामाथि तपाईंको टिप्पणी के हो?
मैले त्यो गीतमा भनेको …अझै नि लोकतन्त्र आको छैन है, जनताले भनेझैँ भाको छैन है’ नै यतिबेलाका लागि काफी छ। वास्तविक गणतन्त्र, लोकतन्त्र र जनताको शासनका लागि अझै लड्नुपर्ने देखिएको छ। अझै एउटा क्रान्ति जरुरी छ।
तपाईं कम्युनिस्ट हो?
कम्युनिस्ट विचारधारालाई मन पराउने मान्छे हुँ। कसैको कार्यकर्ता होइन। र, म कम्युनिस्ट पनि होइन। पहिला–पहिला केही मान्छे कम्युनिस्ट थिए तर अहिले नेपालमा कोही पनि कम्युनिस्ट रहेनन्। कम्युनिस्टमा हुनुपर्ने आदर्श, त्याग र निष्ठा ममा पनि छैन। अब यो नसोध्नुहोस्, …भोट कसलाई हाल्नुहुन्छ?’ त्यो त म श्रीमतीलाई पनि भन्दिनँ।
राजनीति गर्ने रहर छ?
छैन, किनभने नेतामा हुनुपर्ने गुण ममा छैन। चलेको कलाकार नेता हुनु भनेको पौडी खेलाडीले फुटबल खेल्न गएजत्तिकै हो।
फुटबलको प्रसंग ल्याइहाल्नुभयो। गीतभन्दा बढी मोह फुटबलप्रति छ रे हो?
त्यो त हो। मलाई खेल निकै मन पर्छ। कसैले …दुई सय मान्छेका अघि फुटबल खेल्छस् कि दश हजार मान्छेका अघि गीत गाउँछस्’ भनेर विकल्प दियो भने अघिल्लो छान्छु। नेपालमै हुने अन्तर्राष्ट्रिय खेलका लागि राम्रो आम्दानी हुने कार्यक्रम भए पनि गीत गाउन छाडेर फुटबल हेर्न जान्छु। भदौमा नेपाललगायत आठ देशको नेपालमै एउटा प्रतियोगिता हुँदै छ। मैले त्यतिबेलाका कार्यक्रमका अफर क्यान्सिल गर्न थालिसकेँ।
फुटबल खेलाडीमध्ये तपाईंलाई को–को मन पर्छन्?
नेपाली खेलाडीमा पहिले वसन्त थापा, हरि खड्का, वसन्त गौचन मन पर्थे। अहिले अनील गुरुङ, सागर थापा र जगजीत श्रेष्ठ मन पर्छन्। विदेशी खेलाडीमा म्याराडोना मन पर्छन्।
अहिले नेपाली संगीतमा लोकगीतलाई हेयभावले हेरिनुको कारण के होला?
लोकगीत हामीले गायौँ। पाखा, कुनाकन्दराका ढिँडो खाएर हुर्केकाहरूले गायौँ। अरू गीत शहरका धनीमानीले गाए। तिनै सम्भ्रान्त वर्गका धनीमानीले गरिबलाई हेपेजस्तै गरिबले गाउने गीतलाई पनि हेपे। तर, मलाई अहिले खुसी लाग्छ। करोडौँका गाडीमा सिसा लगाएर दोहोरी सुन्नेहरू प्रशस्तै बढेका छन्। यहाँ लोकगीत भनेर हेप्नेहरूले विदेशमा पुगेपछि त्यही गीतमा कम्मर मर्काउन खोज्छन्। हामीलाई कार्यक्रमका लागि बोलाउँछन्।
तपाईंले …पिएन क्याम्पस’,…ब्युटी नम्बर वान’ जस्ता गीतमा अंग्रेजी शब्दको प्रयोग गर्नुभयो। पछिल्लो समय त झन् लोकदोहोरी विकृत हुँदै गएको आरोप छ नि?
सर्वसाधारणले बुझ्ने आगन्तुक शब्दको प्रयोग गरेर मैले ती गीत बनाएको हुँ। अंग्रेजी शब्दको प्रयोग त्यसअघि नै …घुम्तीनेर लेट भयो’, …झमझम स्टकोट’ जस्ता गीतमा पनि भइसकेको थियो नि। त्यसैले मलाई यो समयसापेक्ष परिवर्तन होजस्तो लाग्छ।
शुक्रवारबाट