Sun. Jun 26th, 2022

रेडियो जक्कीका रूपमा केही समय बिताएका राजवल्लभ कोइराला फिल्म ‘पर्खी बस’बाट अभिनेताका रूपमा उदाएका हुन् । पहिलो फिल्म नै सुपरहिट भएपछि उनलाई फिल्म खेल्ने अफरको ओइरो लाग्यो । पढेलेखेका र राम्रो अभिनय क्षमता भएका कलाकारमा गनिने उनले हलिउड फिल्म ‘हाइवे टू धम्पुस’मा पनि काम गर्ने अवसर पाए । उनले ‘मसान’, ‘अपवाद’ जस्ता फिल्ममा काम गरेका छन् । उनको अभिनय क्षमता र फिल्मको चर्चा भए पनि अपेक्षित व्यापार नभएपछि उनी निराश छन् । उनीसँग गरिएको अन्तरंग कुराकानीः  
विदेश निकै लामो समय बसियो त ?
हलिउड फिल्म ‘हाइवे टू धम्पुस’ को बाँकी सुटिङका लागि गएको थिएँ । त्यो सकिए पनि बसाइ लम्बियो । भाइ र बहिनी अमेरिकामै बस्ने भएकाले यसपालिको दशैँ उनीहरूसँगै मनाउने योजना थियो । फर्किहाल्नुपर्ने बाध्यता नभएकाले मौका पाएको बेला घुमिहालौँ न भनेर पनि बसाइ लम्ब्याएँ किनभने त्यो फिल्मले पैसा पनि राम्रै दिएको थियो र बसेको, आएको र घुमेको पनि पैसा दिने भएपछि अवसरको उपयोग गरौँ न भन्ने भयो ।
हलिउडमै भविष्य खोज्ने प्रयास गरिएन ?
किन नगर्नु, गरेँ नि । ‘हाइवे टू धम्पुस’मा नेपाली कलाकार अनिवार्य थियो र मलाई लिए । फेरि पनि मलाई काम गर्न मेरो लुक्स चाहिने क्यारेक्टर पनि हुनुप¥यो । यो फिल्म केही ठूला फेस्टिभलमा सहभागी भएपछि त्यस्ता अवसर प्राप्त होलान् कि भन्ने आशा चाहिँ छ । हलिउडको फिल्म बजारभित्र कसरी पस्ने भन्नेबारे केही बुझेँ । त्यहाँ युनियन र नन् युनियन फिल्म बन्दा रहेछन् । युनियनबाट ठूला बजेटका फिल्म बन्छन् । युनियनभित्र रहेर काम गर्न वा त्यहाँ प्रवेश गर्न अमेरिकाको वर्किङ परमिटलगायत प्रक्रिया पूरा गर्नुपर्छ ।
त्यसो भए कोसिसले काम गरेन ?
कोसिससम्म गरेको हुँ । कोही धनी हुने कोसिस गर्छन्, कोही खुसी हुने । मैले अवसर खोज्ने कोसिस गरेँ । मैले यहाँ गरेको कामको प्राफाइलले त्यहाँ केही गर्दैन । यहाँ लिएको डिग्रीले पनि त्यहाँ काम गर्दैन । त्यसैले सजिलो भएन ।
हलिउड र नेपाली फिल्मबीच काम गराइको स्टाइलमा मुख्य भिन्नता के पाउनुभयो ?
यहाँ धेरै कुरा विश्वासमा चल्छन्, त्यहाँ नियममा चल्नुपर्छ । त्यहाँ के गर्ने, कसरी गर्ने र त्यसका लागि चाहिने आधारभूत कुरा के हुन् भन्ने पहिल्यै स्पष्ट हुन्छ । कलाकारले कति बजे उठ्ने र कति बजे स्पटमा पुग्ने भनेर कल सिट दिइन्छ । यहाँ लोडसेडिङ हुने थाहा हुँदाहुँदै पनि बत्ती गएपछि जेनेरेटरको व्यवस्था गर्ने तरखर गरिन्छ । उनीहरू स–साना कुरामा पनि ध्यान पु¥याउँछन् । पर्दाअगाडि कलाकारको केमेस्ट्री मिलाउनुछ भने पर्दापछाडि पनि घुलमिल हुनुप¥यो नि, कनेक्सन खोज्नुप¥यो नि । यहाँ त पर्दामा श्रीमान्–श्रीमतीको भूमिकामा अभिनय गर्ने कलाकारहरू एकपटक पनि बोलेका हुँदैनन् । झुटो आँसु झारेर दर्शकलाई साँच्चीकै आँसु झार्ने बनाउनु सजिलो कुरा होइन । यस्ता कुरामा त्यहाँ असाध्यै ध्यान दिइँदो रहेछ ।
यहाँ त सिनियर÷जुनियरको पर्खालले पनि त्यो अवस्था सिर्जना गरेको हो । त्यहाँ छ कि छैन ?
त्यही त । यहाँ त निर्देशकलाई केही सोध्यो भने असिस्टेन्टतिर औँलो तेस्र्याएर ‘ऊ त्यसलाई सोध्’ भन्छन् । एउटै फिल्ममा काम गर्नुछ भने मिल्ने साथी हुनुप¥यो नि । रेस्पेक्ट त गरिन्छ । बाउलाई पनि रेस्पेक्ट गरिन्छ, कुरा त खुलेर हुन्छ । त्यसैले त्यहाँ एउटै टिम भनेपछि परिवारजस्तै सबैले सबैलाई सम्मान गर्छन् ।
छोटो समय भए पनि सिस्टममा चल्नुभयो । अब यहाँ काम गर्न चाहिँ गाह्रो हुने भयो ?
अलिअलि हुँदो रहेछ । त्यसपछि एउटा फिल्ममा गरेँ । आफूलाई चाहिँ अलि यस्तो गर्न पाए हुने भन्ने लागिरहँदो रहेछ । तर, त्यस्तो गर्दा चित्त दुखाउलान् भन्ने पीरले गाह्रो भयो ।
अस्ट्रेलियामा सुटिङ भएको ‘ऋतु’ बाट कस्तो अपेक्षा गर्नुभएको छ ?
कोसिस गरिएको छ । स्क्रिप्ट पनि राम्रो छ । बाहिर बसेका मान्छेहरूले एउटा टोली अस्ट्रेलिया पु¥याए, मलाई अमेरिकाबाट बोलाए । आकर्षण थप्ने क्रममा अर्काे एउटा आकर्षण थपिएको छ । अपेक्षा त हिजो गरेका फिल्म ‘मसान’, ‘अपवाद’बाट गरेको थिइनँ र ? कोसिस पनि गरेकै हुँ । दाह्री चाहिने ठाउँमा दाह्री पालेँ, कपाल काट्ने ठाउँमा कपाल काटेँ । अहिले यहाँ के चल्छ भन्नेमा कन्फ्युजन छ ।
नेपाली फिल्म क्षेत्रबाट पूरै निराश हो तपाईं ?
यो समयमा मजस्ता कलाकार निराश नभए को हुन्छ ? कलाकार, कवि र पेन्टर बच्चाजस्तै हुन् । सानै कुराले पनि छुन्छ हामीहरूलाई । अहिलेको अवस्थाले पनि छोएन भने कहिले छुन्छ ? हामीलाई त झन् दोहोरो फ्रस्टे«सन छ । फिल्म फ्लप छन्, देशको अवस्था लथालिंग छ ।
तपाईंलाई चाहिँ किन नेपाली फिल्म चल्दैनन् जस्तो लाग्छ ?
बाघ र गाउँलेको कथाजस्तै भयो । हिजो हामीले ढाँट्यौँ । बाघ आएकै थिएन, आयो भन्दै गाउँले गुहा¥यौँ । आज साँच्चीकै बाघ आइरहेको छ । कहिले ‘साँघुरो’ बनेर आएको छ, कहिले ‘उमा’ बनेर । तर, गाउँलेले पत्याइदिएनन् । उनीहरू आएनन् । त्यसैले अहिले स्तरोन्नति भएर पनि फिल्म चलेका छैनन् ।
धेरै फिल्मकर्मी त ठूला बजेटका बलिउड÷हलिउड फिल्मका कारण साना बजेटका नेपाली फिल्मको बजार तहसनहस भएको बताउँछन् नि ?
मलाई त्यस्तो लाग्दैन । सुन्दर हिमाल आइफोनले खिचे सेतो र सुन्दर देखिने र सस्तो मोबाइले खिचे कालो र नराम्रो आउने भन्ने हुँदैन । दूध हालेकै चिया मिठो हुन्छ भन्ने पनि छैन । अलिकति आइडिया लगाउने हो भने त कालो चिया झन् मिठो बन्दैन र ? त्यसैले सिर्जनामा सुन्दरता भर्ने हो, सिर्जनशीलता बढाउने हो भने बजेटले असर गर्दैन ।
भविष्यमा नेपाली फिल्मले गति लिने अपेक्षा छ कि छैन ?
जिन्दगीबाट आशा भन्ने कुरै झिकेर फाल्ने हो भने बाँच्नुको के अर्थ भयो र ? त्यसैले आशा गर्नैपर्छ । तर, अहिलेको अवस्थालाई आधार बनाउने हो भने त केही पनि देखिन्नँ । फिल्मका मामिलामा त भर्खरै राष्ट्रले गरेको अर्थात् फिल्म क्षेत्रको सबैभन्दा ठूलो संस्थाले गरेको काम नै पूरै असफल देखियो । त्यसैले व्यक्तिले गर्नसक्ने कुरै छैन ।
समीक्षकहरूले राम्रै नम्बर दिएको ‘अपवाद’ फ्लप भएपछि तपाईं निराशाको यो बिन्दुसम्म पुगेको हो ?
त्यस्तो त होइन । तर, परिस्थितिले नै त्यस्तो बनाइदियो । धेरै प्रयास गरियो । प्रयास सफल नभएपछि एक खालको निराशा त आउने नै भयो । त्यसैले अहिले फिल्म खेल्ने कुरामा पनि कटौती गरिरहेको छु ।
बाँच्न पनि प¥यो । त्यसका लागि के गर्नुहुन्छ त ?
त्यही त समस्या छ । कलाकार फूलजस्तै हुन् भन्छन् धेरैले । त्यसैले फूललाई राम्रो देखिने, सुगन्ध पनि छर्ने चुनौती छ । फिल्म खेलेर मात्रै मेन्टन गर्न सकिएला जस्तो छैन । त्यसैले अब विकल्प खोज्नैपर्ने बेला आएको छ ।
विकल्पमा के गर्नुहुन्छ ?
फिल्म पढियो, फिल्म नै जानियो र यही गरियो । त्यसैले यसकै वरिपरि बसेर केही गर्ने कि भन्ने सोच छ । चाँडै एउटा फिल्म आफैँ निर्माण गर्ने योजनामा पनि छु ।
अरू कलाकारजस्तै काम गरेर उतै बस्न मन लागेन ?
नढाँटी भन्नुपर्दा त्यो सोच पनि बनाएको थिएँ । तर, म जुन कुरामा बाँधिएको थिएँ, त्यसले यस्तो सोचलाई फैलिनै दिएन । फिल्मको अफर पनि आयो, कलाकार हुन पुगेको थिएन, फर्किएँ । त्यसमाथि अहिले त्यहाँ बसेर जे पायो, त्यही गर्ने स्वतन्त्रता भएको महसुस पनि गरिनँ ।
विदेशी गर्लफ्रेन्ड भएकाले पनि धेरै समय त्यतै अल्झिएको पनि सुनियो !
पहिला थिए । ती पहिलाकालाई भेट्न पनि खोजेको हो । तर, समयले सम्बन्धका नशाहरू सुकाइसकेको थियो । त्यसैले भेट भएन ।
दीर्घकालीन सम्बन्ध चाहिँ कहिले जोड्ने ?
मलाई स्वतन्त्र रहन, संसार घुम्न पुगेकै छैन । यसका साथै जिन्दगीमा धेरैवटा ‘स’ समय, साथ र संगतजस्ता कुरा मिल्न पनि जरुरी छ । कहिलेकाहीँ बाआमाले भन्नुहुन्छ, ‘सबै साथीहरूले बिहा अरे ।’  बिहा अरेर को कहाँ पुगे त नि ! अहिले विवाहको अर्थ, आवश्यकता र परिभाषा बदलिसक्यो । हरेक मान्छे इन्डिभिजुअल छन् अहिले । त्यसैले जोडी बनाउन सजिलो छैन ।
तपाईं एकजना बैंकर महिलासँग प्रेममा रहेको कुरा पनि खुब आए…
यो अन्धाले हात्ती छामेजस्तै हो । हामी इमोसनल अट्याचमेन्ट र स्पिरिचुअल अट्याचमेन्टलाई फरक दृष्टिबाट हेर्न सक्दैनौँ । विचार मिल्यो भने साथी भइन्छ, साथी भयो भने सँगै फिल्म हेर्न, पार्टीमा गइन्छ । त्यसैले सम्बन्धबारे लेख्न पाइन्छ, जोख्न पाइँदैन । हाम्रो सम्बन्धलाई जोखिदिए । कसले हाम्रो मनलाई बुझ्यो र ?
देखेपछि लेखिने नै भयो । तपाईंले पनि त बचाउ गर्नुभएन नि  ?
केका लागि बचाउ गर्ने त नि ? म स्पष्टवक्ता ! धेरै कुरा स्पष्ट भनिदिन्छु । त्यतिबेला पनि साथी हुन् भनेकै थिएँ । बाहिर चर्काे बोल्ने र मनमा केही नराख्ने सही हुन् कि भित्रभित्रै धेरै गर्ने, बाहिर नबोल्ने सही हुन्, जजमेन्ट गर्नै छाडिदिएँ । एकपटक त चित्त पनि दुख्यो । जुम आउट गरेर हेरेँ । अरूका त्यस्तै आइराछ, अरूका सातौँ÷आठौँ पटक आइराछ । मेरो एकपटक आयो के फरक प¥यो त नि भनेर चुप लागेँ । के हो÷होइन भन्ने मुखले किन बताउनु, समयले बताइहाल्छ नि ।
कपालले पनि ‘ढिलो नगर’ भन्ने संकेत गरिसकेछ ?
दाह्री झन् धेरै फुलेका छन् । अचेल छसात वर्षकै केटाकेटीको कपाल फुल्न थालिसक्यो । त्यसैले कपालले सही उमेर बताउनै छाडिसक्यो जस्तो लाग्छ ।